तीन महिनामै ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान, १३ लाख भन्दा बढी नागरिक लाभान्वित हुने

१७ अर्ब १५ करोड रुपैयाँका आयोजना अघि बढाइँदै

  वास खबर सम्बाददाता  190 पटक हेरिएको
🔗
251
Shares

काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरु मार्फत विभिन्न जिल्लामा कार्यान्वयन हुने साना तथा ठूला खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको हो।

कुल १७ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएका ती आयोजना मार्फत आगामी ३० महिनाभित्र १३ लाख ७२ हजार नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानी आयोजनाका बहुवर्षीय ठेक्का आह्वान हुन सकेका थिएनन्। तर, चालु आर्थिक वर्षको सुरुवातसँगै आयोजनाहरूको खरिद प्रक्रिया अघि बढाइएको छ।

“गत आर्थिक वर्षमा कुनै पनि बहुवर्षीय खानेपानी आयोजनाको ठेक्का आह्वान हुन सकेको थिएन। यस आर्थिक वर्षको सुरुवाती तीन महिनामै ९२ वटा साना तथा ठूला खानेपानी आयोजनाको ठेक्का आह्वान गरिसकेका छौँ,” महानिर्देशक श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार ठेक्का आह्वान गरिएका आयोजनाहरू निर्धारित समय भित्र सम्पन्न भएमा विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिकले आगामी ३० महिनाभित्र सुरक्षित खानेपानी सेवा प्राप्त गर्नेछन्। खानेपानी सेवालाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा अघि बढाइएको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षमा थप आयोजनाहरूको खरिद प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताउनुभयो।

यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन कुल १७ अर्ब १५ करोड रुपैयाँ लागतका आयोजनाको ठेक्का आह्वान गरिएको बताउनु भएको छ ।

खानेपानी सेवा प्राथमिकता प्राप्त क्षेत्र भएकोले यस वर्ष ४४ अर्ब रुपैयाँ सम्मको खानेपानी आयोजनाको खरिद प्रकृयामा जाने तयारी गरेको उहाँले बताउनुभयो । ‘सरकारले २०८७ साल सम्म सबै नागरिकको घर घरमा सुरक्षित खानेपानी सेवा पुर्‍याउने लक्ष्य राखेको छ’ उहाँले भन्नुभएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार