पञ्चकन्या र दुप्चेश्वरका २३ परिवारलाई खानेपानीका सामग्री वितरण

  वास खबर सम्बाददाता  75 पटक हेरिएको
🔗
52
Shares

नुवाकोट : नुवाकोटको पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका २३ परिवारलाई खानेपानीका धारा निर्माण तथा मर्मतका लागि आवश्यक सामग्री वितरण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रूडेक नेपाल नुवाकोटको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रम अन्तर्गत लक्षित परिवारलाई खानेपानीका सामग्री वितरण गरिएको हो ।

पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष विमला केसीको उपस्थितिमा आयोजित कार्यक्रममा २३ परिवारलाई खानेपानीको पहुँच सहज बनाउन आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । सामग्री अन्तर्गत धारा निर्माण तथा मर्मतका लागि सिमेन्ट, पानी ट्याङ्की, धारा जडानका सामग्री र आवश्यक पाइप वितरण गरिएको रूडेक नेपालले जनाएको छ ।

कार्यक्रम बालबालिका बसोबास गर्ने परिवारलाई लक्षित गरी सञ्चालन गरिएको हो । घरपरिवारमा खानेपानीको सहज उपलब्धता सुनिश्चित गर्दै बालबालिकाका लागि स्वच्छ र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

रूडेक नेपालका अध्यक्ष मिन कुमार केसीका अनुसार संस्थाले यस अघि पनि सोही कार्यक्रम अन्तर्गत लक्षित परिवारलाई आवास तथा सरसफाइका सामग्री सहयोग गरिसकेको छ । उहाँका अनुसार १६ परिवारलाई घर निर्माण तथा मर्मतका लागि आवश्यक सामग्री र १५ परिवारलाई शौचालय निर्माणका लागि आवश्यक सामग्री वितरण गरिएको छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी आधारभूत सुविधामा परिवारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस सहयोगले घरायसी स्वच्छता र सरसफाइको अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विशेष गरी बालबालिका बसोबास गर्ने घर परिवारमा सुरक्षित खानेपानीको उपलब्धता, सरसफाइयुक्त शौचालय र व्यवस्थित आवासले उनीहरूको स्वास्थ्य तथा समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसले परिवारस्तरमा सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहार प्रवर्द्धन गर्न समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपाल र रूडेक नेपाल बीचको सहकार्यमा सञ्चालित कार्यक्रमले स्थानीय परिवारको आधारभूत आवश्यकता सम्बोधन गर्दै बालमैत्री, स्वच्छ र सुरक्षित पारिवारिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार