भरतपुरका बोरिङमा पूजाआजा, दुई स्थानबाट खानेपानी आपूर्ति सुरु

  वास खबर सम्बाददाता  101 पटक हेरिएको
🔗
101
Shares

भरतपुर : भरतपुर खानेपानी व्यवस्थापन बोर्डले बडादसैँको फूलपातीका दिन भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानीका बोरिङमा विधिपूर्वक पूजाआजा गरिएको छ। भरतपुर महानगरपालिका वडा नं. १६ स्थित सानोगढी खानेपानी आयोजना र शिवघाटमा निर्माण सम्पन्न भएका बोरिङमा सम्बन्धित उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थितिमा पूजाआजा गरी पानी वासिङ कार्य सम्पन्न गरिएको हो।

भरतपुर खानेपानी व्यवस्थापन बोर्डका अनुसार वडा नं. १६ का यी दुवै स्थानमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै खानेपानीको सप्लाई लाइनमा आबद्ध गरिनेछ। त्यसपछि सम्बन्धित क्षेत्रका उपभोक्तालाई खानेपानी उपलब्ध गराइनेछ।

यसैगरी, भरतपुर महानगरपालिका वडा नं. २ स्थित सिँचाइ नजिक र सशस्त्र प्रहरी परिसरभित्र निर्माण गरिएका बोरिङमा पनि पूजाआजा गरी फूलपातीका दिनदेखि नै खानेपानीको सप्लाई लाइनमा आबद्ध गरिएको छ। यी बोरिङ सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रका उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउन थप सहज हुने अपेक्षा गरिएको छ।

चाडपर्वका बेला खानेपानीजस्तो आधारभूत सेवाको सहजता र निरन्तरता अझ महत्त्वपूर्ण हुने भएकाले बोर्डले उपभोक्ताको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर खानेपानी पूर्वाधार विस्तार तथा आपूर्ति व्यवस्थापनका कामलाई निरन्तरता दिएको जनाएको छ।

स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउनु जनस्वास्थ्य र नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो। सार्वजनिक बिदा तथा चाडपर्वका समयमा समेत उपभोक्तालाई भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धताअनुरूप बोर्डले खानेपानी सेवा विस्तार र व्यवस्थापनका कार्यलाई प्राथमिकता दिँदै आएको छ।

खानेपानी पूर्वाधारको विस्तारसँगै सेवा प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउँदै उपभोक्ताको घरसम्म स्वच्छ पानी पुर्‍याउनु बोर्डको प्राथमिकता रहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार