
रोल्पा : रोल्पा सहरी खानेपानी उपभोक्ता संस्थामा जडान गरिएको सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (SCADA) प्रणालीमा समस्या देखिएपछि यसको सञ्चालन, मर्मत सम्भार र दीर्घकालीन प्राविधिक सहयोगको व्यवस्थामाथि प्रश्न उठेको छ। आधुनिक प्रविधि जडान गरेपछि त्यसको नियमित सञ्चालन र मर्मतसम्भार सुनिश्चित नहुँदा उपभोक्ता संस्थाले आर्थिक तथा व्यवस्थापकीय समस्या भोग्नुपर्ने अवस्था आएको भन्दै यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक देखिएको छ।
साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा प्रविधि जडान गर्नु मात्रै पर्याप्त नहुने बताउनुभयो। उहाँले प्रविधि जडानसँगै त्यसको प्रभावकारी सञ्चालन, मर्मतसम्भार र आवश्यक प्राविधिक सहयोगको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो।
“खानेपानी क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउनु सकारात्मक हो। तर, त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति, नियमित मर्मत सम्भार र समस्या आउँदा तत्काल प्राविधिक सेवा उपलब्ध हुने व्यवस्था पनि हुनुपर्छ,” अध्यक्ष वलीले भन्नुभयो, “यी पक्षको सुनिश्चितता नभएमा प्रविधिमा गरिएको लगानी निष्प्रभावी बन्नुका साथै उपभोक्ता संस्थाले अनावश्यक आर्थिक भार व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।”
SCADA प्रणालीले खानेपानीको सञ्चालन तथा व्यवस्थापनलाई स्वचालित र व्यवस्थित बनाउन सहयोग गर्छ। तर, यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष प्राविधिक, आवश्यक उपकरण तथा स्पेयर पार्ट्स, सफ्टवेयर र हार्डवेयरको व्यवस्थापन तथा नियमित प्राविधिक सहयोग आवश्यक हुन्छ। यी पक्ष कमजोर भएमा प्रणाली सञ्चालनमा समस्या आउनुका साथै खानेपानी संस्थाको सेवा व्यवस्थापनमा समेत चुनौती थपिन सक्छ।
अध्यक्ष वलीले SCADA प्रणालीमा देखिएको समस्याको प्राविधिक कारण पहिचान गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्ने बताउनुभयो। “प्रणाली जडान गर्ने कम्पनीले सम्झौता अनुसारको सेवा, वारेन्टी र मर्मतसम्भारको जिम्मेवारी पूरा गरेको छ कि छैन भन्ने विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्छ। उपभोक्ताको लगानीबाट जडान गरिएको प्रविधिमा समस्या आएपछि त्यसको समाधान खोज्ने जिम्मेवारीबाट सम्बन्धित पक्ष पन्छिन मिल्दैन,” उहाँले भन्नुभयो।
रोल्पा सहरी खानेपानी उपभोक्ता संस्थाको SCADA प्रणालीमा देखिएको समस्याबारे निष्पक्ष प्राविधिक छानबिन गरी समस्या उत्पन्न हुनुको कारण पहिचान गर्न आवश्यक छ। प्रणाली जडान गर्ने कम्पनीको प्राविधिक क्षमता, सम्झौताका सर्त, वारेन्टी तथा मर्मत सम्भारको व्यवस्था र हालसम्म प्रदान गरिएको प्राविधिक सहयोगको समीक्षा गर्नुपर्ने देखिन्छ।
खानेपानी उपभोक्ता संस्थाले नियमित र भरपर्दो सेवा प्रवाह गर्न सक्ने वातावरण बनाउन सम्बन्धित सरकारी निकाय, परियोजना कार्यान्वयन गर्ने पक्ष र प्रविधि जडान गर्ने कम्पनी बीच समन्वय आवश्यक छ। साथै, प्रणालीको तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुका साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन प्राविधिक सहयोगको व्यवस्था गर्नुपर्ने देखिन्छ।
जनताको खानेपानी सेवासँग जोडिएको प्रविधिमा गरिएको लगानीको प्रतिफल सुनिश्चित गर्नु सम्बन्धित सबै पक्षको जिम्मेवारी हो। रोल्पामा देखिएको समस्या समाधान गरी SCADA प्रणालीको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक छ।


54 पटक हेरिएको 

