
खानेपानीको मुहानदेखि उपभोक्ताको धारासम्म पानीको गुणस्तर कायम राख्न विस्तारित खानेपानी सुरक्षा योजना महत्त्वपूर्ण हुन्छ।
यस योजनाले खानेपानी प्रणालीमा हुन सक्ने सम्भावित जोखिम पहिचान गरी तिनको रोकथाम र न्यूनीकरणका लागि व्यवस्थित उपाय अवलम्बन गर्न सहयोग गर्छ। यसको प्रभावकारी कार्यान्वयनले उपभोक्तालाई सुरक्षित, गुणस्तरीय र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन मद्दत पुर्याउँछ।
विस्तारित खानेपानी सुरक्षा योजनाका मुख्य चरणमा खानेपानी प्रणालीको विस्तृत विवरण तथा नक्साङ्कन तयार गर्ने, सम्भावित जोखिम र जोखिमका कारण पहिचान गर्ने, जोखिमको मूल्याङ्कन तथा प्राथमिकता निर्धारण गर्ने, जोखिम न्यूनीकरणका उपाय तय गर्ने, कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्ने र नियमित अनुगमन, पानीको गुणस्तर परीक्षण तथा योजनाको पुनरावलोकन गर्ने कार्य पर्छन्। यी चरण मार्फत मुहान, सङ्कलन, प्रशोधन, भण्डारण र वितरण प्रणालीमा हुन सक्ने प्रदूषणका जोखिम नियन्त्रण गर्न सकिन्छ।
यस योजनाले खानेपानी उपभोक्ता संस्था तथा सेवा प्रदायकको व्यवस्थापकीय क्षमता, जवाफदेहिता र सुशासन अभिवृद्धि गर्न समेत सहयोग गर्छ। स्थानीय सरकार, खानेपानी सेवा प्रदायक संस्था र सरोकारवाला बीचको समन्वय तथा सहकार्यबाट योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ।
विस्तारित खानेपानी सुरक्षा योजना के हो, यसका मुख्य चरणहरू के–के हुन् र यसको प्रभावकारी कार्यान्वयन कसरी गर्न सकिन्छ? यी विषयमा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) का सुशासन विज्ञ ई. निराजन श्रेष्ठसँग गरिएको वास संवाद हेर्नुहोस्।


263 पटक हेरिएको 

