लिफ्टिङ प्रणालीका कारण रोल्पा सहरी खानेपानीको सञ्चालन खर्च बढ्यो, उपभोक्तामाथि आर्थिक भार

  वास खबर सम्बाददाता  152 पटक हेरिएको
🔗
292
Shares

रोल्पा : रोल्पा सहरी खानेपानी आयोजनाको डिजाइनमा कमजोरी हुँदा प्राकृतिक रूपमा उपलब्ध पानीका मुहानको उपयोग गर्न सकिने अवस्थामा समेत लिफ्टिङ प्रणाली मार्फत पानी आपूर्ति गर्ने व्यवस्था गरिएको र त्यसको आर्थिक भार उपभोक्ता माथि परेको सरोकारवालाले बताएका छन्।

रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सातौँ साधारणसभाको उद्घाटन कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि खेमराज ओलीले आयोजनाको डिजाइनकै कारण खानेपानी सेवा महँगो बन्न पुगेको बताउनुभयो।

उहाँका अनुसार खानेपानी नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भए पनि विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), विभिन्न कर, महँगो ब्याजदर तथा आयोजनामा उपभोक्ताको लगानी लगायतका कारण आम नागरिकले महँगो दरमा खानेपानीको महसुल तिर्नुपर्ने अवस्था छ।

रोल्पा सहरी खानेपानी आयोजनाको डिजाइनमा प्राकृतिक रूपमा उपलब्ध पानीका मुहानबाट पानी ल्याउन सकिने सम्भावना हुँदाहुँदै लिफ्टिङ प्रणाली अपनाइएको उहाँले बताउनुभयो। लिफ्टिङ प्रणाली सञ्चालन गर्दा विद्युत् लगायतका खर्च बढ्ने भएकाले त्यसको प्रत्यक्ष आर्थिक भार उपभोक्तामाथि परेको उहाँको भनाइ थियो।

“आयोजनाको डिजाइन तथा संरचनामा देखिएका समस्यालाई सम्बन्धित निकायले पुनरावलोकन गर्नुपर्छ,” अध्यक्ष ओलीले भन्नुभयो, “आवश्यकता अनुसार पुनर्निर्माण तथा सुधार गरेर सञ्चालन खर्च घटाउने तर्फ ध्यान दिनुपर्छ।”

कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापाले स्वच्छ र सुरक्षित खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताउनुभयो। खानेपानी क्षेत्रमा स्थानीय सरकारले मात्र सबै काम गर्न नसक्ने भन्दै उहाँले संघीय सरकारका योजना तथा बजेट सँग समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो।

प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले पनि खानेपानी जस्तो आधारभूत सेवा आम नागरिकले सहज रूपमा प्राप्त गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो। उहाँले खानेपानीको महसुल अनावश्यक रूपमा महँगो बनाउन नहुने धारणा राख्दै महसुल लाई सेवा प्रदान गरेबापत लिइने मूल्यका रूपमा बुझ्नुपर्ने बताउनुभयो।

दाङ हापुरे–पुरन्धारा खानेपानी संस्थाका सचिव तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ दाङ जिल्ला सदस्य डिल्ली ओलीले आयोजना निर्माण सम्पन्न भएपछि त्यसको पुनर्निर्माण तथा मर्मत सम्भारमा सरकारले पर्याप्त ध्यान नदिनु खानेपानी आयोजनाहरूको प्रमुख समस्या मध्ये एक रहेको बताउनुभयो।

आर्थिक तथा वार्षिक प्रतिवेदन पारित

संस्थाको सातौँ साधारण सभामा कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।

सभाको समापन गर्दै संस्थाका अध्यक्ष सुमन विकले खानेपानी सेवालाई प्रभावकारी बनाउन उपभोक्ता, स्थानीय सरकार तथा सम्बन्धित निकाय बीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा खानेपानी सेवालाई थप व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार