
काठमाडौ : काठमाडौ उपत्यकामा सुधारिएको सरसफाइ सुविधामा ९९.४ प्रतिशत जनसङ्ख्याको पहुँच पुगे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँच भने १४.३ प्रतिशत जनसङ्ख्यामा मात्र सीमित रहेको पाइएको छ। यसले शौचालयको पहुँच विस्तार भए पनि शौचालयबाट निस्कने दिसाजन्य मलमूत्रको सुरक्षित व्यवस्थापन र प्रशोधनमा ठूलो चुनौती रहेको देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना तथा नेपाल बहुसूचक सर्वेक्षणमा आधारित ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ विषयक प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा सुधारिएको सरसफाइ सुविधाको पहुँच उच्च रहे पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाको पहुँच न्यून छ।
प्रतिवेदनले उपत्यकामा ढल निकास प्रणाली, दिसाजन्य मलमूत्रको सुरक्षित भण्डारण, ढुवानी तथा प्रशोधन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। शौचालयको सुविधा हुनु मात्र सुरक्षित सरसफाइको सुनिश्चितता नभएको भन्दै शौचालयबाट निस्कने फोहोरको अन्तिम व्यवस्थापनसम्मको शृङ्खला सुरक्षित हुनुपर्ने देखिएको छ।
प्रतिवेदन अनुसार फ्लस जोडिएको सेप्टिक ट्याङ्कीमा दिसाजन्य मलमूत्र चुहिने वा पोखिने जोखिम ३.६ प्रतिशत रहेको छ। त्यसैगरी फ्लस जोडिएको एकल खाल्टे संरचनामा यस्तो जोखिम ९.१ प्रतिशत रहेको उल्लेख छ। यी तथ्याङ्कले सरसफाइ संरचनाको सुरक्षित डिजाइन र निर्माण सँगै नियमित सञ्चालन तथा मर्मत सम्भारमा समेत ध्यान दिनुपर्ने देखाउँछन्।
राष्ट्रिय जनगणना–२०५८ मा शौचालय नभएको घरपरिवारको हिस्सा ५३.२ प्रतिशत रहेकोमा २०७८ को जनगणना सम्म आइपुग्दा उल्लेख्य सुधार भएको छ। २०७८ को जनगणना अनुसार ४.५ प्रतिशत घरपरिवारले मात्र शौचालयको प्रयोग नगरेको प्रतिवेदनमा उल्लेख छ। यसले घर परिवारमा शौचालयको पहुँच विस्तार भएको देखाए पनि सुरक्षित रूपमा दिसाजन्य मलमूत्र व्यवस्थापन गर्ने प्रणालीको विकास अझै चुनौतीपूर्ण रहेको पुष्टि गर्छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले सरकारले आगामी दिनमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा सेवाको पहुँच, गुणस्तर र समतामूलक वितरण सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ।
उहाँका अनुसार आधारभूत सेवाको पहुँचसँगै सुरक्षित रूपमा व्यवस्थापन गरिएको खानेपानी तथा सरसफाइ सेवाको अवस्थालाई योजना तथा बजेट तर्जुमाको प्रमुख आधार बनाउनुपर्छ। नयाँ पूर्वाधार निर्माणका साथै विद्यमान खानेपानी प्रणालीको नियमित सञ्चालन तथा मर्मतसम्भार, पानीको गुणस्तर परीक्षण र सुरक्षित सेवा प्रवाहमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभएको छ।
त्यसैगरी मलमूत्रको सुरक्षित भण्डारण, ढुवानी तथा प्रशोधनका लागि आवश्यक पूर्वाधार र प्रभावकारी व्यवस्थापन प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनले सुझाव दिएको छ। राष्ट्रिय तथा स्थानीय तहगत तथ्याङ्कको नियमित अद्यावधिक, संस्थागत समन्वय र प्रणालीमा आधारित निर्णय प्रक्रिया मार्फत खानेपानी तथा सरसफाइ सेवामा विद्यमान असमानता न्यूनीकरण गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ।
काठमाडौँ उपत्यकाको तथ्याङ्कले सहरी क्षेत्रमा शौचालयको पहुँच विस्तारसँगै ढल निकास, सेप्टिक ट्याङ्कीको सुरक्षित व्यवस्थापन, दिसाजन्य मलमूत्रको नियमित निकासी तथा प्रशोधन प्रणालीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको छ।
सुरक्षित सरसफाइ सेवा सुनिश्चित गर्न शौचालय निर्माणमा मात्र केन्द्रित नभई दिसाजन्य मलमूत्रको संकलनदेखि अन्तिम प्रशोधन र सुरक्षित विसर्जनसम्मको सम्पूर्ण शृङ्खला व्यवस्थित गर्नुपर्ने देखिन्छ।


166 पटक हेरिएको 

