आठराईका पाँच वडामा खानेपानी पुर्‍याउन श्रमदान गर्ने हर्क साम्पाङको प्रतिबद्धता

  वास खबर सम्बाददाता  145 पटक हेरिएको
🔗
178
Shares

तेह्रथुम : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले खानेपानीको अभाव झेलिरहेका तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त बस्तीमा श्रमदान मार्फत खानेपानी पुर्‍याउने घोषणा गर्नुभएको छ ।

आठराईको सक्रान्ति बजारमा आयोजित पार्टीको ‘हातेमालो’ कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले खानेपानीको स्रोत पहिचान भए स्थानीयवासी सँगै श्रमदान गरेर भए पनि पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

आठराई गाउँपालिकाका वडा नम्बर १, ४, ५, ६ र ७ का विभिन्न बस्तीमा खानेपानीको समस्या रहेको विषयमा चासो व्यक्त गर्दै उहाँले सम्भावित पानीका स्रोत पहिचान गर्नुपर्ने बताउनुभयो । स्रोत भेटिए त्यसको उपयोग गरी स्थानीयको सहभागितामा बस्तीमा पानी पुर्‍याउन आफू तयार रहेको उहाँको भनाइ थियो ।

‘पानीको स्रोत पहिचान गर्न सकिए स्थानीयसँगै श्रमदान गरेर भए पनि पानी पुर्‍याउन सकिन्छ,’ साम्पाङले भन्नुभयो । उहाँले आफू आठराई आएर स्थानीयवासीसँगै श्रम गर्न इच्छुक रहेको समेत बताउनुभयो ।

श्रमदान मार्फत विकास निर्माणका काम अघि बढाउँदै आउनु भएका साम्पाङले सामूहिक प्रयासबाट स्थानीय समस्याको समाधान खोज्न सकिने धारणा राख्नुभएको छ । उहाँले पानीको स्रोत पहिचान सँगै त्यसको संरक्षण र उपयोगमा स्थानीयको सक्रियता आवश्यक रहेको औँल्याउनुभयो ।

आठराईका सुख्खाग्रस्त बस्तीमा खानेपानीको समस्या भने वर्षौं देखिको हो । भौगोलिक बनावट, पानीका मुहानको सीमितता र छरिएर रहेका बस्तीका कारण यहाँका कतिपय नागरिकले अझै सहज रूपमा खानेपानी उपभोग गर्न पाएका छैनन् । विशेष गरी सुख्खायाममा पानीको अभाव थप चर्किने गरेको छ ।

खानेपानीको अभावले स्थानीयको दैनिक जीवनयापन, सरसफाइ, पशुपालन र कृषि उत्पादन समेत प्रभावित हुँदै आएको छ । घरायसी प्रयोजनका लागि आवश्यक पानी जुटाउनै स्थानीयले समय र श्रम खर्चिनु पर्ने बाध्यता छ ।

आठराई गाउँपालिका–७ का ६८ वर्षीय सोमनाथ सिवाका अनुसार उहाँको बस्तीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएको छ । पर्याप्त पानी नहुँदा घरायसी कामकाज सँगै सिँचाइमा समेत कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । पानीको अभावले खेतीपाती समेत प्रभावित भएको उहाँको भनाइ छ ।

स्थानीय दुर्गादेवी चम्लागाईको दैनिकी पनि पानीको जोहोमै बित्ने गरेको छ । घरमै सहज रूपमा खानेपानी उपलब्ध नहुँदा पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । दैनिक उपभोगका लागि पानी जुटाउन समय र श्रम खर्चिनुपर्दा अन्य कामसमेत प्रभावित हुने गरेको उहाँको अनुभव छ ।

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका आठराईका बासिन्दाका लागि साम्पाङको घोषणाले आशा जगाएको छ । तर, पानीको स्रोत पहिचान, प्राविधिक सम्भाव्यता अध्ययन, आवश्यक पूर्वाधार निर्माण र दीर्घकालीन सञ्चालन तथा मर्मत सम्भारको व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । त्यसैले श्रमदानको घोषणालाई व्यवहारमा उतार्न स्थानीय समुदाय, गाउँपालिका र सम्बन्धित सरोकारवाला बीच समन्वय आवश्यक देखिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार