कायाखेत: खानेपानीसँगै पूर्ण सरसफाइ उन्मुख समुदाय तर्फको प्रेरणादायी यात्रा

  वास खबर सम्बाददाता  197 पटक हेरिएको
🔗
45
Shares

“स्वच्छ पानी, स्वच्छ बानी र सामूहिक नेतृत्वले नै दिगो परिवर्तन सम्भव बनाउँछ।” यो भनाइ नलगाड नगरपालिका–८ स्थित कायाखेत समुदायमा व्यवहारमै चरितार्थ भएको छ।

खानेपानीसँगै सरसफाइमा पनि उपलब्धि

नलगाड नगरपालिका र ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा)’ आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०८२/०८३ मा कायाखेत खानेपानी तथा सरसफाइ योजना निर्माण सम्पन्न भयो। योजनामार्फत सार्वजनिक स्थानसहित ३४ घरधुरी प्रत्यक्ष रूपमा सुरक्षित तथा दिगो खानेपानी सेवाबाट लाभान्वित भएका छन्।

तर, यस योजनाको उपलब्धि खानेपानीको पहुँच विस्तारमा मात्र सीमित रहेन। खानेपानीसँगै समुदायले पूर्ण सरसफाइका सूचकहरू पूरा गर्दै ‘पूर्ण सरसफाइ उन्मुख समुदाय’ घोषणा हुने गौरव समेत हासिल गरेको छ। यस सफलताले पूर्वाधार निर्माणसँगै व्यवहार परिवर्तन र सामुदायिक नेतृत्वको महत्वलाई उजागर गरेको छ।

यस अभियानलाई सफल बनाउन नलगाड नगरपालिकाको WASH इकाई, पूर्ण सरसफाइ कार्यदल, आमा समूह, किशोर–किशोरी समूह, उपभोक्ता समिति तथा अन्य सरोकारवाला निकायले निरन्तर समन्वय र सहकार्य गरेका थिए।

समुदायमा व्यक्तिगत तथा वातावरणीय सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग, नियमित हात धुने बानी, शौचालयको नियमित प्रयोग तथा उचित व्यवस्थापन, फोहोर व्यवस्थापन र महिनावारी स्वच्छता व्यवस्थापन लगायत विषयमा व्यवहार परिवर्तन सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिए।

पूर्ण सरसफाइका सूचक अनुरूपका व्यवहारलाई समुदायमा स्थापित गर्न विभिन्न औजार तथा प्रदर्शनी सामग्रीको प्रयोग गरियो। घरदैलो भेटघाट, सामुदायिक छलफल, जनचेतनामूलक अन्तरक्रिया, विद्यालय तथा विभिन्न समूहको परिचालन मार्फत नागरिकलाई सरसफाइका अभ्यास दैनिक जीवनमा अपनाउन प्रेरित गरियो।

यसको परिणाम स्वरूप समुदायमा सरसफाइ सम्बन्धी चेतनामा उल्लेखनीय वृद्धि हुनुका साथै सरसफाइलाई सामूहिक तथा सामाजिक अभियानका रूपमा स्थापित गर्न सफलता मिल्यो।

नेतृत्वले देखाएको बाटो

यस परिवर्तनको केन्द्रमा रहनुभयो पूर्ण सरसफाइ कार्यदलकी अध्यक्ष गीता शाह। उहाँको सक्रिय नेतृत्व, निरन्तर समन्वय, समुदायलाई एकीकृत गर्ने क्षमता र सकारात्मक सोचले अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

उहाँले समुदायका महिला, युवा, किशोर–किशोरी तथा स्थानीय अगुवालाई एउटै उद्देश्यका लागि एकजुट गर्दै पूर्ण सरसफाइ अभियानलाई सामूहिक अभियानका रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

“पहिले हामी खानेपानीको अभावसँगै सरसफाइका धेरै चुनौतीहरू भोगिरहेका थियौँ। अहिले सुरक्षित खानेपानी मात्र होइन, सरसफाइ हाम्रो दैनिक जीवनको संस्कार बनेको छ। सबैको साझा प्रयास र सहकार्यले हाम्रो समुदायलाई पूर्ण सरसफाइ उन्मुख समुदाय बनाउन सफल भएका छौँ। अब यो उपलब्धिलाई दिगो बनाउनु नै हाम्रो जिम्मेवारी हो।”

— गीता शाह, अध्यक्ष, पूर्ण सरसफाइ कार्यदल

व्यवहारमा देखिएको परिवर्तन

आज कायाखेत समुदायमा सुरक्षित खानेपानीको पहुँच विस्तार भएको छ। घरधुरीमा सरसफाइका अभ्यासहरू नियमित भएका छन्। सार्वजनिक स्थानलाई सफा राख्ने संस्कारको विकास भएको छ भने फोहोर व्यवस्थापनप्रति समुदायको जिम्मेवारीबोध पनि बढेको छ। त्यसैगरी, महिला तथा किशोर–किशोरीको सहभागिता पनि उल्लेखनीय रूपमा सुदृढ भएको छ।

कायाखेतको यो सफलता एउटा समुदायको उपलब्धिमा मात्र सीमित छैन। पूर्वाधार विकाससँगै व्यवहार परिवर्तन, स्थानीय नेतृत्व र सामुदायिक सहभागिता सुनिश्चित गर्न सकिएमा दिगो सरसफाइ सम्भव हुन्छ भन्ने यसले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। कायाखेतको यो अनुभवले नलगाड नगरपालिकाका अन्य समुदायलाई पनि पूर्ण सरसफाइ उन्मुख समुदाय निर्माणका लागि प्रेरित गर्ने विश्वास गर्न सकिन्छ।

श्रम र सहभागिताको कथा

कायाखेतमा खानेपानी योजना निर्माण तथा सरसफाइ अभियान केवल पूर्वाधार निर्माणमा मात्र सीमित रहेन। धारा जडानदेखि मर्मत–सम्भारसम्मका काममा महिला तथा पुरुष मर्मत–सम्भार कार्यकर्ताको टोली सक्रिय रूपमा परिचालित भयो। यसले समुदायमा खानेपानी प्रणालीको दिगोपनका लागि स्थानीय जनशक्तिको भूमिका पनि स्थापित गरेको छ।

त्यस्तै, शौचालय सुधारका लागि तालिमप्राप्त दक्ष मिस्त्रीहरू परिचालन गरिए। यसबाट घरधुरीका शौचालयलाई आवश्यकताअनुसार सुधार तथा व्यवस्थित गर्न सहयोग पुग्यो।

कायाखेतले प्रमाणित गरेको छ, जब स्थानीय नेतृत्व, समुदायको साझा प्रतिबद्धता र विकास साझेदार निकायको सहयोग एकसाथ अघि बढ्छ, तब दिगो विकास केवल लक्ष्यमा सीमित रहँदैन, व्यवहारमै उतार्न सकिने वास्तविकतामा परिणत हुन्छ।

फोटोहरु : लोकचन्द्र थापा/WASH Khabar


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार