
काठमाडौं : पूर्वाधार विकास मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले निर्माण भइसकेका खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजनाको कार्यान्वयनमा जोड दिनुभएको छ । उहाँले देशका ७५३ वटै स्थानीय तहमा वास योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ क्षेत्रको राष्ट्रिय फ्ल्यागसिप कार्यक्रमको प्रमाणीकरण कार्यशालामा बोल्दै सहसचिव दुवाडीले चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा वास योजना निर्माणका लागि केही बढी बजेट विनियोजन भएकाले यस वर्ष योजनाको निर्माणले गति लिने अपेक्षा गरिएको बताउनुभयो । तर, योजना निर्माणसँगै त्यसको कार्यान्वयनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले सार्वजनिक गरेको ‘वास स्टाटस रिपोर्ट २०२६’ (WASH Status Report 2026) अनुसार देशभरिका २०४ गाउँपालिका, १३३ नगरपालिका, ६ उपमहानगरपालिका र एउटा महानगरपालिका गरी ३४४ स्थानीय तहले वास प्लान तयार गरिसकेका छन् ।
उहाँले खानेपानी आयोजनामा हुने दोहोरोपन (डुप्लिकेसन) हटाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कतिपय घरमा संघ, प्रदेश र स्थानीय सरकारका छुट्टाछुट्टै लगानीमा तीनवटा सम्म धारा निर्माण भए पनि उपभोक्ताले पर्याप्त पानी पाउन नसकेको अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
खानेपानीको धारा निर्माण गर्नु मात्र उपलब्धि नभएको बताउँदै उहाँले प्रत्येक नागरिकले सुरक्षित, समतामूलक र दिगो खानेपानी आपूर्ति सेवा प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । लगानीको दोहोरोपन हटाएर उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गर्न सके मात्र नागरिकले वास्तविक लाभ प्राप्त गर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ क्षेत्रको फ्ल्यागसिप कार्यक्रम निर्माण गर्दा धेरै महत्त्वाकांक्षी कार्यक्रम समावेश गर्नुभन्दा कार्यान्वयन गर्न सकिने कार्यक्रम छनोट गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रमको लक्ष्य निर्धारण गर्दा उपलब्ध स्रोत, साधन, जनशक्ति र कार्यान्वयन क्षमतालाई ध्यान दिनुपर्ने उहाँको धारणा थियो ।
कुनै पनि खानेपानी तथा सरसफाइ आयोजनाको योजना निर्माण र कार्यान्वयन गर्दा आयोजनाको सम्पूर्ण जीवनचक्रको लागत (लाइफ साइकल कस्ट) लाई बिर्सन नहुने उहाँले बताउनुभयो । आयोजना निर्माणमा हुने प्रारम्भिक लगानीसँगै सञ्चालन, मर्मत सम्भार र दीर्घकालीन व्यवस्थापनमा लाग्ने खर्चको समेत पूर्वानुमान गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले खानेपानी तथा सरसफाइका कार्यक्रम स्थानीय बासिन्दाको अपनत्व कायम हुने गरी निर्माण गर्नुपर्ने बताउनुभयो । साथै, स्थानीय सरकारको क्षमता विकास र सशक्तीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानीय सरकारलाई योजना निर्माणदेखि कार्यान्वयन र सेवा व्यवस्थापन सम्म सक्षम बनाउँदै स्थानीय समुदायको अपनत्व सुनिश्चित गर्न सके मात्र खानेपानी तथा सरसफाइका सेवा दिगो हुने सहसचिव दुवाडीको भनाइ थियो ।



651 पटक हेरिएको 

