गाउँपालिका महासंघका उपाध्यक्ष शाही सम्मानित

  वास खबर सम्बाददाता  239 पटक हेरिएको

काठमाडौ : जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय गाउँपालिका महासंघ नेपाल (NARMIN) का उपाध्यक्ष लक्ष्मण बहादुर शाही सम्मानित हुनु भएको छ ।

स्थानीय तहबाट मर्यादित महिनावारी व्यवस्थापन अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै नवीन, व्यवहार परिवर्तनमुखी तथा अन्य स्थानीय तहले समेत अनुकरण गर्न सक्ने पहलहरूको नेतृत्व गरे बापत शाहीलाई महिनावारी स्वच्छता दिवस अवसरमा राष्ट्रिय महिनावारी सञ्जाल (MHMPA) ले उहाँलाई सम्मान गरिएको हो ।

उहाँको नेतृत्वमा हिमा गाउँपालिकाले महिनावारीसँग जोडिएका विभेदकारी अभ्यास, अन्धविश्वास र सामाजिक बहिष्करणविरुद्ध सशक्त अभियान सञ्चालन गर्दै समुदायस्तरमा मर्यादा, सचेतना र सकारात्मक सामाजिक रूपान्तरणको वातावरण निर्माण गरेको छ। विशेषगरी, मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी स्थानीय नीति निर्माण र कार्यान्वयनमा उहाँले खेलेको अग्रणी भूमिकाले अन्य स्थानीय सरकारहरूका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

शाहीले अगुवाइ गरेका धामीरझाँक्री सम्मेलन तथा छाउ कचहरी जस्ता नवीन कार्यक्रमहरूले महिनावारीसँग सम्बन्धित परम्परागत सोच र अभ्यासबारे समुदायस्तरमा खुला संवादको वातावरण सिर्जना गर्नु भएको छ । यस्ता पहलहरूले परम्परागत अगुवा, समुदायका सदस्य तथा सरोकारवालाहरूलाई एकै थलोमा ल्याई व्यवहार परिवर्तन र सामाजिक जागरणलाई बल पुर्‍याएका छन्।

हिमा गाउँपालिकाको नेतृत्वसँगै राष्ट्रिय गाउँपालिका महासंघ नेपालका उपाध्यक्षको भूमिकामा रहँदै शाहीले विभिन्न राष्ट्रिय तथा प्रादेशिक मञ्चहरूमा मर्यादित महिनावारी व्यवस्थापनको मुद्दालाई सशक्त रूपमा उठाउँदै आउनु भएको छ । उहाँको निरन्तर पैरवी, अनुभव आदानप्रदान र नीतिगत संवादले यस विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

शाहीका पहलहरूबाट प्रेरित भएर विभिन्न स्थानीय तहहरूले पनि मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रमहरू सञ्चालन गर्न थालेका छन्।

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस २०२६ को अवसरमा प्रदान गरिएको यो सम्मानले मर्यादित महिनावारी व्यवस्थापन अभियानलाई थप सशक्त बनाउनुका साथै सामाजिक परिवर्तनमा स्थानीय सरकारहरूको नेतृत्वदायी भूमिकालाई उजागर गरेको विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार