महिनावारीका बिषयमा सचेतनामूलक लघु चलचित्र ‘टुटेको साङ्लो’ सार्वजनिक

  वास खबर सम्बाददाता  254 पटक हेरिएको
🔗
37
Shares

काठमाडौं:  महिनावारी सँग सम्बन्धित सचेतनामूलक लघु चलचित्र ‘टुटेको साङ्लो’ महिनावारी स्वच्छता दिवसको अवसरमा सार्वजनिक गरिएको छ। दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) परियोजना द्वारा निर्मित चलचित्रको नेपालस्थित फिनल्याण्ड दूतावासकी विकास सहकार्य संयोजक रूसा पिट्कासालोले विमोचन गर्नुभएको हो।

महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापनसँग सम्बन्धित हानिकारक सामाजिक मान्यता, विभेदपूर्ण अभ्यास र अस्वच्छ सरसफाइ व्यवहारका कारण महिला तथा किशोरीहरूले भोग्नुपर्ने समस्यालाई उजागर गर्दै तयार पारिएको यस चलचित्रले समुदायमा सकारात्मक व्यवहार परिवर्तनको सन्देश प्रवाह गरेको छ।

चलचित्रको कथा तथा निर्देशन दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) परियोजनाका लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) विज्ञ राजु तिर्वाले गर्नुभएको हो। चलचित्रमा बिपना सिंह, सिर्जना बडुवाल र मानबहादुर कुँवर मुख्य भूमिकामा रहेका छन् भने छायाङ्कन तथा सम्पादन कमल शाहीले गर्नुभएको हो।

यो चलचित्र बिपना सिंहको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो, जहाँ दर्शकहरूले अनलाइन हेर्न सक्ने व्यवस्था गरिएको छ।

‘टुटेको साङ्लो’ले महिनावारीसँग जोडिएका कुरीति, छाउपडीजस्ता हानिकारक अभ्यास तथा अस्वच्छ सरसफाइ व्यवहारका कारण महिला तथा किशोरीहरूको स्वास्थ्य, शिक्षा, आत्मसम्मान र सामाजिक सहभागितामा पर्ने असरलाई जीवन्त रूपमा चित्रण गरेको छ। साथै, स्थानीय सरकार र SUSWA परियोजनाको सहकार्यमा सञ्चालित महिनावारी स्वास्थ्य तथा सरसफाइ व्यवस्थापन, समावेशी WASH पूर्वाधार निर्माण, व्यवहार परिवर्तन अभियान तथा समुदायस्तरमा हासिल भएका सकारात्मक उपलब्धिहरूलाई पनि चलचित्रमा समेटिएको छ।

विमोचन कार्यक्रममा बोल्दै विकास सहकार्य संयोजक रूसा पिट्कासालोले यस्ता सचेतनामूलक चलचित्रहरूले समुदायमा विद्यमान हानिकारक अभ्यास अन्त्य गर्न, जनचेतना अभिवृद्धि गर्न तथा सम्मानजनक र सुरक्षित महिनावारी व्यवस्थापन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) परियोजनाले ‘टुटेको साङ्लो’ मार्फत समानता, सम्मान, सामाजिक समावेशीकरण तथा सुरक्षित सरसफाइ व्यवहार प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः प्रतिबिम्बित गरेको जनाएको छ।

सुस्वाले यस अघि महिनावारीका बेला भोग्नुपर्ने सामाजिक, सांस्कृतिक विभेद विरुद्ध लघु चलचित्र “अदृश्य आँशु” निर्माण गरेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार