सर्लाहीको चुरे भेगमा खानेपानीको सधैं हाहाकार, असुरक्षित पानीले स्वास्थ्य जोखिम निम्तिदै

सधैं हाहाकार, असुरक्षित पानीले स्वास्थ्य जोखिम

  वास खबर सम्बाददाता  62 पटक हेरिएको
🔗
59
Shares

सर्लाही : सर्लाहीको चुरेवर्ती क्षेत्रका बासिन्दा वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्न बाध्य छन् । हिउँदमा पानीका मुहान सुक्ने र वर्षा याममा बाढीले खानेपानीका संरचना बगाउने समस्याका कारण स्थानीयले वर्षभरि नै सुरक्षित खानेपानी पाउन सकेका छैनन् ।

चुरेभेगका घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला र ढुङ्ग्रे खोला लगायत क्षेत्रमा खानेपानीको समस्या विकराल रहेको स्थानीयको गुनासो छ । वर्षायाममा खोलामा आउने बाढीले खानेपानीका इन्टेक तथा पाइप बगाउने गरेको छ भने हिउँदमा मुहान र कुवा सुक्दा पानीको जोहो गर्नै कठिन हुने गरेको छ ।

लालबन्दी नगरपालिका–१५, भित्री खोलाका तिलक योञ्जनले वर्षायाममा बाढी पसेर कुवामा बालुवा भरिने र पानी धमिलो हुने समस्या रहेको बताउनुभयो । उहाँका अनुसार हिउँदमा कुवा सुक्ने र बर्खामा बाढी पसेर पानी दूषित हुने भएकाले स्थानीयले स्वच्छ खानेपानी पाउन सकेका छैनन् । उहाँले भन्नुभयो, “हिउँदमा कुवा सुक्छ, बर्खामा बाढी पसेर कुवाको पानी पिउन योग्य हुँदैन ।”

चुरे भेगका अधिकांश बस्तीका बासिन्दा अहिले पनि कुवा, जरुवा, पाखा तथा खोलाको पानीमा निर्भर छन् । चुरेको फेदीमा खोलाबाट इन्टेक राखेर पाइपमार्फत बस्तीमा पानी पुर्‍याउने र ठाउँठाउँमा धारा निर्माण गरी वितरण गर्ने गरिएको भए पनि वर्षायाममा धारामा समेत धमिलो पानी आउने गरेको स्थानीय बताउँछन् ।

केही स्थानमा स्थानीय तहले लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याउने प्रयास गरे पनि भौगोलिक विकटताका कारण धेरै बस्तीमा अझै खानेपानी सुविधा विस्तार हुन सकेको छैन । स्थानीयका अनुसार खानेपानीको अभाव चुरे क्षेत्रको प्रमुख समस्याका रूपमा रहेको छ ।

ईश्वरपुर नगरपालिका–१२, लामीदमारका प्रेमबहादुर बलले खानेपानी र सडकको समस्या वर्षौंदेखि समाधान हुन नसकेको बताउनुभयो । खोलाको दूषित पानी पिउनु पर्दा गाउँलेहरू पटक–पटक पानीजन्य सङ्क्रमणबाट प्रभावित हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खोलाको विकट ठाउँ भएकाले खोला, खोल्साको पानी पिउनुको विकल्प छैन । दूषित पानी पिउँदा बारम्बार गाउँले बिरामी परिरहन्छन् ।”

खानेपानीको जोहो गर्न स्थानीय झिसमिसेमै कुवा र खोला खोल्सामा पुग्नुपर्ने बाध्यता छ । धारामा सीमित मात्रामा पानी आउने बस्तीमा पानी भर्ने विषयलाई लिएर स्थानीय बीच पटक–पटक विवाद र झै झगडा समेत हुने गरेको छ ।

अर्को तर्फ, चुरे भेगका विभिन्न स्थानमा सङ्घ, प्रदेश र स्थानीय सरकारले लाखौँ रुपैयाँ खर्च गरेर निर्माण सुरु गरेका खानेपानी आयोजना अलपत्र परेको स्थानीयको आरोप छ । बजेट विनियोजन भएर खर्च भए पनि आयोजना सम्पन्न नहुँदा त्यसको लाभ समुदायले लिन नसकेको उनीहरूको गुनासो छ । कतिपय आयोजना बजेट खर्च गर्ने माध्यम मात्र बनेको स्थानीयको आरोप छ ।

यद्यपि, चुरे क्षेत्रका सबै बस्तीमा खानेपानीको अवस्था उस्तै छैन । हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर तामाङले चालु वर्षभित्र आफ्नो वडाका शत प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ ।

निर्वाचित भएर आएपछि चुरे डाँडापाखाका अधिकांश बस्तीमा पानीको मुहान पहिचान गरी लिफ्टिङ प्रविधिबाट खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) लगायतका निकायबाट पटक–पटक बजेट प्राप्त भएकाले वडामा खानेपानी सेवा विस्तार गर्न सहज भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले सबैभन्दा धेरै बजेट खानेपानीमै खर्च गरेकाले चुरेभेगका अन्य ठाउँमा जस्तो समस्या छैन ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार