भरिन लाग्यो कुलेखानी जलाशय, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

बाँधमुनिका बस्तीलाई सुरक्षित स्थानमा रहन आग्रह, ढोका खोल्नुपर्ने अवस्था आए साइरन र एसएमएस मार्फत पूर्वसूचना दिने तयारी

  वास खबर सम्बाददाता  176 पटक हेरिएको
🔗
100
Shares

हेटौँडा : लगातारको वर्षाले कुलेखानी जलाशयको पानीको सतह तीव्र रूपमा बढेपछि मकवानपुरका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशय भरिन अब केही मिटर मात्र बाँकी रहेकाले आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै आयोजना र जिल्ला प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन अनुरोध गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ । शनिबार बिहानको विवरणअनुसार जलाशयको पानीको सतह समुद्री सतहबाट १ हजार ५२७ दशमलव ९३ मिटर पुगेको थियो । जलाशयको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलसतह अझै बढ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गर्नुभयो । उहाँले नदी किनारबाट टाढा रहन, जोखिमयुक्त स्थानबाट सुरक्षित र अग्लो ठाउँमा जान तथा आयोजना र प्रशासनबाट जारी हुने सूचनाको पालना गर्न अनुरोध गर्नुभएको छ ।

ढोका खोल्नुपर्ने अवस्था आए साइरन बजाइने

जलाशयमा पानीको सतह अधिकतम क्षमतानजिक पुग्दै गएपछि बाँधको सुरक्षालाई ध्यानमा राखेर पानीको व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ । जलाशय भरिने अवस्था बनेमा बाँधका ढोका खोल्नुपर्ने हुन सक्ने आयोजनाले जनाएको छ । तर ढोका खोल्ने निर्णय भइसकेको वा खोलिसकिएको भन्ने पुष्टि भएको छैन ।

सम्भावित जोखिमलाई ध्यानमा राखेर आयोजनाले पूर्वसूचना प्रणाली तयारी अवस्थामा राखेको छ । जलसतह निर्धारित तहमा पुगेपछि साइरन बजाउने र मोबाइल फोनमार्फत एसएमएस सूचना पठाउने व्यवस्था गरिएको छ । बाँधको जलसतह १ हजार ५२८ दशमलव ५ मिटर पुगेपछि पहिलो चेतावनी साइरन बजाउने तयारी रहेको छ । आवश्यक परे दोस्रो र तेस्रो चरणका आपत्कालीन साइरनसमेत बजाइने जनाइएको छ ।

जलाशयको पानीको सतह व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट सञ्चालनमा राखिएको छ । तीनवटै युनिट चौबीसै घण्टा सञ्चालन गर्दा जलाशयको पानी खपत भई सतह व्यवस्थापनमा सहयोग पुग्ने आयोजनाको भनाइ छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी तीनवटै आयोजनाबाट कुल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

सिस्नेरीदेखि बागमती किनारसम्म जोखिम

कुलेखानी जलाशयबाट पानी निकास गर्नुपर्ने अवस्था आएमा सिस्नेरी खोला हुँदै बागमती नदीमा पानीको बहाव बढ्न सक्छ । त्यसैले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका तल्लो तटीय बस्ती र बागमती नदी किनारका क्षेत्रलाई विशेष जोखिममा राखिएको छ ।

सिस्नेरी, देउराली आसपास तथा बागमती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । नदीमा पानीको बहाव एक्कासी बढ्न सक्ने भएकाले खोलामा पस्ने, पौडी खेल्ने, माछा मार्ने, नदी तर्ने तथा किनारमा अनावश्यक आवतजावत गर्ने काम नगर्न प्रशासनले अनुरोध गरेको छ ।

जलाशयको जलाधार क्षेत्र मकवानपुरको उत्तरी भेगमा फैलिएको छ । थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही र चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाका मार्खु र फाखेललगायत क्षेत्रबाट जलाशयमा पानी संकलन हुन्छ । यी क्षेत्रमा हुने वर्षाले जलाशयको पानीको सतहमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले वर्षाको अवस्था र जलसतह निरन्तर अनुगमन भइरहेको छ ।

शनिबार साँझदेखि आइतबार विहानसम्म सवारी आवागमनमा रोक

जलाशयको सतह बढेसँगै सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखेर प्रशासनले यातायात व्यवस्थापनमा समेत सावधानी अपनाएको छ । भैँसे–भीमफेदी–देउकाली–कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकखण्डमा शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको छ ।

प्रशासनले अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न र यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था तथा आधिकारिक सूचना बुझ्न आग्रह गरेको छ । वर्षा, पहिरो र जलाशयको पानीको सतहमा हुने परिवर्तनले सडक यातायातमा थप जोखिम सिर्जना गर्न सक्ने भएकाले यात्रु तथा चालकलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

विगतको अनुभवले बढाएको चिन्ता

कुलेखानी जलाशयको पानीको सतह बढ्दा तल्लो तटीय क्षेत्रका बासिन्दामा चिन्ता बढ्नुको कारण विगतको क्षतिसमेत हो । २०८१ असोजमा लगातारको वर्षापछि जलाशय भरिएर बाँधका ढोका खोल्दा इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पु¥याएको थियो । बस्ती, सडक, पुल, खानेपानी तथा सिँचाइका संरचनामा क्षति पुगेको थियो भने मानवीय क्षतिसमेत भएको थियो ।

त्यस घटनाले बाँधको पानी व्यवस्थापन र तल्लो तटीय क्षेत्रको पूर्वसूचना तथा जोखिम न्यूनीकरण प्रणालीको महत्त्व उजागर गरेको थियो । अहिले जलाशयको सतह बढ्दै जाँदा आयोजना, प्रशासन, स्थानीय तह र सुरक्षा निकायले सम्भावित जोखिमप्रति सचेतता बढाएका छन् ।

जलाशय भरिने अवस्था आएमा बाँधको पानी सुरक्षित रूपमा व्यवस्थापन गर्नु आयोजनाको प्राविधिक जिम्मेवारी हो । तर त्यसबाट प्रभावित हुन सक्ने बस्तीका नागरिकलाई समयमै सूचना पु¥याउने, सुरक्षित स्थानमा सार्ने र आवश्यक उद्धार तथा राहतको तयारी गर्ने दायित्व प्रशासन र स्थानीय सरकारको पनि हो ।

कुलेखानीको जलसतह र जलाधार क्षेत्रमा भइरहेको वर्षाको अवस्था परिवर्तनशील रहेकाले तल्लो तटीय क्षेत्रका नागरिकले हल्लाभन्दा आधिकारिक सूचना र निर्देशनलाई आधार बनाउनुपर्ने देखिन्छ । सम्भावित जोखिमलाई सामान्य ठानेर नदी किनारमा बसिरहनु वा चेतावनीलाई बेवास्ता गर्नु जोखिमपूर्ण हुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार