मेलम्ची खानेपानी आयोजना : सञ्चालन, जोखिम र सम्भावना

  ई. लोकेन्द्र प्रसाद यादव  1248 पटक हेरिएको
🔗
3,202
Shares

ई.लोकेन्द्र यादव

काठमाडौँ उपत्यकाको लामो समयदेखिको खानेपानी समस्या समाधान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजना नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना हो। मेलम्ची नदीको पानीलाई साढे २६ किलोमिटर लामो सुरुङमार्फत सुन्दरीजलस्थित प्रशोधन केन्द्र (Water Treatment Plant – WTP) सम्म ल्याएर काठमाडौँ उपत्यकावासीलाई स्वच्छ खानेपानी वितरण गरिँदै आइएको छ।

हाल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी ठेक्का सम्झौताको अवधि सकिनै लागेकाले आयोजनाको निरन्तरताका लागि नयाँ सम्झौता/ठेक्का कार्यान्वयन गर्नुपर्ने अवस्था छ। अर्कोतर्फ, आयोजनाको स्थायी इन्टेक (Headworks) निर्माणका लागि परामर्शदाताबाट डिजाइन अन्तिम चरणमा पुर्‍याइएको र छिट्टै ठेक्का प्रक्रियामा लगिने तयारी भइरहेको छ।

सुरुङ सञ्चालनलाई सुरक्षित, नियमित र प्राविधिक रूपमा सुदृढ बनाउन आयोजनाले अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजल गरी चारवटा मुख्य स्थानमा प्राविधिक टोली खटाएर २४ सै घण्टा अनुगमन तथा तथ्यांक संकलन गर्दै आएको छ।

१. समग्र जल आपूर्ति र सञ्चालन अवधि (Overall Supply & Operational Status)

हालसम्म आयोजनाको कुल सम्झौता अवधि ९०७ दिन (२०८३-०६-०६ गतेसम्म) मध्ये सुरुङ सञ्चालन तथ्याङ्क अनुसार ७६४ दिन सफलतापूर्वक खानेपानी आपूर्ति गरिएको छ। बाँकी १४३ दिन मनसुनजन्य बाढी, नदीमा धमिलोपना (Turbidity) वृद्धि, सुरुङको नियमित मर्मतसम्भार तथा प्राविधिक थलो सफाइका कारण पानी आपूर्ति स्थगित (Non-Supply Days) गर्नु परेको थियो।

आयोजना सुरु भएदेखि हालसम्म उपत्यकामा ११९.६७ अर्ब लिटर (११९.६७ X १०⁹ लिटर) पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पठाइसकिएको छ।

२. सुन्दरीजल प्रशोधन केन्द्र (WTP) मा जल प्रवाहको मासिक स्थिति

सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्ट (WTP) मा पठाइएको जल प्रवाहको मापन प्रतिघण्टा घनमिटर (m³/h) मा गर्ने गरिएको छ। तथ्याङ्क अनुसार WTP मा प्रवाहित पानीको औसत दर ६,३३८.२६ घनमिटर प्रतिघण्टा रहेको छ भने अधिकतम जलप्रवाह दर ९,३९६.७० घनमिटर प्रतिघण्टासम्म पुगेको अभिलेख छ।

हालको सुन्दरीजल प्रशोधन केन्द्रको कुल प्रशोधन क्षमता १७ करोड लिटर प्रतिदिन (170 MLD – ८.५ करोड लिटरका दुईवटा प्लान्ट) रहेको छ। मुख्य सुरुङबाट आउने १७० MLD भन्दा बढीको अतिरिक्त पानीलाई अडिट भल्भमार्फत सुरक्षित रूपमा बाहिर पठाइने गरिन्छ। साथै, सम्पूर्ण क्षमताको पानी प्रशोधन गर्नका लागि थप २५५ MLD क्षमताको नयाँ प्रशोधन केन्द्र डिजाइन एन्ड बिल्ड (DB) ठेक्का सम्झौताअन्तर्गत अघि बढाइएको छ, जसको डिजाइन कार्य हाल अन्तिम चरणमा पुगेको छ।

सुख्खायाम (मंसिरदेखि जेठसम्म) मा सुरुङमार्फत निरन्तर उच्च दरमा पानी प्रवाह हुने गरेको छ भने असार, साउन, भदौ र असोजका महिनाहरूमा वर्षात्‌का कारण नदीमा आउने लेदो र गेग्रानबाट सुरुङलाई जोगाउन पानीको मात्रा घटाइने वा पूर्ण रूपमा बन्द गर्ने गरिएको छ।

महिनागत जलप्रवाहको परिमाणलाई स्पष्ट रूपमा Melamchi Water Supply Monthly Volume to Water Treatment Plant (WTP) चार्टमा देखाइएको छ।

• उच्चतम आपूर्ति भएका महिनाहरू: सन् २०२४ को नोभेम्बर (११ लाख ९२ हजार घनमिटर) र २०२५ को जनवरी (११ लाख ७३ हजार घनमिटर) मा सबैभन्दा धेरै पानी आपूर्ति भएको छ।

• मनसुन अवधिको प्रभाव: सन् २०२४ को जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा बाढीको जोखिमका कारण खानेपानी वितरण पूर्णतः ठप्प (० घनमिटर) राखिएको थियो भने २०२५ तथा २०२६ को मनसुनमा जलप्रवाह नियन्त्रित दरमा (२ लाख ५० हजार देखि ४ लाख घनमिटर प्रतिमहिना) मात्र सञ्चालन गरिएको थियो।

३. हाइड्रोमेकानिकल तथा नियन्त्रण गेटको दबाब विश्‍लेषण (Pressure Gauge Analysis)

सुरुङको संरचनात्मक सुरक्षा सुनिश्चित गर्न विभिन्न अडिट (Adit) तथा नियन्त्रण गेटहरूमा प्रेसर गेज (Pressure Gauge) जडान गरी नियमानुसार दबाब (Kg/cm²) मापन गरिन्छ।

सुरुङका विभिन्न नियन्त्रण गेटहरूमा देखिएको औसत दबाबको अवस्था Average Tunnel Pressure Readings Across Control Gates (Kg/cm²) चार्टमा प्रस्तुत गरिएको छ:

√ अम्बाथान गेट १७ (Ambathan Gate 17): सुरुङको माथिल्लो भाग (Inlet) नजिक सबैभन्दा उच्च औसत दबाब ३.७३ Kg/cm² मापन गरिएको छ।

√ अम्बाथान गेट २१ (Ambathan Gate 21): यहाँको औसत दबाब ३.४५ Kg/cm² रहेको छ।

√ ग्याल्थुम गेट २२ (Gyalthum Gate 22): मध्य भागमा अवस्थित यस गेटमा औसत दबाब २.१५ Kg/cm² रहेको छ।

√ सिन्धु गेट २५ (Sindhu Gate 25): सिन्धु अडिट खण्डमा औसत दबाब २.५२ Kg/cm² रहेको छ।

√ सुन्दरीजल गेट २८ (Sundarijal Gate 28): सुरुङको अन्तिम विन्दु (Outlet) नजिक रहेकाले यहाँ औसत दबाब सबैभन्दा कम अर्थात् १.१५ Kg/cm² रहेको छ।

दबाबको यो क्रमिक घट्दो क्रमले सुरुङ पूर्ण रूपमा भरिँदा गुरुत्वाकर्षण प्रवाह (Gravity Flow) अनुसार सञ्चालन हुने प्रेसर टनेल (Pressure Tunnel) को रूपमा व्यवस्थित रहेको र तीनवटा एयर भेन्ट साफ्टहरू (Air Vent Shafts) रहेको देखाउँछ।

तथापि, बाढीका कारण स्काडा (SCADA) प्रणालीमा क्षति पुगेकाले सुरुङको सुरक्षित र व्यवस्थित म्यानुअल सञ्चालन (Manual Tunnel Operation) का लागि यी प्रेसर गेजका मापनहरूको निरन्तर अनुगमन अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

४. अडिटहरूमा नापिएको डिस्चार्ज (Adit Discharge)

• सुरुङका विभिन्न अडिटहरूबाट प्रशोधन प्रणाली क्षमता मिलान जल निकासको मापन (Liters per second – lps) नियमित रूपमा गरिन्छ:

• अम्बाथान अडिट (Ambathan Adit): औसत प्रवाह ७.१० lps रहेको छ।

• ग्याल्थुम अडिट (Gyalthum Adit): औसत प्रवाह ६०.५२ lps रहेको छ (अधिकतम ३७८ lps सम्म)।

• सिन्धु अडिट (Sindhu Adit): औसत प्रवाह ५२.३८ lps रहेको छ (अधिकतम १९५.२ lps सम्म)।

• सुन्दरीजल अडिट (Sundarijal Adit): सुरुङको निकास विन्दुमा कुल औसत डिस्चार्ज २१५.७९ lps मापन गरिएको छ (अधिकतम ८०० lps सम्म)।

पानीको धमिलोपना (Turbidity – NTU):

मनसुनको समयमा पहुँच मार्ग (Temporary Roads) भत्किने/अवरुद्ध हुने र हेडवर्क्स क्षेत्रमा पहुँच नहुने भएकाले सुरक्षाका कारण सुरुङ सञ्चालन बन्द गर्ने गरिन्छ। २०७८ को बाढीपछि मेलम्ची नदीको नयाँ सतहभन्दा अम्बाथान अडिट र सुरुङको ढोका तल परेकाले ती क्षेत्रहरू माटो तथा गेग्रानले पुरिने र गेटमार्फत पूर्ण रूपमा बन्द गरिने अवस्था रहन्छ।

यस परिस्थितिमा पनि बोर्डले २०८२ को मनसुन अवधिमा नजिकैको रिबर्मा खोलाबाट पानी डाइभर्ट गरी सुरुङमार्फत काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति व्यवस्थापन गर्न सफल भएको थियो। सामान्य अवस्थामा नदीको धमिलोपना ० देखि २५ NTU रहने गरे तापनि मनसुनमा ३०० देखि ५०० NTU सम्म पुग्ने हुँदा धमिलोपना बढी भएमा सुरुङको गेट बन्द गरी सुरुङ तथा प्रशोधन संरचनाको संरक्षण गरिन्छ।

५. जलाधार क्षेत्रको जोखिम, विपद् र पाठहरू (Basin Risks & Lessons Learned)

मेलम्ची जलाधार क्षेत्रमा २०७८ असार १ (१५ जुन २०२१) मा आएको विनाशकारी बाढी र क्षतिका साथै हालै रसुवा लगायतका क्षेत्रमा आएका बाढीहरूबाट महत्त्वपूर्ण प्राविधिक पाठहरू सिक्न आवश्यक छ।

मेलम्ची र रसुवा दुवै क्षेत्र लाङटाङ हिमश्रृङ्खलाको कमजोर तथा जोखिमयुक्त भू-बनोटसँग प्रत्यक्ष जोडिएकाले यहाँ गेग्रान, लेदोसहितको बाढी (Debris Flow) र संरचनात्मक क्षतिको जोखिम उच्च रहँदै आएको छ।

यस संवेदनशील भौगोलिक अवस्थालाई ध्यानमा राखी नयाँ इन्टेक डिजाइनमा थप सुदृढ र दिगो संरचनात्मक सुरक्षाका उपायहरू समावेश गरिएका छन्। यसले विपद्को जोखिम कम गरी सुरुङ तथा मुख्य संरचनालाई सुरक्षित राख्न मद्दत पुर्‍याउनेछ।

६. कार्यस्थल व्यवस्थापन तथा प्राविधिक टोली (Site Management Team)

मेलम्ची खानेपानी सुरुङ सञ्चालनलाई सुचारु राख्न चारवटै मुख्य साइटहरूमा प्राविधिक कर्मचारीहरू २४ घण्टा खटिएका छन्। दैनिक लगबुक र hourly डाटा स्वचालित प्रणालीमार्फत सम्बन्धित अधिकारीहरूलाई दैनिक इमेलबाट पठाइने गरिन्छ:

७. आर्थिक लाभ तथा उपयोगिता विश्लेषण (Economic Benefits)

मेलम्ची आयोजना पूर्ण रूपमा सम्पन्न भइनसकेको अवस्थामा पनि यो अत्यन्तै किफायती र आर्थिक रूपमा फलदायी सिद्ध भएको छ।

काठमाडौँ उपत्यकामा ट्याङ्करबाट आपूर्ति गरिने पानीको महँगो दर र संकटकालीन खानेपानी व्यवस्थापनमा हुने विशाल खर्चसँग तुलना गर्दा मेलम्चीबाट आपूर्ति गरिएको ११९.६७ अर्ब लिटर पानीले आयोजनाको प्रारम्भिक लगानी लागत उठाइसकेको देखिन्छ। यसले उपत्यकाको अर्थतन्त्रलाई ठूलो राहत पुर्‍याउनुका साथै खानेपानीको आर्थिक संकट पन्छाउन मुख्य योगदान दिएको छ।

निष्कर्षमा, हालको सञ्चालन ठेक्का सकिन लागेकाले अविलम्ब नयाँ ठेक्का सम्झौता लागू गर्नुका साथै परामर्शदाताबाट अन्तिम रूप दिन लागिएको नयाँ इन्टेक डिजाइन अनुसार तुरुन्त ठेक्का प्रक्रिया अघि बढाउनुपर्छ।

रसुवा बाढी र मेलम्ची जलाधारका विगतका क्षतिहरूबाट पाठ सिक्दै जोखिम न्यूनीकरणका उपायहरू अपनाएर आयोजना सञ्चालन गर्दा काठमाडौँ उपत्यकाको दीर्घकालीन खानेपानी सुरक्षा र आर्थिक लाभ सुनिश्चित हुनेछ।

लेखक यादव खानेपानी तथा ढल व्यबस्थापन बिभागमा सिनियर डिभिजनल इन्जिनियर हुनुहुन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार