
विराटनगर : सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका १३ स्थानीय तहमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को प्रभावकारी कार्यान्वयन गरी तथ्याङ्कमा आधारित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) योजना निर्माण तथा कार्यान्वयन गर्ने विषयमा सहमति जुटेको छ।
सोलुखुम्बुका पाँच र ओखलढुङ्गाका आठ स्थानीय तहलाई समेटेर आयोजित कार्यक्रममा स्थानीय तहमा WASH क्षेत्रको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण, व्यवस्थापन तथा उपयोगलाई व्यवस्थित बनाउँदै योजनाबद्ध सेवा विकासमा जोड दिने सहमति भएको हो।
जिल्ला समन्वय समिति ओखलढुङ्गाको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, खानेपानी तथा सरसफाइ क्षेत्रका कर्मचारी र अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा NWASH-MIS को आवश्यकता र महत्व, स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन तथा तथ्याङ्कमा आधारित WASH योजना निर्माणका विभिन्न चरणका विषयमा छलफल गरिएको थियो।
स्थानीय तहमा खानेपानी तथा सरसफाइ सेवाको वास्तविक अवस्था पहिचान गर्न, तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण गर्न, सेवा पहुँचमा रहेका कमी–कमजोरी विश्लेषण गर्न र आवश्यकताका आधारमा योजना तथा बजेट तर्जुमा गर्न NWASH-MIS महत्वपूर्ण प्रणालीका रूपमा रहने अपेक्षा गरिएको छ। यस प्रणालीको प्रभावकारी उपयोगले स्थानीय सरकारको योजना निर्माण क्षमता अभिवृद्धि गर्नुका साथै उपलब्ध स्रोतसाधनलाई आवश्यकताका आधारमा प्राथमिकतापूर्वक परिचालन गर्न सहयोग पुग्नेछ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईले स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको योजना निर्माण र व्यवस्थापनलाई प्रभावकारी बनाउन भरपर्दो तथ्याङ्क आवश्यक रहेको बताउनुभयो। उहाँले NWASH-MIS को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय र स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख राजकुमार मण्डलले WASH क्षेत्रको दिगो सेवा व्यवस्थापनका लागि तथ्याङ्कमा आधारित योजना निर्माण र कार्यान्वयनमा जोड दिनुभयो। उहाँले स्थानीय तह तथा सम्बन्धित निकायबीच सहकार्य गरेर सूचना प्रणालीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा SNV नेपालका प्रदेश संयोजक रामप्रकाश सिंहले NWASH-MIS प्रणालीको कार्यान्वयन प्रक्रिया तथा स्थानीय तहमा तथ्याङ्कमा आधारित WASH योजना निर्माणको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले स्थानीय तहको क्षमता अभिवृद्धि, प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वय तथा योजनाबद्ध WASH सेवा विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सिनियर इन्जिनियर लोजाङ डेण्डुप शेर्पाले स्वागत मन्तव्य व्यक्त गर्दै WASH सेवाको गुणस्तर, समावेशिता र दिगोपन सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको दिगो विकासका लागि संस्थागत समन्वय र योजनाबद्ध कार्यान्वयनमा जोड दिनुभयो।

कार्यक्रममा कोशी प्रदेशका स्रोत व्यक्ति जुनुकला श्रेष्ठ र इन्द्रकुमार चापागाईँले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको समापन खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख राजकुमार मण्डलले गर्नुभएको थियो।
यस पहलले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, प्रदेश सरकार तथा अन्य सरोकारवालाबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै जलवायु उत्थानशील, समावेशी तथा दिगो WASH सेवा विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका सम्बन्धित स्थानीय तहका अध्यक्ष तथा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, खानेपानी कार्यालयका कर्मचारी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
समाचार तथा समन्वय: इन्द्रकुमार चापागाईँ, प्रदेश स्रोत व्यक्ति (PRP), कोशी प्रदेश


235 पटक हेरिएको 

