खुम्बु पासाङल्हामु–१ खरीखोलामा २ करोड ५० लाख भन्दा बढी लागतमा दुई आयोजना सम्पन्न

  वास खबर सम्बाददाता  115 पटक हेरिएको
🔗
107
Shares

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरीखोलामा दुईवटा खानेपानी आयोजना सम्पन्न भएका छन्। स्थानीय बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालित खरीखोला खानेपानी योजनाअन्तर्गत स्किम ४ र ६ तथा स्किम ७ र ८ का आयोजना सम्पन्न भएका हुन्।

गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले एक समारोह बीच दुवै आयोजनाको उद्घाटन गर्नुभयो।

गाउँपालिकाले प्रत्येक नागरिकको घरमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने र आगलागीजन्य विपद् व्यवस्थापनका लागि अग्नि नियन्त्रण प्रणालीसमेत जडान गर्ने दीर्घकालीन योजनाअनुसार खानेपानी आयोजना सञ्चालन गरेको जनाएको छ।

सम्पन्न दुई आयोजनामा गाउँपालिका, साझेदार संस्था र स्थानीय उपभोक्ता समितिको आर्थिक तथा श्रमदान सहितको योगदान रहेको छ।

दुई आयोजनामा साढे २ करोडभन्दा बढी लगानी

खरीखोला खानेपानी योजना अन्तर्गत स्किम ४ र ६ मा सम्पन्न आयोजनाको कुल लागत १ करोड ६२ लाख ८३ हजार ८९० रुपैयाँ रहेको छ। यसमध्ये गाउँपालिकाको ७८ लाख ९८ हजार ८९३ रुपैयाँ ९३ पैसा, एक्सन फर नेपाल (Action for Nepal) र एसोसिएसन हिमालयन आई प्रोजेक्ट (Association Himalayan Eye Project) को ७९ लाख १५ हजार ५४४ रुपैयाँ ८५ पैसा लगानी रहेको छ। स्थानीय उपभोक्ता समितिले ४ लाख ६९ हजार ३९५ रुपैयाँ ४७ पैसाबराबरको श्रमदान गरेको छ।

त्यसैगरी, स्किम ७ र ८ अन्तर्गतको आयोजनामा ८७ लाख ४४ हजार ६९९ रुपैयाँ खर्च भएको छ। यस आयोजनामा गाउँपालिकाको ३६ लाख ६ हजार ८८३ रुपैयाँ, एक्सन खरिखोला नेपाल (Action Kharikhola Nepal) को ४६ लाख ६२ हजार ३३३ रुपैयाँ र स्थानीय उपभोक्ता समितिको ४ लाख ७५ हजार ४८३ रुपैयाँ बराबरको श्रमदान रहेको छ।

यसरी दुवै आयोजनामा कुल २ करोड ५० लाख २८ हजार ५८९ रुपैयाँ खर्च भएको छ।

खरीखोला खानेपानी योजनामा पौने ४ करोड लगानी

खरीखोला खानेपानी योजना एकै पटक सञ्चालन गरिएको आयोजना नभई विभिन्न चरणमा विस्तार हुँदै आएको योजना हो। यसअघि स्किम १, २, ३ र ५ का लागि गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरी खर्च गरेको थियो।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ५० लाख, २०८०/०८१ मा ३० लाख, २०८१/०८२ मा ५३ लाख र २०८२/०८३ मा १५ लाख रुपैयाँ खर्च भएको छ। यी चार आर्थिक वर्षमा गाउँपालिकाबाट कुल १ करोड ४८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

समग्रमा खरीखोला खानेपानी योजनामा गाउँपालिकाबाट हालसम्म २ करोड ६३ लाख ६५ हजार ८३८ रुपैयाँ र साझेदार संस्थाहरूबाट १ करोड २५ लाख ७७ हजार ८७७ रुपैयाँ लगानी भएको विवरण सार्वजनिक गरिएको छ। यसरी योजनाको कुल लागत ३ करोड ८९ लाख ४३ हजार ७१५ रुपैयाँ पुगेको छ।

आयोजनाको उद्घाटन समारोहमा साझेदार संस्था एक्सन फर नेपालका कार्यकारी निर्देशक तथा गाउँपालिकाका सल्लाहकार लाक्पा छिरिङ शेर्पा, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई, एसोसिएसन हिमालयन आई प्रोजेक्टका अध्यक्ष सर्जे कराट, परियोजना संयोजक ङिमा दोर्जी शेर्पा तथा स्वीजरल्याण्ड स्थित रोटरी क्लब लुजानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले आयोजना सम्पन्न गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने दातृ निकाय, साझेदार संस्था, स्थानीय उपभोक्ता समिति तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

दुई आयोजना सम्पन्न भएसँगै खरीखोलाका स्थानीय बासिन्दाको स्वच्छ खानेपानीमा पहुँच विस्तार हुनुका साथै सुरक्षित खानेपानी सेवाको उपलब्धता र स्थानीय जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार