
मुगु : मुगुको सोरु गाउँपालिकाका चार वटा वडाका बासिन्दालाई स्वच्छ खानेपानीको सहज पहुँच पुर्याउने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण थालिएको सोरुकोट बृहत् खानेपानी आयोजना वर्षौँ बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीय बासिन्दा अझै खानेपानीको अभाव झेल्न बाध्य छन् ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतको मातहतमा सञ्चालित उक्त आयोजनाबाट सोरु गाउँपालिकाका वडा नं. १ देखि ४ सम्मका बस्ती लाभान्वित हुने लक्ष्य राखिएको छ । तर, निर्माण व्यवसायीले गाउँमा पाइप बिछ्याए पनि धारा निर्माण र पानी वितरणको काम पूरा नगर्दा स्थानीयले आयोजनाबाट लाभ लिन सकेका छैनन् ।
सोरु गाउँपालिका–३ भीइगाउँकी रामजिरा डाँगरका अनुसार निर्माण व्यवसायीले गाउँमा पाइप पुर्याएको झन्डै दुई वर्ष हुन लाग्दा पनि धारा निर्माण र पानी वितरणको काम अघि बढ्न सकेको छैन ।
उहाँ भन्नुहुन्छ, “गाउँमा पाइप मात्र बिछ्याइएको छ । अहिलेसम्म धारा निर्माण भएको छैन, पाइपमा पानी पनि आएको छैन । देखाउनका लागि मात्र पाइप बिछ्याइएको जस्तो भएको छ ।”
खानेपानीको सहज पहुँच स्थापित गर्ने उद्देश्यले आयोजना सुरु गरिए पनि निर्माण कार्यले पूर्णता नपाउँदा स्थानीयलाई दैनिक पानीको जोहो गर्नेदेखि व्यक्तिगत सरसफाइसम्म समस्या भइरहेको छ ।
सोरु गाउँपालिका–३ का वडाध्यक्ष सिंह बहादुर धामीले गाउँपालिकाका वडा नं. १ देखि ४ सम्मका बस्तीको खानेपानी समस्या समाधान गर्ने लक्ष्यसहित आयोजना सुरु गरिएको भए पनि अहिलेसम्म स्थानीयले पानी उपभोग गर्न नपाएको बताउनुभयो ।
उहाँका अनुसार आयोजना निर्माणको अवस्था र प्रगतिबारे सम्बन्धित कार्यालयबाट प्रभावकारी अनुगमन समेत हुन सकेको छैन । “आयोजनाको नाम बृहत् खानेपानी भए पनि स्थानीयले अहिलेसम्म पानी उपभोग गर्न पाएका छैनन् । खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका कर्मचारी पनि आयोजना निर्माणस्थलमा अनुगमनका लागि आएको थाहा छैन,” उहाँले भन्नुभयो ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी अशोक आचार्यका अनुसार सोरुकोट बृहत् खानेपानी आयोजनाको निर्माण जिम्मा धुलिखेल र भीमेश्वर जेभीले पाएको हो । निर्माण कम्पनीसँग २०७७ साल माघ ७ गते १० करोड ४० लाख ८८ हजार १९० रुपैयाँमा सम्झौता भएको थियो ।
निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद हालसम्म चार पटक थप गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । पटक पटक म्याद थप गरिए पनि आयोजना अपेक्षाअनुसार सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।
आचार्यका अनुसार आयोजनामा हालसम्म ८ करोड ८७ लाख ३ हजार १३५ रुपैयाँ खर्च भइसकेको छ । कुल सम्झौता रकमको ठूलो हिस्सा खर्च भइसक्दा पनि स्थानीयले खानेपानी उपभोग गर्न नपाउनु आयोजनाको कार्यान्वयन अवस्था माथि गम्भीर प्रश्न बनेको छ ।
सोरु गाउँपालिका–४ का स्थानीय कर्णजङ्ग शाहीले आयोजना समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको बताउनुभयो । निर्माण कम्पनीले सम्झौता अनुसार आफ्नो जिम्मेवारी पूरा नगर्दा त्यसको प्रत्यक्ष मार स्थानीयले खेप्नुपरेको उहाँको भनाइ छ । आयोजना सँग सम्बन्धित पक्षसँग समन्वय गर्न खोज्दा सम्पर्क हुन नसकेको पनि उहाँले बताउनुभयो ।
खानेपानी नागरिकको आधारभूत आवश्यकता हो । तर, चार वटा वडाका बासिन्दालाई लक्षित गरी करोडौँ रुपैयाँ लगानीमा सुरु गरिएको आयोजना पटक पटक म्याद थप गर्दा पनि सम्पन्न नहुनु र स्थानीयले पानी उपभोग गर्न नपाउनुले सार्वजनिक लगानीको प्रभावकारिता, निर्माण व्यवसायीको जवाफदेहिता र सम्बन्धित निकायको अनुगमन माथि प्रश्न उठाएको छ ।
आयोजना कहिलेसम्म सम्पन्न हुन्छ भन्ने स्पष्ट जानकारी समेत स्थानीयले पाउन सकेका छैनन् । यस्तो अवस्थामा सम्बन्धित कार्यालयले आयोजनाको वास्तविक प्रगति र बाँकी कामको अवस्था बारे स्थलगत अनुगमन गरी निर्माण कार्यलाई तीव्रता दिन तथा स्थानीयलाई यथाशीघ्र स्वच्छ खानेपानी उपलब्ध गराउन आवश्यक देखिएको छ ।


132 पटक हेरिएको 

