कुशे गाउँपालिकामा महिनावारी स्वच्छता सम्बन्धी अन्तर–माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता

  वास खबर सम्बाददाता  303 पटक हेरिएको
🔗
57
Shares

जाजरकोट : विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा जाजरकोटको कुशे गाउँपालिकामा अन्तर-माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। जलवायु परिवर्तन स्थानीय अनुकूलन (LACC) परियोजनाको प्राविधिक सहयोग तथा कुशे गाउँपालिकाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता गरिएको हो।

महिनावारी स्वच्छता, स्वास्थ्य, सरसफाइ तथा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगितामा दुर्गा माध्यमिक विद्यालय भार्म प्रथम स्थान हासिल गर्न सफल भएको छ भने जनता माध्यमिक विद्यालय पैकले द्वितीय स्थान प्राप्त गरेको छ। त्यसैगरी लक्ष्मी प्राप्ति माध्यमिक विद्यालयले खुर्पा तृतीय स्थान हासिल गर्न सफल भएको र सान्त्वनामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय समाकोट सफल भएको आयोजकले जनाएको छ।

कार्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी सही जानकारी, किशोरकिशोरीमैत्री व्यवहार, सरसफाइ तथा जलवायु परिवर्तन र समसामयिक विषयबस्तुसँग सम्बन्धित विषयमा प्रश्नोत्तर गरिएको थियो। सहभागी विद्यार्थीहरूले आत्मविश्वासका साथ प्रतिस्पर्धामा भाग लिँदै आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका हरिचन्द्र बस्नेतले महिनावारी स्वच्छता सम्बन्धी गलत धारणा हटाउन विद्यालय तथा समुदायस्तरमा निरन्तर सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले किशोरीमैत्री वातावरण निर्माण, सरसफाइ प्रवर्द्धन तथा स्वास्थ्य शिक्षालाई स्थानीय सरकारले प्राथमिकतामा राख्दै आएको र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाले यस विषयमा सहकार्य गरेको उल्लेख गर्नुभयो। साथै यस्ता प्रतियोगितामूलक कार्यक्रमले विद्यार्थीहरूको ज्ञान, क्षमता र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी परियोजना सहायता सल्लाहकार राजकुमार डिसीले जलवायु परिवर्तन, स्वास्थ्य र सरसफाइ बीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महिनावारी स्वच्छतालाई सम्मानजनक र सुरक्षित व्यवहारका रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयस्तरबाट नै सही जानकारी र व्यवहार परिवर्तनको अभ्यास गराउन सके समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

यसैगरी रबिन्द्र बिक्रम शाहीले महिनावारी स्वच्छता सम्बन्धी सचेतना अभिवृद्धि गर्न विद्यालयस्तरका यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले किशोरकिशोरीहरूमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन स्थानीय सरकार, विद्यालय, अभिभावक तथा समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रमको सहजीकरण लक परियोजना कार्यान्वयन गर्ने पालिका एकाई , कुशे गाउँपालिका शिक्षा तथा खेलकुद शाखा र कुशे गाउँपालिका स्वास्थ्य शाखाले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रमका अवसरमा विजेता विद्यालय तथा सहभागी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यालयस्तरमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

फोटोहरु : रबिन्द्र बिक्रम शाही / LACC परियोजना


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार