
लहान : महिनावारीका बेला स्वच्छतामा ध्यान नदिँदा हुन सक्ने मानसिक, शारीरिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे सचेत गराउने उद्देश्यले लहानमा विद्यालयमा अध्ययनरत किशोरीहरूले विभिन्न सचेतनामूलक कार्यक्रम गरेका छन्।
‘महिनावारीमैत्री संसारका लागि अघि बढौँ’ भन्ने नारासहित बिहीबार लहान नगरपालिकाको सभाहलमा आयोजित स्वच्छता दिवस कार्यक्रममा विभिन्न सामुदायिक विद्यालयका किशोरीहरूले सांस्कृतिक प्रस्तुति, लघुनाटक, अनुभव तथा सिकाइ आदानप्रदानमार्फत महिनावारी स्वच्छताबारे सन्देश दिएका हुन्।

कार्यक्रम उद्घाटन गर्दै लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी ले महिनावारी प्राकृतिक र नियमित जैविक प्रक्रिया भएकाले यस अवधिमा सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताए। उनले सरसफाइमा ध्यान दिए पाठेघर तथा अन्य संक्रमणजन्य रोगबाट जोगिन सकिने उल्लेख गरे।
उनले सामुदायिक विद्यालयहरूमा पर्याप्त मात्रामा स्यानेटरी प्याड उपलब्ध गराइएको जानकारी दिँदै आवश्यकताअनुसार विद्यालयका फोकल शिक्षिकामार्फत प्याड प्रयोग गर्न आग्रह गरे। “महिनावारीका बेला प्याडको प्रयोग र व्यक्तिगत सरसफाइमा ध्यान दिए पढाइ पनि छुट्दैन र संक्रमणबाट पनि बच्न सकिन्छ,” उनले भने।
नगरप्रमुख चौधरीले किशोरी तथा महिलाका लागि घरमा शौचालय अनिवार्य आवश्यक भएको उल्लेख गर्दै किशोरीहरूमार्फत आफ्ना अभिभावकलाई शौचालय निर्माणका लागि प्रेरित गर्न आग्रह गरे। आर्थिक रूपमा कमजोर परिवारलाई नगरपालिका सहयोग गर्न तयार रहेको पनि उनले बताए।

कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. गीता यादव ले महिनावारीलाई अझै पनि समाजमा ‘फोहोर’ वा ‘पाप’ का रूपमा हेर्ने गलत धारणा रहेको बताइन्। उनले महिनावारी किशोरीको स्वास्थ्य सामान्य रहेको संकेत गर्ने प्राकृतिक प्रक्रिया भएकाले यसलाई सहज रूपमा लिनुपर्नेमा जोड दिइन्।
“घरमा पहिलोपटक किशोरीको महिनावारी हुँदा खुसी मनाउनुपर्छ,” उनले भनिन्, “त्यसले किशोरीको शारीरिक अवस्था सामान्य र स्वस्थ रहेको जनाउँछ।”
डा. यादवले महिनावारीका बेला नियमित रूपमा प्याड फेर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा प्रयोग गरिएको प्याड सुरक्षित रूपमा व्यवस्थापन गर्ने बानीले पाठेघर, मूत्रनली तथा अन्य संक्रमणजन्य समस्याबाट बच्न सहयोग पुग्ने बताइन्।

स्वास्थ्यकर्मीहरूका अनुसार महिनावारीको समयमा फोहोर प्याड वा कपडा लामो समयसम्म प्रयोग गर्दा चिलाउने, छाला रातो हुने, घाउ आउने, प्रजनन मार्ग तथा मूत्र संक्रमणजस्ता समस्या देखिन सक्छन्। संक्रमण बढ्दै गए गम्भीर स्त्रीरोगसम्बन्धी समस्या समेत निम्तिन सक्ने भएकाले व्यक्तिगत सरसफाइ र सुरक्षित प्याड व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ छ।
लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, दलित जनकल्याण युवा क्लब, द विकन परियोजना, होप फाउन्डेसन, समग्र जनउत्थान केन्द्र तथा एसओएस भिलेज लगायत संस्थाहरूको सहकार्यमा आयोजित कार्यक्रममा महिनावारी स्वच्छता, सुरक्षित वैदेशिक रोजगारी, रक्तचाप तथा रगत परीक्षण, सुलभ र दिगो शौचालयका विकल्पसम्बन्धी जानकारीमूलक स्टलहरू समेत राखिएका थिए।





फोटोहरु :परमेश्वर झा/वाटर एड


406 पटक हेरिएको 

