
सुरक्षित खानेपानी मानव स्वास्थ्यको आधार हो। स्वच्छ पानीको अभावले झाडापखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगको जोखिम बढाउँछ। त्यसैले खानेपानीको स्रोत संरक्षण, पानीको गुणस्तर कायम राख्ने उपाय र वितरण प्रणालीको उचित व्यवस्थापनलाई सुरक्षित खानेपानीका प्रमुख आधार मानिन्छ। तर, खानेपानीका मुहान संरक्षणका लागि गर्न सकिने एउटा सामान्य र प्रभावकारी उपाय भनेको घेराबार हो।
खानेपानीको मुहान संरक्षणदेखि उपभोक्ताको स्वास्थ्य सुरक्षासम्म घेराबारको महत्वपूर्ण भूमिका हुन्छ। मुहान र पानी सङ्कलन क्षेत्रलाई पशुचौपाया, मानवीय गतिविधि र बाह्य प्रदूषणबाट जोगाउन घेराबार अनिवार्य छ।
खानेपानीका मुहान, इनार, कुवा, पानी सङ्कलन पोखरी तथा अन्य स्रोतको वरिपरि घेराबार निर्माण गर्नु सामान्य भौतिक संरचना निर्माण गर्ने काम मात्र नभई यो पानीको स्रोतलाई प्रदूषणबाट जोगाउने, पानीको गुणस्तर कायम राख्ने र समुदायलाई सुरक्षित खानेपानी उपलब्ध गराउने महत्वपूर्ण उपाय भएको सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) का सुशासन विज्ञ निराजन श्रेष्ठले बताउनुभयो।
मुहानमा प्रदूषण पस्न नदिन घेराबार
खानेपानीको मुहान वरपर मानिस र पशुचौपायाको आवतजावत, खुला दिसापिसाब, फोहोरमैला, पशुको मलमूत्र तथा अन्य अस्वच्छ गतिविधिका कारण पानी प्रदूषित हुन सक्छ। विशेष गरी खुला मुहानमा वर्षाको पानीसँगै मलमूत्र, माटो, फोहोर र विभिन्न प्रदूषक मिसिएर पानीको गुणस्तर बिग्रने जोखिम हुन्छ।
मुहानको वरिपरि उचित घेराबार गर्दा अनधिकृत प्रवेश, पशुचौपायाको प्रत्यक्ष पहुँच र फोहोर फाल्ने गतिविधि नियन्त्रण गर्न सकिने उहाँले बताउनुृभयो। यसले मुहानलाई बाह्य प्रदूषणबाट जोगाउन सहयोग पुर्याउने उहाँको भनाइ छ ।
घेराबारले सबै प्रकारका प्रदूषण पूर्ण रूपमा रोक्छ भन्ने होइन। “जमिन मुनिबाट आउने दूषित पानी, रासायनिक प्रदूषण वा मुहानको माथिल्लो क्षेत्रमा हुने अस्वच्छ गतिविधिका कारण पनि पानी प्रदूषित हुन सक्छ” उहाँ भन्नुहुन्छ “घेराबारसँगै मुहानको उचित निकास, सरसफाइ, स्रोत क्षेत्रको संरक्षण र नियमित पानी परीक्षण पनि आवश्यक हुन्छ।”
पशुचौपायाबाट हुने प्रदूषण नियन्त्रण
ग्रामीण क्षेत्रमा धेरै खानेपानीका मुहान वनजङ्गल, चरन क्षेत्र, खेतबारी वा बस्तीको नजिक रहेका हुन्छन्। यस्ता स्थानमा पशुचौपाया स्वतन्त्र रूपमा आवतजावत गर्दा मुहान वरपरको जमिन दूषित हुन सक्छ। पशुको मलमूत्र वर्षाको पानीसँग बगेर मुहानमा मिसिन सक्ने जोखिम पनि उत्तिकै हुन्छ।

घेराबारले पशुचौपायालाई मुहानको प्रत्यक्ष सम्पर्कबाट टाढा राख्न मद्दत गर्ने सुशासन विज्ञ श्रेष्ठले बताउनुभयो । यसबाट पानीको स्रोत वरपरको वातावरण सफा राख्न र जीवाणुजन्य प्रदूषणको जोखिम घटाउन सकिन्छ।
विशेष गरी खुला कुवा, इनार र पानी सङ्कलन पोखरीको वरिपरि घेराबारसँगै सुरक्षित ढकनी, पक्की घेरो र पानी निकासको व्यवस्था गर्नु आवश्यक हुन्छ। यस्ता संरचनाले फोहोर, कीरा, साना जनावर तथा वर्षाको पानीबाट हुने प्रदूषणको जोखिम कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
स्रोत संरक्षणमा समुदायको जिम्मेवारी
खानेपानीका स्रोतको संरक्षण सरकार वा खानेपानी आयोजना निर्माण गर्ने संस्थाको मात्रै जिम्मेवारी होइन। स्रोतबाट पानी उपभोग गर्ने प्रत्येक व्यक्ति र समुदायको पनि उत्तिकै दायित्व हुन्छ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मुहानको जोखिम पहिचान गरी घेराबार निर्माण, नियमित मर्मत सम्भार र सरसफाइको व्यवस्था गर्नुपर्छ। घेराबार निर्माण गर्दा स्थानीय भूगोल, मुहानको प्रकृति, पानीको बहाव र सम्भावित जोखिमलाई ध्यान दिनुपर्छ।
त्यसैगरी घेराबार निर्माण गरेर मात्र छाड्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। तारजाली च्यातिने, पर्खाल भत्किने वा प्रवेशद्वार खुला रहने अवस्था भएमा घेराबारको प्रभावकारिता घट्छ। त्यसैले उपभोक्ता समितिले नियमित निरीक्षण गर्ने, आवश्यक मर्मत गर्ने र स्रोत वरपर फोहोर फाल्न नदिने व्यवस्था मिलाउनुपर्छ।

स्थानीय तहले खानेपानी आयोजनाको योजना, बजेट र अनुगमनमा स्रोत संरक्षणलाई प्राथमिकता दिन सक्छन्। विशेष गरी नयाँ खानेपानी आयोजना निर्माण गर्दा मुहान संरक्षणको योजना र आवश्यक संरचनाको लागत समेत समावेश गर्नुपर्छ।
जलवायु परिवर्तनका कारण थपिँदो चुनौती
जलवायु परिवर्तनका कारण अनियमित वर्षा, अतिवृष्टि, पहिरो र बाढीका घटना बढ्दा खानेपानीका स्रोतमा प्रदूषणको जोखिम थपिन सक्छ। तीव्र वर्षाले मुहान वरपरको माटो बगाउने, फोहोर मिसाउने र संरचनामा क्षति पुर्याउने सम्भावना हुन्छ।
यस्तो अवस्थामा घेराबारसँगै मुहानको माथिल्लो भागमा भूक्षय नियन्त्रण, वर्षाको पानीको उचित निकास, आवश्यकता अनुसार स्रोत संरक्षण क्षेत्रको व्यवस्थापन र बाढी पहिरोबाट संरचना जोगाउने उपाय अपनाउनुपर्छ।
मुहानको प्रकृति अनुसार घेराबारको डिजाइन फरक हुन सक्छ। कतिपय स्थानमा तारजाली पर्याप्त हुन सक्छ भने कतिपयमा पक्की पर्खाल वा अन्य सुरक्षित संरचना आवश्यक पर्न सक्छ। घेराबार निर्माण गर्दा पानीको प्राकृतिक बहाव अवरुद्ध नहुने र संरचनाले मुहानमा थप जोखिम सिर्जना नगर्ने कुरामा ध्यान दिनुपर्छ।
सुरक्षित खानेपानीका लागि पहिलो कदम
सुरक्षित खानेपानी सुनिश्चित गर्न मुहानदेखि उपभोक्ताको धारासम्मको सम्पूर्ण प्रणाली सुरक्षित हुनुपर्छ। मुहानमा घेराबार निर्माण गर्नु यस दिशाको महत्वपूर्ण पहिलो कदम हो। तर, यससँगै मुहानको नियमित सरसफाइ, पानीको गुणस्तर परीक्षण, पाइपलाइनको मर्मत सम्भार, पानी सङ्कलन तथा वितरण संरचनाको सुरक्षा र आवश्यकता अनुसार पानी शुद्धीकरण पनि उत्तिकै महत्वपूर्ण छन्।
खानेपानीको स्रोत सुरक्षित राख्न ठूलो लगानी नै आवश्यक पर्छ भन्ने छैन। स्थानीय स्रोतसाधनको उपयोग, समुदायको सहभागिता र उपभोक्ता समितिको सक्रियताबाट पनि प्रभावकारी घेराबार निर्माण तथा व्यवस्थापन गर्न सकिन्छ।
अन्ततः सुरक्षित खानेपानीको सुनिश्चितता पानीको उपलब्धतामा मात्र निर्भर हुँदैन, त्यसको गुणस्तर र स्रोतको सुरक्षामा पनि निर्भर हुन्छ। मुहानमा घेराबार निर्माण गर्नु सानो काम देखिए पनि यसले प्रदूषणको जोखिम घटाउन, स्रोत संरक्षण गर्न र जनस्वास्थ्य जोगाउन महत्वपूर्ण योगदान पुर्याउँछ।
त्यसैले प्रत्येक खानेपानी आयोजनाले स्रोतको प्रकृति र जोखिम अनुसार घेराबार सहितको समग्र संरक्षण योजना कार्यान्वयन गर्नु आवश्यक छ। मुहान सुरक्षित भए मात्र पानी सुरक्षित हुने आधार बलियो हुन्छ, र पानी सुरक्षित भए मात्र स्वस्थ समुदाय निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ।


237 पटक हेरिएको 

