
काठमाडौं : महिनावारीका बेला सेनिटरी प्याडको सही प्रयोग कसरी गर्ने ? प्रयोग गरिसकेको प्याडलाई कसरी निकाल्ने र सुरक्षित रूपमा कहाँ विसर्जन गर्ने ? धेरै किशोरीका लागि यी सामान्य लाग्ने तर महत्त्वपूर्ण प्रश्न हुन् । महिनावारी स्वच्छता कायम राख्न यस्ता विषयको सही जानकारी र व्यवहारिक अभ्यास आवश्यक हुन्छ ।
यसै विषयमा बर्दियाको श्री नेपाल राष्ट्रिय इन्दिरा भुसाल माध्यमिक विद्यालयकी एक शिक्षिकाले सेनिटरी प्याडको प्रयोग र विसर्जन गर्ने तरिकाबारे छात्राहरूलाई व्यवहारिक रूपमा सिकाउनुभएको छ ।
उहाँले सेनिटरी प्याडको प्याकेट खोल्ने तरिकाबारे जानकारी दिँदै भन्नुहुन्छ, “यसरी खोल्ने । अब यो प्याड भयो । यसरी खोलिसकेपछि यसलाई यसरी पट्याउने ।”
प्याडलाई पेन्टीमा कसरी टाँस्ने भन्नेबारे उहाँले भन्नुहुन्छ, “अनि यो पेन्टीमा यस्तो गर्ने, चप्काउने । अनि यो पछाडिको भाग पनि यसरी चप्काउने है । यसरी प्याड पेन्टीमा टाँसिन्छ ।”
सेनिटरी प्याड कसरी प्रयोग गर्ने र प्रयोगपछि कसरी सुरक्षित रूपमा विसर्जन गर्ने भन्नेबारे विस्तृत जानकारीका लागि यो भिडियो हेर्नुहोस्।
प्याड लगाउने तरिका सिकाउँदै उहाँले त्यसलाई पेन्टीको बीच भागमा मिलाएर टाँस्न र प्रयोग गर्नुपर्ने बताउनुभएको छ । प्याड कति समयसम्म प्रयोग गर्ने भन्नेबारे उहाँ भन्नुहुन्छ, “यो प्याडलाई कम्तीमा चार घण्टासम्म प्रयोग गर्ने । त्यसपछि यो निकाल्ने ।”
प्रयोग भइसकेको प्याडलाई जथाभावी फाल्नु हुँदैन भन्ने सन्देश दिँदै उहाँले त्यसको सुरक्षित विसर्जन गर्ने तरिका पनि देखाउनुभएको छ । “यो युज गरिसकेको प्याडलाई यसरी निकालेर, यसलाई यसरी बेरेर अनि यो कागजमा बेर्नुपर्छ है । अनि बल्ल यो फाल्नुपर्छ, हाम्रो यो डिस्पोज गर्ने ठाउँमा,” उहाँले भन्नुभएको छ ।
हालका लागि विद्यालयमा डस्टबिनको व्यवस्था भएकाले प्रयोग भइसकेको प्याडलाई कागजमा बेरेर डस्टबिनमा फाल्ने तरिका उहाँले सिकाउनुभएको छ ।
महिनावारी प्राकृतिक प्रक्रिया हो । यस अवधिमा व्यक्तिगत सरसफाइ कायम राख्नु, आवश्यकताअनुसार प्याड परिवर्तन गर्नु र प्रयोग भइसकेको प्याडलाई सुरक्षित रूपमा विसर्जन गर्नु महिनावारी स्वच्छता व्यवस्थापनका महत्त्वपूर्ण पक्ष हुन् । विद्यालयमा यसरी व्यवहारिक अभ्यास गराउँदा छात्राहरूलाई महिनावारीका बेला अपनाउनुपर्ने सावधानी र स्वच्छताबारे बुझ्न सहज हुन्छ ।


109 पटक हेरिएको 

