महिनावारीका बेला भोग्नुपर्ने सामाजिक, सांस्कृतिक विभेद विरुद्धको लघु चलचित्र “अदृश्य आँशु” की कलाकार सिर्जना सम्मानित

  वास खबर सम्बाददाता  429 पटक हेरिएको
🔗
121
Shares

काठमाडौ : लघु चलचित्र “अदृश्य आँशु” की कलाकार सिर्जना बडुवाल सम्मानित हुनु भएको छ । विश्व महिनावारी स्वच्छता दिवस २०२६ को अवसरमा राष्ट्रिय महिनावारी सञ्जालले बडुवाललाई सम्मान गरेको हो ।

“अदृश्य आँशु” मा उहाँले दृष्टिविहीन विद्यार्थीको भूमिका निर्वाह गर्नुभएको छ । राजु तिर्वाद्वारा निर्देशित यो लघु चलचित्रमा उहाँले विद्यालयमा अपाङ्गतामैत्री खानेपानी, सरसफाइ तथा महिनावारी व्यवस्थापन सम्बन्धी सुविधाको अभावमा विभिन्न कठिनाइहरूको सामना गर्नुपरेको जीवन्त भोगाई मन छुने तरिकाले प्रस्तुत गर्नुभएको छ । त्यस्तै अपाङ्गता भएकै कारण घरपरिवार र समुदायबाट महिनावारीका समयमा भोग्नुपरेको विभेद र बहिष्करणले उहाँको पीडालाई अझ गहिरो बनाएको छ।

अदृश्य आँशुमा हानिकारक सामाजिक मान्यताका कारण महिनावारी भएका बेला छाउगोठमा बस्न बाध्य पारिन्छ। अन्ततः छाउगोठमै सर्पदंशका कारण उहाँको दुःखद मृत्यु हुन्छ। चलचित्रको यो अत्यन्त मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउँदै महिनावारीसँग सम्बन्धित विभेदपूर्ण र हानिकारक अभ्यासहरूको परिणामबारे गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ।

सिर्जना बडुवालले निरुको भूमिकामा गरेको संवेदनशील र जीवन्त अभिनयले समाजमा अझै विद्यमान विभेद, असमानता र कुप्रथाविरुद्ध सशक्त सन्देश प्रवाह गरेको निर्देशक तिर्वाले बताउनुभयो। सिर्जना पुरस्कृत भएपछि उहाँले भन्नुभएको छ “निरु पात्रले महिनावारी तथा अपाङ्गता भएका व्यक्तिहरूको सम्मान, अधिकार र सुरक्षित वातावरण सुनिश्चित गर्न समाजलाई आत्ममूल्यांकन गर्न प्रेरित गरेको छ।”

“पर्दामा देखाएको पीडा, संघर्ष, साहस र संवेदनाले केवल दर्शकको मन छोएन, समाजले वर्षौँदेखि सामान्य ठानेर बेवास्ता गरेका महिनावारीसँग जोडिएका विभेद र कुरीतिमाथि प्रश्न उठायो।” निर्देशक तिर्वाले भन्नु भएको छ “चलचित्रमा बगेका ती आँसु केवल पात्रका आँसु थिएनन्, ती हजारौँ छोरी, दिदीबहिनी र आमाहरूले भोगेका अदृश्य पीडाका प्रतिबिम्ब थिए। ती पीडालाई जीवन्त बनाउँदै मर्यादित महिनावारी व्यवस्थापनको सन्देशलाई जनमानससम्म पुर्‍याउन बैनी सृजनाले खेलेको भूमिका साँच्चिकै अविस्मरणीय र प्रशंसनीय छ।”

महिनावारीको समयमा महिलाहरूले भोग्नुपर्ने सामाजिक, सांस्कृतिक विभेद र यसले निम्त्याउने पीडालाई चित्रण गरिएको यो लघु चलचित्र १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको क्रममा १० मंसिर २०८२ मा अनावरण गरिएको थियो।

राजु तिर्वाकै निर्देशनमा बनेको अर्को लघु चलचित्र “टुटेको साङ्लो” मा समेत सिर्जनाले अभिनय गर्नु भएको छ । लेखक तथा निर्देशक तिर्वा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनामा लैंगिक समानता र सामाजिक समावेशीकरण विज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार