
काठमाडौ : खानेपानी मन्त्रालय सहित चार वटा मन्त्रालय खारेज गर्ने सरकारको तयारी छ । सरकारले खानेपानी मन्त्रालय, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी गरेको हो ।
खानेपानी र शहरी विकास मन्त्रालयलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभ्ने र नयाँ मन्त्रालयको नाम एकीकृत भौतिक पूर्वाधार मन्त्रालय राख्ने सरकारको तयारी छ । युवा तथा खेलकुद मन्त्रालयलाई छुट्टाएर खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाउने योजना छ ।
यसबाट छुट्टिएको युवालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने तयारी सरकारको छ ।
त्यस्तै भौतिक मन्त्रालयबाट छुट्टाएर यातायातलाई श्रमतिर लैजाने आन्तरिक तयारी छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिबी, सञ्चार मन्त्रालयबाट सूचना–प्रविधि, शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि झिकेर प्रधानमन्त्री मातहत लाने तयारी छ ।
कार्यदलले गरेको प्रस्ताव अनुसार यी काम हुन लागेको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल बनाएको थियो ।
आफ्नो सय दिने वाचा अनुसार सरकारले मन्त्रालयको संख्या १७ वटामा सीमित गराउँदै थप जिम्मेवारी प्रधानमन्त्री कार्यलय अन्तर्गत तान्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयका एक सदस्यले बताए । सरकारले जारी गरेको सय बुँदे प्रशासनिक सुधारका बुँदामा पनि संघीय मन्त्रालयको संख्या घटाउने उल्लेख थियो ।


464 पटक हेरिएको 

