सिर्सिया नदी र औद्योगिक फोहोर पानी: अब के गर्नुपर्छ?

  कैलाश शर्मा  275 पटक हेरिएको
🔗
295
Shares

कैलाश शर्मा

सिर्सिया नदीलाई कसरी सफा बनाउने?

यो प्रश्नको उत्तर नदीमा मात्र खोजेर पुग्दैन। नदीमा पुग्ने पानी कहाँबाट आउँछ, उद्योगबाट कति फोहोर पानी निस्कन्छ र त्यो पानी उपचार भएर बाहिर निस्कन्छ कि निस्कँदैन—यसबाट समाधान खोज्नुपर्छ। पर्सा–बारा औद्योगिक करिडोर नेपालकै महत्वपूर्ण औद्योगिक क्षेत्रमध्ये एक हो। यहाँ खाद्य तथा पेय पदार्थ, छाला, धातु तथा इन्जिनियरिङ, रासायनिक, प्लास्टिक, टेक्सटाइल तथा अन्य विभिन्न प्रकारका उद्योगहरू सञ्चालनमा रहेकाछन्। यी उद्योगबाट निस्कने फोहोर पानीको मात्रा र प्रकृति पनि फरक–फरक  रहेको छ ।

पर्सा–बारा औद्योगिक करिडोरमा २०० भन्दा बढी उद्योग रहेको र सिर्सिया नदी तथा स्थानीय खोलाहरू औद्योगिक प्रदूषणको उल्लेखनीय रुपमा दबाबमा रहेको छ । राष्ट्रिय प्रदेशिक तथा स्थानिय स्तरमा भएका विभिन्न समिक्षा तथा गोष्ठीहरूमा पनि  नदीमा BOD, COD, phenols, oil and grease जस्ता प्रदूषकको मात्रा उच्च तथा पानीमा घुलनशील अक्सिजन (DO) कम रहेको र औद्योगिक फोहोर पानी प्रशोधनको अवस्था  चिन्ताजनक रहेकोले पानीको गुणस्तर सुधारको आवश्कयता ‍औंलाएको छ ।

यसले समस्या ठूलो छ भन्ने देखाउँछ। तर समस्या ठूलो हुनुको अर्थ समाधान पनि सधैं ठूलो र महँगो हुनुपर्छ भन्ने होइन। समाधान को शुरुवात  उद्योगबाट गर्न सकिन्छ।

सबै उद्योगको फोहोर पानी एउटै हुँदैन

औद्योगिक फोहोर पानी व्यवस्थापनमा सबैभन्दा पहिले बुझ्नुपर्ने कुराः सबै उद्योगको फोहोर पानी एउटै प्रकृतिको हुँदैन। खाद्य उद्योगबाट निस्कने पानीमा जैविक पदार्थ बढी हुन सक्छ। छाला प्रशोधन उद्योगमा फरक प्रकारका रसायन तथा जैविक प्रदूषक हुन सक्छन्। धातु तथा इन्जिनियरिङ उद्योगबाट आउने पानीमा तेल, चिल्लो पदार्थ वा धातुजन्य प्रदार्थको मात्रा बढी हुन सक्छन्।

रासायनिक उद्योगको फोहोर पानीमा उत्पादन प्रक्रियाअनुसार विभिन्न प्रकारका रसायन आएको हुन्छ । त्यसैले सबै उद्योगलाई एउटै प्रकारको मापक राखेर सुधार योजना वा प्रविधि बाट उपचार गर्ने सोच्नु गलत हुन सक्दछ ।

उद्योगको उत्पादन प्रक्रिया, पानीको प्रयोग, फोहोर पानीको मात्रा, प्रदूषकको प्रकृति र आवश्यक discharge standard हेरेर उपचार प्रणाली तथा प्रविधि छनौट  गर्नु उपयुक्त हुँदछ । पहिलो चरणमा फोहोर पानीको वास्तविक अवस्था बुझ्नु जरुरी रहेको छ ।

फोहोर पानीको परिमाण मात्र होइन, प्रदूषण भार पनि हेरौँ

उद्योगबाट दैनिक कति फोहोर पानी निस्कन्छ भन्ने जानकारी आवश्यक छ। तर त्यो मात्र पर्याप्त छैन। उदाहरणका लागि, एउटा उद्योगबाट दैनिक ठूलो मात्रामा पानी निस्कन सक्छ तर त्यसमा प्रदूषण कम हुन सक्छ। अर्को उद्योगबाट तुलनात्मक रूपमा कम पानी निस्किए पनि त्यसमा प्रदूषणको मात्रा धेरै हुन सक्छ। त्यसैले उद्योगको फोहोर पानीमा pH, TSS, BOD, COD, तेल, धातु तथा चिल्लो पदार्थलगायतका प्रमुख सूचक परीक्षण गर्नु आवश्यक हुन्छ।

साथै दैनिक पानीको प्रवाह पनि मापन गर्नु जररी छ । यसबाट उद्योगले नदीमा कति प्रदूषण भार पठाइरहेको छ भन्ने कुरा बुझ्न सजिलो हुँदछ । यही कारणले अब औद्योगिक फोहोर पानी व्यवस्थापनमा केवल “मापदण्ड पुगेको छ कि छैन?” भन्ने प्रश्नभन्दा “कुल प्रदूषण भार कति घट्यो?” भन्ने प्रश्न महत्वपूर्ण हुँदै गएको छ।

राष्ट्रिय समीक्षाले पनि Total Pollutant Load Control System तर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ। सिर्सिया नदी र पर्सा–बारा औद्योगिक क्षेत्र: औद्योगिक विकाससँगै नदीको वातावरणीय सुरक्षा पनि हाम्रो साझा जिम्मेवारी हो

 ETP छ कि छैन भन्दा पनि ETP ले काम गर्छ कि गर्दैन?

सिर्सिया क्षेत्रमा गरिएको  एक अध्ययन अनुसार जम्मा २३ उद्योगमा मात्र ETP रहेको तर त्यसमा ८ वटा मात्र सञ्चालनमा रहेको देखिन्छ । मुख्य कुरा ETP  हुनु र ETP सञ्चालनमा हुनु दुई फरक हुन्। यदि कुनै उद्योगमा ठूला ट्यांकी, पम्प, aeration system र अन्य उपकरण जडान भएको हुन सक्छ। तर ती उपकरण सञ्चालनमा छैनन् भने वा फोहोर पानी ETP मा नपुगी बाहिर जान्छ वा अपेक्षित क्षमतामा सञ्चालन भएन  भने त्यसबाट अपेक्षित  लाभ प्राप्त गर्न सकिदैन। त्यसैले अबको प्राथमिकता ETP भएकाको पूर्ण क्षमतामा सञ्चालन र नभएको उद्योगमा निर्माण तथा सञ्चालन हुन पर्दछ।

यसको लागि सर्वप्रथम   ETP भएको स्थानमा ETP को कार्यसम्पादन जाँच गर्ने हुनुपर्छ। यस जाँचले उद्योगको वास्तविक फोहोर पानीका लागि निर्माण भएको ETP पर्याप्त छ कि छैन? नियमित सञ्चालन हुन्छ कि हुँदैन? पम्प, blower र aeration आदी प्रणाली ठीक छन् कि छैनन्? रसायन आवश्यक मात्रामा प्रयोग भइरहेको छ कि छैन? sludge को व्यवस्थापन कसरी भइरहेको छ? उपचारअघि र उपचारपछि पानीको गुणस्तरमा कति सुधार आएको छ? समग्रमा भन्नु पर्दा ETP को कार्यसम्पादन परीक्षण (Performance Audit) गर्नुपर्छ। कमजोरी कहाँ छ भनेर पहिचान गर्नुपदर्छ।

कतै उपकरण मर्मत गर्नुपर्ने हुन सक्छ, कतै aeration सुधार गर्नुपर्ने हुन सक्छ, कतै dosing को मात्र मिलाउनु पर्ने हुन सक्छ। कतै ETP को क्षमता बढाउनुपर्ने पनि हुन सक्छ। Performance Audit गर्नुभनेको भएको प्रणालीलाई सुधार र पुनःसञ्चालन गर्न आवश्यक कमि कमजोरीहरू पहिचान गर्ने औजारको रुपमा लिनु पर्दछ जुन व्यवहारिक र कम खर्चिलो हुन आउँदछ।

अर्कोतर्फ ETP नै नभएका उद्योगहरूमा फोहोर पानीको उत्पादन परिमाण र  प्रकृति जाँच  गरी आवश्यक प्रसोधन प्रणाली स्थापना गर्नु र सञ्चालनमा ल्याउनु हो । दुवै अवस्थामा उद्देश्य भनेको नदीमा पुग्ने प्रदूषित पानीको  सुधार गर्नु नै हो ।

जैविक उपचारलाई पनि प्राथमिकतामा राखौँ

औद्योगिक फोहोर पानी उपचारमा अर्को महत्वपूर्ण विषय हो यसमा प्रयोग हुने रसायन वा पदार्थहरकझ हो। कतिपय उद्योगमा pH मिलाउन, ठोस पदार्थ छुट्याउन वा विशेष प्रकारका प्रदूषक हटाउन रासायनिक उपचार पद्दती आवश्यक हुन सक्दछ। रासायनिक उपचार  पद्दती गलत होइन।

तर यसको अत्यधिक वा गलत प्रयोगले रसायनको नियमित खर्च बढाउनुका साथै उपचारपछि उत्पन्न हुने sludge को व्यवस्थापनलाई पनि चुनौतीपूर्ण बनाउन सक्दछ।  तसर्थ फोहोर पानीको प्रकृति उपयुक्त भएको अवस्थामा जैविक (biological) उपचारलाई ETP को महत्वपूर्ण भागका रूपमा प्राथमिकता दिइ प्रयोग गर्नु दिगो तथा पर्यावरणिय हिसाबले पनि सुरक्षित हुन्छ।

जैविक उपचारमा सूक्ष्मजीव वा ब्याक्टेरियाहरुको प्रयोग गरी फोहोर पानीमा रहेका जैविक पदार्थलाई प्राकृतिक प्रक्रियाबाट   नियन्त्रित गरिन्छ ।  यसले  पानीमा रहेको BOD र COD लगायत अन्य प्रदुषकहरूलाई क्रमश  घटाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर सबै औद्योगिक फोहोर पानीलाई केवल जैविक उपचारबाट मात्र प्रशोधन गर्न सकिन्छ भन्ने होइन। कतिपय उद्योगमा भौतिक, रासायनिक र जैविक उपचारको संयोजन गरि सञ्चालन गरेमा आवश्यक नतिजा प्राप्त गर्न सकिने संभावान अधिक रहेको हुन्छ । त्यसैले रसायन प्रयोग नगर्ने” होइन; “आवश्यक ठाउँमा मात्र रसायन प्रयोग गर्ने र सम्भव भएसम्म जैविक तथा कम–रसायनमा आधारित उपचार विधीलाई प्राथमिकता दिने हो।

यसको प्रयोग वातावरणीय पक्षसँगै आर्थिक पक्षसँग पनि जोडिएको हुन्छ। रासायनिक उपचारमा रसायनको खरिद, भण्डारण र नियमित प्रयोगको खर्च हुन्छ। जैविक उपचारमा पनि विद्युत्, aeration, pump, जनशक्ति, निगरानी र मर्मतको खर्च हुन्छ। त्यसैले कुन प्रणाली सस्तो हुन्छ भन्ने कुरा उद्योगको फोहोर पानी र डिजाइनमा निर्भर गर्दछ । तर फोहोर पानी जैविक उपचारका लागि उपयुक्त भएको अवस्थामा रसायनको प्रयोग घटाउन सकिने भएकाले दीर्घकालीन सञ्चालन खर्च घटाउने सम्भावना  अधिक रहुको  हुन्छ। त्यसैले ETP छनोट तथा सञ्चालन गर्दा निर्माण लागत मात्र  नभइ  दिर्घकालिन सञ्चालन तथा मर्मत खर्चसमेत हेरेर निर्णय लिनु  बुद्धिमानी हुन्छ ।

प्रदूषणलाई नदीमा मात्र होइन, कृषि र माटोमा पनि हेर्नुपर्छ

सिर्सिया नदीको प्रदूषणलाई केवल नदीको पानीको समस्या भनेर हेर्नु पर्याप्त हुँदैन । नदीको पानी कृषि तथा सिँचाइसँग जोडिएको अवस्था रहेको साथै २ राष्ट्र भएर बग्ने नदी  भएको हुनाले  औद्योगिक प्रदूषणको प्रभाव नदीबाट माटो र बालीका साथै भारत सम्म पुग्ने गर्दछ । औद्योगिक फोहोर पानीमा रहेका केही रासायनिक पदार्थ, लवण, भारी धातु वा अन्य दीर्घकालीन प्रदूषक निरन्तर नदीमा पुगिरहेमा त्यसले माटोको गुणस्तर र बालीमा असर पार्न सक्ने सम्भावना  धेरै नै रहेको हुन्छ।

त्यसैले आज उद्योगबाट निस्कने पानी मापदण्डभित्र छ कि छैन भन्ने मात्र होइन, त्यसको दीर्घकालीन असर के हुन्छ? भन्ने  पनि खोजी गर्नु पर्ने हुन्छ । यसका लागि नदीको पानीसँगै आवश्यक ठाउँमा सिँचाइको पानी, माटो तथा अन्य वातावरणीय सूचकको पनि नियमित निगरानी माटो परिक्षण र अनुगमन आवश्यक छ ।

फोहोर पानी प्रशोधनको उद्देश्य प्रदूषणलाई एउटा ठाउँबाट अर्को ठाउँमा सार्नु होइन। प्रदूषकलाई प्रभावकारी रूपमा हटाउने, सुरक्षित रूपमा व्यवस्थापन गर्ने र वातावरणको साथै जन समुदायमा हुने  जोखिम घटाउने पनि हो ।

सिर्सिया नदीमा केन्द्रीय WTP कि उद्योगस्तरको ETP?

सिर्सिया क्षेत्रमा भविष्यमा साझा वा Centralized Wastewater Treatment Plant (CWTP) विकास गर्ने विषयमा छलफल भइरहेको छ । तर केन्द्रीय प्रणालीलाई पहिलो समाधानका रूपमा हेर्नुभन्दा पहिले उद्योगस्तरको ETP लाई प्राथमिकता दिनु बढी व्यावहारिक देखिन्छ। किनकी सबै उद्योगबाट निसक्ने फोहोर पानी एउटै प्रकृतिको हुँदैन।

सबैलाई फरक तरिकाले प्रशोधन  गर्न  सम्बनधीत उद्योगमा  ने प्रदुषीत पानीको प्रशोधन गर्न जरुरी छ । यसरी अघि बढ्दा केन्द्रीय प्रणालीको आकार, प्रविधि र लागत पनि वास्तविक आवश्यकताका आधारमा निर्धारण गर्न सकिन्छ। उद्योगमै प्रारम्भिक प्रशोधन  नगरी सबै पानी एकै ठाउँमा पठाउँदा केन्द्रीय प्रशोधन प्रणालीमा प्रदूषणको भार र पानीको गुणस्तरमा ठूलो उतारचढाव आउनका साथै  दिगो रुपमा सञ्चालनमा समस्या आउन सक्ने संभावना रहेको हुन्छ ।

यसका साथै यस्ता प्रणालि राष्ट्रले बैदेशिक ऋण लिएर बनाउनु पर्नुको साथै निर्माण गरि सञ्चालन गर्न लामो समय लाग्ने हुन्छ । त्यसैले प्रत्येक उद्योगले पहिले आफ्नो स्तरमा नै प्रारम्भिक प्रशोधन गरि नदीमा पानी पठाएमा हाल देखिएको समस्या धेरै हदसम्म समाधान गर्न सकिन्छ । साथै प्रदेश तथा स्थानीय सरकारले घरायसी स्तरबाट उत्पादन हुने  फोहोर पानीको व्यवस्थापन गरेर मात्र नदीमा पठाउने व्यस्था मिलाउन जरुरी छ।

अन्यथा उद्योग क्षेत्रबाट मात्र प्रशोधन गरी नदीमा पानी फालेर मात्र  सिर्सिया नदी सफा हुन्छ भनि मान्न सक्ने अवस्था रहँदैन ।

उद्योग, सरकार र प्राविधिक क्षेत्र मिलेर काम गर्न जरुरी छ

सिर्सिया नदी सुधारको जिम्मेवारी उद्योगलाई मात्र दिएर समाधान सम्भव हुँदैन। उद्योगले आफ्नो फोहोर पानीको जिम्मेवारी लिनुपर्दछ। संघीय तथा प्रदेश सरकारले नीति, मापदण्ड र नियमन प्रभावकारी बनाउनुपर्छ। स्थानीय तहले अनुगमन तथा समन्वय गर्नु पर्दछ।

उद्योग वाणिज्य संघ जस्ता संस्थाहरूले उद्योगलाई सुधारका लागि सहजीकरण गर्न सक्छन्। त्यसैगरी पानी परीक्षण, ETP Audit, उपचार प्रणालीको डिजाइन, सुधार, सञ्चालन र नियमित अनुगमनमा प्राविधिक तथा निजी क्षेत्रले सहयोग गर्न सक्दछ ।

यस्तो सहकार्यलाई कागजमा मात्र होइन, उद्योग–स्तरको कार्ययोजनामा रूपान्तरण गरी कार्यान्वयनमा लैजान जरुरी छ।

सिर्सिया सुधारको व्यावहारिक बाटो

सिर्सिया नदीको प्रदूषणबारे धेरै वर्षदेखि अध्ययन हुँदै आएको छ। अब नयाँ अध्ययन थप्दै जानुभन्दा उपलब्ध अध्ययनबाट कुन उद्योगमा के गर्नुपर्छ भन्ने स्पष्ट कार्ययोजना बनाउनु महत्वपूर्ण हुन्छ। पहिलो चरणमा प्रत्येक उद्योगको फोहोर पानीको मात्रा र गुणस्तर बुझ्नुपर्दछ । त्यसपछि उद्योगमा ETP छ कि छैन, छ भने कस्तो अवस्थामा छ र प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ कि छैन भन्ने मूल्याङ्कन गर्नुपर्छ।

ETP भएका उद्योगमा मर्मत, सुधार, पुनःसञ्चालन र आवश्यक क्षमता विस्तार गर्नुपर्छ। ETP नभएका उद्योगमा फोहोर पानीको प्रकृतिअनुसार उपयुक्त उपचार प्रणाली स्थापना गर्नुपर्छ। जहाँ उपयुक्त हुन्छ, जैविक उपचार तथा कम–रसायनमा आधारित उपचार पद्दतीलाई प्राथमिकता दिनुपर्छ। रासायनिक उपचार आवश्यक पर्ने ठाउँमा पनि सही मात्रा र सुरक्षित sludge व्यवस्थापन सुनिश्चित गर्नु जरी छ ।

यससँगै पानीको प्रवाह र प्रमुख प्रदूषण सूचकहरूको नियमित अनुगमनलाई उद्योगको सामान्य व्यवस्थापन प्रणालीकै हिस्सा बनाउनुपर्छ। त्यसपछि मात्र उद्योगहरूको वास्तविक आवश्यकता हेरेर साझा वा केन्द्रीय उपचार प्रणालीको सम्भाव्यता अघि बढाउन उपयुक्त हुन्छ।

अबको प्राथमिकता: पूर्वाधार होइन, कार्यसम्पादन

सिर्सिया नदी सुधारको सफलता कति वटा ETP निर्माण भए भन्ने संख्याले मात्र मापन हुनु हुँदैन। वास्तविक प्रश्न हो,  उद्योगबाट कति फोहोर पानी निस्कन्छ? त्यसमा कति प्रदूषण छ? ETP ले कति प्रदूषण घटाउँछ? र अन्ततः नदीमा कति प्रदूषण पुगिरहेको छ? यही प्रश्नको उत्तर खोज्ने र त्यसअनुसार प्रत्येक उद्योगमा सुधार गर्ने हो भने सिर्सिया नदी संरक्षणको काम  व्यवहारिक रुपमा सफल हुन सक्छ। सिर्सिया नदी सफा बनाउने काम नदीबाट सुरु हुँदैन।

यो उद्योगबाट निस्कने फोहोर पानीलाई जिम्मेवार र प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ठाउँबाट सुरु हुन्छ। पहिले उद्योगमै प्रदूषण घटाऔँ र प्रभावकारी ETP सञ्चालन गरौँ। त्यसपछि मात्र आवश्यकता र सम्भाव्यताअनुसार साझा वा केन्द्रीय उपचार प्रणालीतर्फ अघि बढौँ।

लेखक शर्मा, दियालो टेक्नोलोजिज प्रा.लि. मा हेड अफ पार्टनरसिप हुनुहुन्छ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार