बजेट कार्यान्वयनमा कडाइ, मातहतका निकायलाई पूर्वाधार मन्त्रालयको ३९ बुँदे मार्गदर्शन

  वास खबर सम्बाददाता  284 पटक हेरिएको
🔗
77
Shares

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मातहतका विभाग, प्राधिकरण, समिति, बोर्ड तथा कार्यालयहरूलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयनमा मितव्ययिता, दक्षता, पारदर्शिता र नतिजामुखी कार्यसम्पादन सुनिश्चित गर्न निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको मार्गदर्शन अनुसार विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रचलित कानुनबमोजिम बजेट खर्च, लेखा व्यवस्थापन, प्रतिवेदन तथा लेखापरीक्षणका कार्य समयमै सम्पन्न गर्नुपर्नेछ। साथै उपलब्ध स्रोतको अधिकतम उपयोग गरी बजेटको उद्देश्य हासिल गर्न जोड दिइएको छ।

मार्गदर्शनमा सबै निकायले असोज मसान्तभित्र वार्षिक खरिद योजना तयार गरी सार्वजनिक गर्नुपर्ने, त्रैमासिक रूपमा भौतिक तथा वित्तीय प्रगति समीक्षा गर्नुपर्ने तथा योजनाको कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, पूँजीगत बजेटको प्रभावकारी कार्यान्वयनका लागि ठेक्का व्यवस्थापन, समयमै भुक्तानी, नियमित अनुगमन तथा गुणस्तर नियन्त्रणमा विशेष ध्यान दिन मन्त्रालयले निर्देशन दिएको छ। आयोजना कार्यान्वयनमा ढिलाइ गर्ने, बजेट खर्च न्यून हुने तथा लक्ष्यअनुसार प्रगति नदेखिने अवस्थालाई निरुत्साहित गरिने उल्लेख गरिएको छ।

मार्गदर्शनमा सार्वजनिक खरिद प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र समयबद्ध बनाउन, सूचना प्रविधिको अधिकतम प्रयोग गर्न तथा वित्तीय अनुशासन कायम राख्न सबै कार्यालयलाई निर्देशन दिइएको छ। साथै आयोजना व्यवस्थापन, प्रगति प्रतिवेदन र बजेट खर्चको विवरण नियमित रूपमा मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयले सडक, यातायात, खानेपानी, शहरी विकास, स्थानीय पूर्वाधार, काठमाडौं उपत्यका विकास प्राधिकरण, मेलम्ची खानेपानी विकास समिति, सडक बोर्ड नेपाल, नेपाल रेल्वे बोर्ड लगायत मातहतका सबै निकायलाई उक्त मार्गदर्शन कार्यान्वयन गर्न निर्देशन दिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार