नेपालमा पहिलो पटक भित्रियो जेन–४ नानो–बायो प्रविधि, नदी तथा जलाशय पुनर्जीवनमा प्रयोग हुने

  वास खबर सम्बाददाता  432 पटक हेरिएको
🔗
114
Shares

काठमाडौं : नेपालमा नदी, ताल, पोखरी तथा औद्योगिक फोहोर पानी व्यवस्थापनका लागि अत्याधुनिक जेन–४ नानो–बायो प्रविधि भित्रिएको छ। यसका लागि दियालो टेक्नोलोजिज प्रा.लि. र भारतको बायोरिजन बायोसाइन्सेस प्रा.लि. बीच नेपालमा उक्त प्रविधिको विस्तार तथा कार्यान्वयन गर्ने सम्झौता भएको छ।

कम्पनीका अनुसार यो सहकार्यसँगै जलस्रोत पुनर्जीवन, औद्योगिक फोहोर पानी प्रशोधन तथा माटो सुधारका लागि अन्तर्राष्ट्रियस्तरको जैविक प्रविधि नेपालमा पहिलोपटक व्यावसायिक रूपमा उपलब्ध हुनेछ। सम्झौताअनुसार बायोरिजनले विकास गरेका नानो–बायो प्रविधिमा आधारित वातावरणीय समाधानहरू दियालो टेक्नोलोजिज मार्फत नेपालमा विस्तार गरिनेछ।

दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खनालका अनुसार उक्त प्रविधिले प्रदूषित पानीलाई प्राकृतिक रूपमा प्रशोधन गर्नुका साथै नदी, खोला, नाला, ताल, पोखरी तथा माटोको प्राकृतिक गुणस्तर र पारिस्थितिक प्रणाली पुनर्जीवित गर्न सहयोग पुर्‍याउनेछ। यसलाई औद्योगिक फोहोर पानी प्रशोधन, कृषि उत्पादनमा रासायनिक पदार्थको प्रयोग घटाउने, माटोको गुणस्तर सुधार गर्ने, सार्वजनिक हरियाली व्यवस्थापन तथा जैविक फोहोरलाई प्राङ्गारिक मलमा रूपान्तरण गर्ने क्षेत्रमा समेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो।

कम्पनीले आधुनिक डिजिटल प्रविधि र जैविक विज्ञानको संयोजनमार्फत बागमती, रुद्रमती, इच्छुमती लगायत ऐतिहासिक तथा धार्मिक महत्वका नदी तथा जलाशयहरूको संरक्षण र पुनर्जीवनमा पनि प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्झौता अन्तर्गत नेपालमा वारिजन र बायोरिजन नामक फाइकोरिमेडिएसन (Phycoremediation) प्रविधि ल्याइनेछ। कम्पनीका अनुसार यो प्रकृतिमा आधारित नानो–न्यूट्रियन्ट प्रणाली हो, जसले पानीमा रहेका लाभदायक सूक्ष्मजीव विशेषगरी डायाटमलाई सक्रिय बनाउँदै घुलनशील अक्सिजन बढाउने, जैविक प्रदूषण घटाउने, दुर्गन्ध नियन्त्रण गर्ने तथा अतिरिक्त नाइट्रोजन र फस्फोरस कम गर्न सहयोग पुर्‍याउँछ। साथै पानीमा जमेको जैविक लेदो प्राकृतिक रूपमा विघटन गर्न पनि यसले मद्दत गर्ने बताइएको छ।

कम्पनीका अनुसार यो प्रविधिको सफल प्रयोग भारत, मलेसिया, भियतनाम, थाइल्याण्ड तथा संयुक्त राज्य अमेरिकासहित विभिन्न देशमा भइसकेको छ। नयाँदिल्लीको दिल्ली गल्फ क्लब, मलेसियाको सुङ्गाई गोङ नदी तथा भारतको मथुरास्थित राधेश्याम कुण्डमा पानीको गुणस्तरमा उल्लेखनीय सुधार आएको दाबी गरिएको छ।

दियालो टेक्नोलोजिजले परम्परागत ढल प्रशोधन प्रणालीको तुलनामा यो प्रविधिमा ठूलो पूर्वाधार आवश्यक नपर्ने, कम विद्युत् खपत हुने तथा सीमित जनशक्तिबाट सञ्चालन गर्न सकिने भएकाले स्थानीय तहका लागि प्रभावकारी र व्यावहारिक विकल्प बन्न सक्ने जनाएको छ। यसले औद्योगिक फोहोर पानी प्रशोधन, नदी तथा जलाशय पुनर्जीवन, विकेन्द्रीकृत फोहोर पानी व्यवस्थापन र वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर खनालले प्रदूषण नियन्त्रणमा मात्र सीमित नरही जलस्रोत, माटो र प्राकृतिक वातावरणको पुनर्जीवनका लागि वैज्ञानिक, दिगो तथा वातावरणमैत्री समाधान उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो। उहाँले यस साझेदारीले नेपालमा वातावरण संरक्षणका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

सन् २०१२ देखि नेपालमा डिजिटल प्रविधिमा काम गर्दै आएको दियालो टेक्नोलोजिजले स्मार्ट खानेपानी व्यवस्थापन, पानी वितरण तथा स्वचालन, यातायात व्यवस्थापन, अनलाइन बस टिकटिङ तथा जीआईएस प्रणाली लगायत क्षेत्रमा काम गर्दै आएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार