३५ करोडको भैमाल–गोठाटार खानेपानी आयोजना निर्माण गर्न त्रिपक्षीय सम्झौता

८ हजार २७३ घरधुरीका ४० हजार ४०५ जना लाभान्वित हुने

  वास खबर सम्बाददाता  170 पटक हेरिएको
🔗
223
Shares

काठमाडौं : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका चार वडाका ४० हजारभन्दा बढी बासिन्दालाई स्वच्छ, सुरक्षित र सहज खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले करिब ३५ करोड ३९ लाख रुपैयाँको लागतमा भैमाल–गोठाटार सहलगानी खानेपानी आयोजना (प्याकेज–३) निर्माण हुने भएको छ ।

आयोजना निर्माणका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, कागेश्वरी मनोहरा नगरपालिका र गोठाटार भैमाल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीच वित्तीय सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नगर प्रमुख उपेन्द्र कार्की, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष मनोहर चापागाईंले हस्ताक्षर गर्नुभएको छ ।

नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ का बासिन्दालाई लक्षित गरी अघि बढाइएको यस आयोजनाबाट हाल ८ हजार २७३ घरधुरीका ४० हजार ४०५ जना लाभान्वित हुनेछन् । आयोजना सम्पन्न भएपछि सम्बन्धित क्षेत्रका बासिन्दालाई सुरक्षित खानेपानी सेवामा सहज पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजनाको कुल अनुमानित लागत ३५ करोड ३९ लाख २१ हजार ६८२ रुपैयाँ रहेको छ । यस मध्ये नेपाल सरकारले ८० प्रतिशत अर्थात् ३० करोड ८ लाख ३३ हजार ४३० रुपैयाँ लगानी गर्नेछ भने बाँकी २० प्रतिशत अर्थात् ५ करोड ३० लाख ८८ हजार २५२ रुपैयाँ उपभोक्ता समिति तथा स्थानीय तहबाट जुटाइनेछ ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरी आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, दीर्घकालीन योजना अनुसार सन् २०४२ सम्ममा १२ हजार ७९० घरधुरीका ६२ हजार ४६५ जनसङ्ख्यालाई खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिइएको छ ।

आयोजनाको प्राविधिक सहयोग, सुपरिवेक्षण तथा अनुगमन खानेपानी तथा ढल व्यवस्थापन विभागले गर्नेछ । आयोजना व्यवस्थापन कार्यालयले परामर्शदाता छनोट, ठेक्कापट्टा सहजीकरण तथा निर्माण कार्यको रेखदेख गर्ने जिम्मेवारी पाउनेछ ।

खानेपानी पूर्वाधारको विकास मार्फत भैमाल–गोठाटार क्षेत्रको खानेपानी समस्या समाधान गर्नु र बढ्दो जनसङ्ख्याको आवश्यकता अनुसार सेवा विस्तार गर्नु आयोजनाको प्रमुख उद्देश्य रहेको छ । आयोजना निर्धारित समय र गुणस्तर अनुसार सम्पन्न भएमा स्थानीय बासिन्दाको सुरक्षित खानेपानीमा पहुँच विस्तार हुनुका साथै दीर्घकालीन रूपमा खानेपानी सेवा व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार