
काठमाडौ : कारितास नेपालले बाढी प्रभावित क्षेत्रमा १,००० वटा खानेपानी तथा सरसफाइ (WASH) किट वितरण गरिएको छ। हालैको विनाशकारी बाढीबाट अति प्रभावित क्षेत्रहरूमा खानेपानीको अभाव र महामारीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयको अनुरोधमा उक्त सहायता उपलब्ध गराएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को तथ्याङ्क अनुसार, बाढीका कारण देशभर ३२ हजार ९६३ जना प्रभावित भएका छन् भने १,३८८ जनाले ज्यान गुमाएका छन्। हाल २,५३२ जना विस्थापितहरू होल्डिङ सेन्टर (अस्थायी शिविर) मा आश्रय लिइरहेका छन्।
यस विषम परिस्थितिमा कारितास नेपालले रसुवा, नुवाकोट र धादिङ गरी ३ जिल्लाका ५ पालिका र ८ वडामा आफ्नो राहत तथा पुनर्स्थापना कार्यक्रम अघि बढाएको छ। संस्थाले ७८१ भन्दा बढी घरधुरीमा प्रत्यक्ष सहायता पुर्याएको जनाएको छ।
कारितास हालसम्म उपलब्ध गराएको राहत विवरण :
-
स्वास्थ्य तथा हेरचाह: धादिङको बैरेनीमा १ सेट आकस्मिक मेडिकल सामग्री पुर्याइएको छ। होल्डिङ सेन्टर र बालमैत्री स्थानहरूमा रहेका प्रभावितहरूका लागि २५५ वटा डिग्निटी तथा बेबी किट वितरण गरिएको छ।
-
आश्रय र भोजन: ७ वटा होल्डिङ सेन्टर स्थापना गरी १,०८५ जनालाई सुरक्षित आश्रय दिइएको छ भने ७ वटै सामुदायिक भान्सा (Community Kitchen) मार्फत ती सबै १,०८५ जनालाई दैनिक भोजनको व्यवस्था मिलाइएको छ।
-
बालबालिकाको संरक्षण: विपद्को समयमा बालबालिकाको विशेष हेरचाहका लागि ५ वटा बालमैत्री स्थान (Child Friendly Space) सञ्चालन गरिएको छ, जहाँ १८३ जना बालबालिकाले सुरक्षित वातावरण पाइरहेका छन्। प्रत्येक स्थानमा २ जना सहजकर्ता खटाइएको छ।
-
खाद्यान्न तथा गैर-खाद्यान्न सामग्री: प्रभावित परिवार तथा भान्साका लागि २,०६९ वटा खाद्यान्न सामग्री वितरण गरिएको छ। यसका साथै, ३ वटा होल्डिङ सेन्टरमा सोलोर बत्तीसहित १३१ वटा टार्पालिन जडान गरिएको छ।
-
अन्तिम संस्कार सहायता: बाढीमा परी ज्यान गुमाएका ८१ मृतकका परिवारलाई अन्तिम संस्कारका लागि आवश्यक सहयोग (Funeral Support) प्रदान गरिएको छ।


74 पटक हेरिएको 

