रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

  वास खबर समाचारदाता  212 पटक हेरिएको

काठमाडौं : ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम “डोन्ट थिङ्क वेस्ट थिङ्क अपर्चुनिटी” भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित थियो।

क्रिएसन नेपालद्वारा ग्रीनशिफ्ट परियोजना अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले फोहरलाई समस्याका रूपमा मात्र नभई अवसरका रूपमा हेर्नुपर्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले ग्लोबल रिसाइक्लिङ डेको सन्दर्भ उल्लेख गर्दै यसको महत्वबारे जनचेतना अझ बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले सरसफाइमा खटिने कामदारहरूको योगदानको कदर गर्न आग्रह गर्दै फोहरप्रतिको सोच परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो। महानगरले फोहर व्यवस्थापन सुधारका लागि काम गरिरहेको उल्लेख गर्दै उहाँले आयोजक संस्था र सहयोगी निकायप्रति आभार व्यक्त गर्नुभयो।

विशेष अतिथि युरोपेली संघका नेपालस्थित सहकार्य प्रमुख होसे लुइस भिनुएसा सान्तामारियाले यस्ता पहलले दिगो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले “ग्रीन सर्कुलारिटी” अवधारणाले घटाउने, पुनःप्रयोग गर्ने, पुनःप्राप्त गर्ने र रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो।

क्रिएसनकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले प्लास्टिकलाई समस्याका रूपमा मात्र होइन, अवसरका रूपमा पनि बुझ्नुपर्ने बताउँदै सामूहिक प्रयास मार्फत नयाँ सम्भावनाहरू खोज्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले ग्रीनशिफ्ट केवल परियोजना नभई परिवर्तनको अभियान भएको बताउनुभयो। उहाँले कार्यक्रममा देखिएको उत्साह, ऊर्जा र विचार आदान–प्रदानले हरित रूपान्तरण तर्फ सकारात्मक संकेत गरेको उल्लेख गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा करिब १०० जना फोहर संकलनकर्ताको साइकल र्‍याली आयोजना गरिएको थियो। यूएन पार्कबाट सुरु भएको र्‍याली थापाथली पुल, बागमती करिडोर, बल्खु, नख्खु, भैंसेपाटी, ज्वालाखेल र पुल्चोक हुँदै पुनः यूएन पार्कमै समापन भएको थियो।

कार्यक्रममा ३०० देखि ५०० जनासम्मको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा रिसाइक्लिङ उद्यमी, फोहर संकलनकर्ता, युवा नवप्रवर्तनकर्ता तथा हरित व्यवसायमा संलग्न संस्थाहरूको उल्लेख्य उपस्थिति थियो।

यस अवसरमा रिसाइक्लिङ क्षेत्रमा योगदान पुर्‍याउने उद्यमी, फोहर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै, दुई वटा विषयगत छलफल सत्रमार्फत रिसाइक्लिङ र सर्कुलर अर्थतन्त्रका अवसर, चुनौती तथा नवप्रवर्तनबारे विज्ञहरूले विचार राखेका थिए।

वक्ताहरूले रिसाइक्लिङले फोहरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने तथा दिगो उपभोग र उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्ने बताएका थिए।
वातावरणविद्हरूले यस्ता पहलहरूले नेपालको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकारलाई टेवा पुर्‍याउने तथा ठोस फोहर व्यवस्थापन ऐन २०११ र राष्ट्रिय वातावरण नीति २०१९ सँग मेल खाने बताएका छन्।

आयोजकका अनुसार, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा आयोजित यस कार्यक्रमले स्थानीय तह, निजी क्षेत्र, युवा समूह तथा वातावरणीय संस्थाबीच सहकार्य सुदृढ गर्दै स्वच्छ सहर, दिगो रोजगारी र हरित अर्थतन्त्र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार