बुढीगण्डकी–मैदीकोट लिफ्टिङ खानेपानी आयोजनाको उच्चस्तरीय टोलीद्वारा अनुगमन, समयमै सम्पन्न गर्न निर्देशन

ज्वालामुखीका चार वडामा सुरक्षित खानेपानी सेवा विस्तार गर्ने लक्ष्य

  वास खबर सम्बाददाता  183 पटक हेरिएको
🔗
11.7k
Shares

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको गौरवको आयोजना बुढीगण्डकी–मैदीकोट लिफ्टिङ खानेपानी आयोजनाको निर्माण प्रगतिको उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन गरिएको छ।

प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.कमलराज श्रेष्ठ, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका प्रमुख शेखरचन्द्र केसी तथा विभागका प्राविधिक टोलीद्वारा आयोजनाको अनुगमन गरिएको हो।

अनुगमन टोलीले आयोजनाको निर्माण प्रगति, कार्यको गुणस्तर, प्राविधिक पक्ष तथा बाँकी रहेका कामहरूको विस्तृत निरीक्षण गर्दै आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्ने विषयमा छलफल गरेको छ। साथै निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सुझाव तथा निर्देशन समेत दिइएको छ।

आयोजना सम्पन्न भएपछि ज्वालामुखी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का स्थानीय बासिन्दाले स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी सेवा प्राप्त गर्ने ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका प्रबन्धक सबिना रेग्मीले बताउनुभयो। आयोजना सञ्चालनमा आएपछि खानेपानी बोर्ड मार्फत नियमित सञ्चालन तथा मर्मत–सम्भारको व्यवस्था गरिने उहाँले बताउनुभयो।

स्थानीय सरकार र सङ्घीय सरकारको सहलगानीमा निर्माण भइरहेको यो आयोजना ज्वालामुखी गाउँपालिकाको महत्त्वपूर्ण पूर्वाधार मध्ये एक मानिन्छ। आयोजना सम्पन्न भएपछि खानेपानीको पहुँच विस्तार हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तर सुधार हुने र सुरक्षित खानेपानी सेवामा दीर्घकालीन योगदान पुग्ने विश्वास गरिएको छ।

फोटोहरु : सबिना रेग्मी/ज्वालामुखी ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार