जलवायु उत्थानशील वास सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

  वास खबर सम्बाददाता  308 पटक हेरिएको

काठमाडौं : “जलवायु उत्थानशील खानेपानी, सरसफाइ तथा स्वच्छता वास को स्थानीय तहमा कार्यान्वयनका प्रयास र आगामी कदमहरू” विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र वाटर एड नेपालको संयुक्त आयोजनामा गोष्ठीमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि एवं सांसद बोध नारायण श्रेष्ठले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा सुधारका लागि संसदमा आफ्नो आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू पनि यही क्षेत्रमा लामो समय काम गरेको अनुभवले खानेपानी, सरसफाइ र स्वच्छताका सवालहरुसँग परिचित भएकाले संसदमा अरु बिषयको साथै खानेपानी र सरसफाइका बिषयहरु सशक्त रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सिडिई योगेन्द्र चित्रकारले नेपालको राष्ट्रिय अनुकूलन योजना (NAP 2021) र राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान (NDC) सम्बन्धी प्रस्तुतीकरण गर्दै भन्नुभयो जलवायु परिवर्तनका जोखिमसँग जुध्न र अनुकूलन क्षमता बढाउन दीर्घकालीन रणनीतिक योजना तयार गरिएको छ। मिटिगेशन अन्तर्गत २०३५ सम्म दैनिक ५१० मिलियन लिटर फोहोरपानी प्रशोधन र वार्षिक ३७०,००० घनमिटर फिकाल स्लज व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। अनुकूलन अन्तर्गत २०३५ सम्म जनसंख्याको ५० प्रतिशतले जलवायु अनुकूल र सुरक्षित वास सेवा प्राप्त गर्ने योजना छ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले अबका संरचनाहरु जलवायूजन्य जोखिमलाई न्यूनीकरण गर्ने हिसाबले डिजाइन गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा निर्माण भएका संरचनाहरु जलवायु जोखिमहरुको रिस्क आंकलन गर्न नसकेर हो वा जोखिमको एनालाइसिस गरेर डिजाइन गर्न नसकेर हो जलवायुजन्य घटनाले क्षति पुगेको बताउनुभयो । “५ वा १० प्रतिशत मात्र जलवायु उत्थानशीलतालाई ध्यान दिएर प्लानिङ डिजाईन गर्न सक्यौं भने अरबौको लगानी सुरक्षित पार्न सक्छौं” उहाँले भन्नुभयो “त्यसैले जलवायु उत्थानशीलताको हिसाबले डिजाइन गर्नुपर्छ ।”

यस्तै वाटर एड नेपालका म्यानेजर आनन्द गौतमले गोदावरीमा गरिएको वित्तीय व्यवस्थापन, बीमा प्रणाली र उपभोक्ता समितिहरुको मर्जर मार्फत खानेपानी पूर्वाधारको सफल पुनर्निर्माणको अनुभव सुनाउनुभयो।

यस्तै कार्यक्रममा राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन, क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले संरचनागत, सस्थागत तथा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले जलवायु उत्थानशील संरचनाहरु बनाउनुपर्ने र संरचना निर्माणका लागि चेक लिष्ट नभएकाले उक्त चेकलिष्ट बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले योजना निर्माणको सवालमा नेपाल सरकारको लामो प्रक्रिया पुरा गर्नुपर्ने, जसले गर्दा अति आवश्यक रहेको समुदायका लागि बेलैमा खानेपानी पुर्‍याउन नसकिने समस्या रहेको औल्याउनुभयो । उहाँले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहकार्यमा काम गर्दा छिटो, छरितो र सरल तरिकाले काम सम्पन्न गर्न सघाउ पुगेको बताउनुभयो।

कार्यक्रममा वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुर्दशन न्यौपानेले वाटर एडले खानेपानी, सरसफाइ र स्व्च्छतामा काम गरिरहेको जानकारी गराउँदै खानेपानीमा पहुँच पु¥याउन, अत्यधिक पानी र अति कम पानीका कारण समस्या भएको बताउनुभयो । यस्तै पानीको उपलब्धता नभईकन सरसफाइ तथा स्वच्छता नहुने र यी सबैकुरा जलवायु परिवर्तनसँग जोडिने भएकाले जलवायु परिवर्तनका कारण हुने विपदजन्य घटनाहरुबाट पनि सुरक्षित हुने तरिका अपनाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपालमा जलवायु उत्थानशील वासमा नेपालमा भएका पहलहरुका बारेमा युनिसेफ नेपालका वास विशेषज्ञ अरिनिता मास्केले प्रस्तुतीकरण गर्नुभयो भने खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा. रजित ओझाले जलवायु अनुकूलन WASH सम्बन्धी प्रशिक्षक प्रशिक्षण अनुभव बाँड्नुभयो।

कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थानका प्रमुख तथा प्रतिनिधी, गोदावरी नगरपालिका, दक्षिणकाली नगरपालिका तथा वाग्मती गाउँपालिकाका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिति थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार