
काठमाडौ : भोटेकोशी बाढीका कारण खानेपानीका संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा खानेपानी सेवा पुनःस्थापना तथा व्यवस्थापनका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरले नुवाकोटको विदुरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ।
बाढीबाट क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत, पुनःस्थापना तथा वैकल्पिक खानेपानीको व्यवस्था गर्न विभिन्न निकाय बीच समन्वय आवश्यक देखिएपछि सम्पर्क कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। कार्यालयले बाढीबाट प्रभावित क्षेत्रमा खानेपानी सेवा तत्काल सुचारु गर्ने, क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा आवश्यक समन्वय र सहजीकरण गर्ने काम गर्नेछ।
बाढीका कारण खानेपानीका मुहान, इन्टेक, पाइपलाइन तथा अन्य संरचना क्षतिग्रस्त भएपछि प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ। यस्तो अवस्थामा क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गरी आवश्यक सामग्री तथा जनशक्ति परिचालन गर्न र खानेपानी सेवा पुनः सञ्चालनका लागि सम्बन्धित निकाय बीच प्रभावकारी समन्वय गर्न सम्पर्क कार्यालय उपयोगी हुने अपेक्षा गरिएको छ।
सम्पर्क कार्यालय मार्फत स्थानीय तह, खानेपानी तथा सरसफाइ सँग सम्बन्धित निकाय, वास क्लस्टर तथा अन्य सहयोगी संस्थाबीच समन्वय गरी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइ सम्बन्धी आवश्यकता सम्बोधन गर्ने कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो।
बाढीपछि खानेपानी सेवा पुनःस्थापना गर्न तत्काल आवश्यक पर्ने पाइप लगायतका सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ। सडक तथा स्थलमार्गबाट सामग्री पुर्याउन कठिन भएका स्थानमा हेलिकप्टर मार्फत एचडीपीई पाइप ढुवानी गर्न थालिएको छ। यसले क्षतिग्रस्त खानेपानी प्रणालीलाई अस्थायी वा स्थायी रूपमा पुनःजडान गर्न सहयोग पुग्नेछ।
बाढीले संरचना बगाएपछि खानेपानी सेवा पुनःस्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको अवस्थामा विदुरमा स्थापना गरिएको सम्पर्क कार्यालयले राहत, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका काम बीच समन्वय गर्ने अपेक्षा गरिएको छ।
यसैबीच खानेपानी मन्त्रीका वास सल्लाहकार संजिव विक्रम राणा, सहसचिव एवं वास क्लस्टकार संयोजक माधव प्रसादअधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका कार्यालय प्रमुख सहितले विदुर नगरपालिकाका उपप्रमुख सँगको समन्वयमा विभिन्न अस्थायी सेल्टरहरुको अवस्थाको अनुगमन निरीक्षण गरिएको छ ।


309 पटक हेरिएको 

