मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन सुरु

  वास खबर सम्बाददाता  145 पटक हेरिएको
🔗
188
Shares

मुक्तिनाथ : विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारण हिमाली जिल्लाले भोगेको पीडाका बारेमा स्थानीय सरकार मार्फत प्रदेश, संघीय सरकार र अन्तर्राष्ट्रियस्तरमा दबाब र्सिजना गर्न मुस्ताङको सदरमुकाम जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ।

हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो।

गाउँपालिकाको कार्यालयबाट सुरु भएको प्रभातफेरीपछि सम्मेलन स्थलभित्र २८ फिट उचाइको पृथ्वी रोइरहेको जलवायु परिवर्तनको असर अंकित विश्व मानचित्र अंकित गोलाकार आकृतिको बेलुनको कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले उद्घाटन गर्नुभएको हो ।

सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाउनुभएको शुभकामना मन्तव्य वाचन समेत गरियो । प्रधानमन्त्री शाहको शुभकामना मन्तब्यमा जलवायु परिवर्तनको असरको न्युनिकरणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सम्मेलनमा देशभरबाट सम्मेलनमा महागनरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका ४ सय ३१ र ४१ जिल्ला समन्वय समिति सहित दुई हजार बढी अतिथिको उपस्थितिमा सम्मेलन सुरु भएको छ ।

सम्मेलनमा विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, प्रदेशसभा सदस्य विकल शेरचनलगायतको उपस्थिति रहेको थियो । सम्मेलनको उद्घाटन समारोहमा पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य विभिन्न संघसंस्थाको सहभागिता तथा व्यवस्थापन रहेको छ ।

सम्मेलनको उद्घाटन समारोहमा स्थानीय मौलिक कला, संस्कृतिसहित भेषभूषामा सजिएका थिए । उद्घाटन समारोहमा बाहै शताब्दीको जरायो नाच प्रर्दशनी गरिएको थियो ।

सम्मेलनस्थलमा मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ स्थानीय उत्पादनको स्टलसमेत राखिएको छ ।

बुधबारसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनका कारण मुस्ताङमा प्राकृतिक सन्तुलन बिग्रिएर हिमनदी पग्लिएर बनेका हिमतालहरू ठुलो र अस्थिर बन्दै गएका कारण अचानक फुटेर बाढी ल्याउने, पानीको स्रोतमा अस्थिरता, औसतभन्दा बढी वर्षाका कारण बाढीपहिरो, खानेपानीको अभावका कारण बसाइँसराईजस्ता विषयमा छलफल हुने गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले बताउनुभयो ।

अध्यक्ष लालचनका अनुसार जलवायु परिवर्तनको असर न्यूनीकरणमा पालिकामार्फत गर्न सकिने काम तथा नीति निर्माणमा आवश्यक पहल र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणका लागि साझा धारणासहित जलवायु परिवर्तनको असरसम्बन्धी घोषणापत्र जारी गरिने छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार