
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभाग र यस अन्तर्गतका विभिन्न खानेपानी तथा ढल व्यवस्थापन कार्यालयरूमा कुल १९ जना कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको छ। विभाग र अन्तर्गतका निकायमा गरी कुल २१३ दरबन्दी रहेकोमा हाल १९४ जनाको दरबन्दी मात्र पूर्ण छ।
विभागबाट उपलब्ध विवरण अनुसार सबैभन्दा बढी दरबन्दी रिक्तता खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरमा देखिएको छ।
विभागीय तथ्यांक अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागमा एक जना कानुन अधिकृत, १ जना कम्प्युटर इन्जिनियर र एक जना ल्याब असिस्टेन्ट गरी ३ तीन पद खाली रहेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरमा १५ जनाको दरबन्दी रहेकोमा हाल १० जना मात्र कार्यरत छन्। यहाँ सुपरिटेन्डेण्ड इन्जिनियर सहित ५ पद रिक्त छन्। तीमध्ये एक जना सिभिल इन्जिनियर, शाखा अधिकृत (प्रशासन), इन्जिनियर (केमिस्ट) र एक जना नायब सुब्बाको पद खाली रहेको छ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खोटाङमा भने एक जना इन्जिनियरको पद मात्र रिक्त छ।
त्यसैगरी वीरगंज कार्यालयमा ८ जनाको दरबन्दी रहेकोमा एक जना इन्जिनियरको पद रिक्त छ। रामेछाप कार्यालयमा ८ जनाको दरबन्दीमध्ये ६ जना मात्र कार्यरत छन् भने एक जना इन्जिनियर र एक जना नायब सुब्बाको पद खाली रहेको छ।
चितवन कार्यालयमा १० जनाको दरबन्दीमध्ये एक जना असिस्टेन्ट केमिस्टको पद रिक्त छ। पोखरामा १६ जनाको दरबन्दी रहेकोमा १४ जना कार्यरत छन् भने सुपरिटेन्डेण्ड इन्जिनियर र एक जना इन्जिनियर गरी दुई पद खाली छन्।
त्यस्तै नेपालगन्ज कार्यालयमा १७ जनाको दरबन्दीमध्ये १४ जना कार्यरत छन्। यहाँ सिनियर डिभिजनल इन्जिनियर, इन्जिनियर र असिस्टेन्ट केमिस्ट गरी तीन पद रिक्त रहेको छ। सुर्खेत कार्यालयमा भने ११ जनाको दरबन्दीमध्ये एक जना इन्जिनियरको पद मात्र खाली रहेको छ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगर, धनकुटा, भक्तपुर, लमजुङ, बुटवल, डडेलधुरा र कञ्चनपुरमा भने कुनै पनि पदमा रिक्त दरबन्दी नरहेको जनाइएको छ।
दरबन्दी रिक्तताका कारण केही कार्यालयमा सेवा प्रवाह र प्राविधिक काममा असर परेको बताईएको छ।


424 पटक हेरिएको 

