
काठमाडौं : सहरव्यापी समावेशी सरसफाइ (CWIS) सफलतापूर्वक कार्यान्वयन गरिरहेका सहर र त्यसमा संघर्ष गरिरहेका सहर बीच के फरक छ? लगानी, सुशासन, नियमन, तथ्यांक तथा अनुगमन र जवाफदेहिताका क्षेत्रमा सफल सहरबाट अन्य सहरले के सिक्न सक्छन्?
काठमाडौंमा आयोजित ‘सहरव्यापी समावेशी सरसफाइ राष्ट्रिय सिकाइ सम्मेलन २०२६’ अन्तर्गत उच्चस्तरीय राउण्ड टेबल छलफलमा संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याबिट्याट) की नेस्नल प्रोफेस्नल अफिसर (NPO WASH ) सुधा श्रेष्ठले विश्वव्यापी सरसफाइ नेतृत्वकर्ता एवं विश्व शौचालय संगठन (WTO) का अध्यक्ष डा. रोशन राज श्रेष्ठ समक्ष यी प्रश्न राख्नुभयो।

प्रश्नको जवाफ दिँदै डा. श्रेष्ठले CWIS विस्तारका लागि सबै सहरले एउटै मोडल अपनाउनु भन्दा प्रत्येक सहरका सफल अभ्यास पहिचान गरी एक अर्काबाट सिक्ने र त्यसलाई संस्थागत गर्दै विस्तार गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार कुनै सहर गरिब तथा सीमान्तकृत समुदायलाई सरसफाइ सेवा पुर्याउन अब्बल हुन सक्छ भने अर्को सहर नियमन, निजी क्षेत्रको परिचालन वा व्यवस्थापकीय पक्षमा राम्रो हुन सक्छ। त्यसैले कुनै एउटा सहरलाई CWIS को पूर्ण नमुना मान्नुभन्दा विभिन्न सहरका सफल अभ्यास पहिचान गरेर तिनलाई एकीकृत गर्नुपर्ने उहाँको भनाइ थियो।
‘कुन सहरले के राम्रो गरिरहेको छ भन्ने कुरा पहिले पहिचान गर्नुपर्छ। कुनै सहरले एउटा पक्षमा राम्रो काम गरिरहेको हुन सक्छ भने अर्को सहरले अर्को पक्षमा। ती सबैका राम्रा अभ्यासलाई एक ठाउँमा ल्याउन सके समग्र CWIS कार्यान्वयनको प्रभावकारी ढाँचा बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो।

उहाँले नेपालका सात सहरमा भइरहेको CWIS कार्यान्वयनलाई पनि एक अर्कासँग जोडेर सिकाइ आदानप्रदान गर्नुपर्ने बताउनुभयो। सातै सहरका आआफ्नै विशेषता र कार्यान्वयनका अभ्यास रहेकाले ती अभ्यासलाई साझा सिकाइका रूपमा विकास गर्न सके अन्य सहरमा समेत विस्तार गर्न सकिने उहाँको धारणा थियो।
भारतको ओडिशा देखि अफ्रिकासम्मका उदाहरण
डा. श्रेष्ठले सरसफाइ क्षेत्रमा राजनीतिक नेतृत्व, प्रशासनिक प्रतिबद्धता र प्रभावकारी नियमनले परिवर्तन ल्याउन सक्ने उदाहरणका रूपमा भारतको ओडिशा राज्यलाई प्रस्तुत गर्नुभयो।
उहाँका अनुसार करिब एक दशक अघि भारतका तुलनात्मक रूपमा गरिब राज्यहरू मध्ये पर्ने ओडिशामा तत्कालीन मुख्यमन्त्री नवीन पटनायकको नेतृत्व र वरिष्ठ कर्मचारीतन्त्रको सक्रियतामा सरसफाइका कामलाई व्यवस्थित रूपमा अघि बढाइएको थियो।

ओडिशाले सरसफाइ सम्बन्धी नियमनका विषयमा मलेसियाबाट समेत सिकेको उल्लेख गर्दै उहाँले त्यहाँबाट प्राप्त अनुभवलाई तत्काल कार्यान्वयनमा लगिएको बताउनुभयो। नियमन, निजी क्षेत्रको परिचालन र फोहोर व्यवस्थापनका विभिन्न अभ्यासलाई अघि बढाउँदै जाँदा अहिले ओडिशाका विभिन्न सहरमा CWIS का सिद्धान्त अनुसारका काम विस्तार भएको उहाँले उल्लेख गर्नुभयो।
अफ्रिकाका उदाहरण दिँदै उहाँले सरसफाइ क्षेत्रमा काम गर्ने श्रमिकहरू कसरी उद्यमीका रूपमा स्थापित भइरहेका छन् भन्ने अनुभव पनि सुनाउनुभयो।
युगान्डामा एक महिला ठूलो ट्रक चलाएर सरसफाइ तथा फोहोर व्यवस्थापनको कामबाट राम्रो आम्दानी गरिरहेको र आफ्नो अनुभव अन्य अफ्रिकी देशका सरसफाइकर्मीसँग समेत बाँडिरहेको उदाहरण दिँदै उहाँले सरसफाइ क्षेत्रमा काम गर्ने श्रमिकको सीप र क्षमतालाई पहिचान गर्नुपर्ने बताउनुभयो।
त्यस्तै, लामो समयदेखि सरसफाइ तथा फोहोर व्यवस्थापनमा काम गर्दै आएका एक श्रमिक नेतृत्वकर्ता अहिले सफल उद्यमीका रूपमा स्थापित भएको उदाहरण प्रस्तुत गर्नुभयो। सरसफाइ क्षेत्रमा काम गर्ने श्रमिक, सूक्ष्म उद्यमी, महिला तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई पनि सफल अभ्यास र अनुभव सुनाउने अवसर दिनुपर्ने उहाँको भनाइ थियो।
‘हामीले सरसफाइ क्षेत्रमा काम गर्ने व्यक्तिलाई व्यावसायिक जनशक्तिका रूपमा हेर्नुपर्छ। उनीहरूका अनुभव र सफलता बारे अन्य सहरले पनि सिक्न पाउनुपर्छ,’ उहाँले भन्नुभयो।
पाइलट परियोजनाको सफलताले मात्र विस्तार सम्भव हुँदैन
डा. श्रेष्ठले सरसफाइ क्षेत्रमा सञ्चालन भएका पाइलट परियोजनाका उपलब्धिलाई मात्र आधार बनाएर त्यसलाई सफल अभ्यासका रूपमा विस्तार गर्न नहुने बताउनुभयो। कुनै परियोजना एक वा दुई वर्ष सञ्चालन हुँदैमा त्यसको दीर्घकालीन प्रभाव र दिगोपना सुनिश्चित नहुने उहाँको भनाइ थियो।

‘हामीले सिकाइका कुरा गर्दा प्रायः एक वा दुई वर्षका अनुभवलाई आधार बनाउने गरेका छौँ। तर पाइलट परियोजना सफल भयो भन्दैमा त्यसले दीर्घकालीन रूपमा काम गर्छ भन्ने हुँदैन,’ उहाँले भन्नुभयो।
CWIS लाई प्रभावकारी रूपमा विस्तार गर्न प्रमाणमा आधारित विश्लेषण आवश्यक पर्ने उहाँले बताउनुभयो। यसका लागि विश्वविद्यालय, प्राज्ञिक संस्था र अनुसन्धानकर्तालाई सरसफाइ क्षेत्रको सिकाइ प्रक्रियामा संलग्न गराउनुपर्ने उहाँको धारणा थियो।
सम्मेलनकै क्रममा प्रस्तुत गरिएको इन्टरनेसनल लर्निङ वीक सम्बन्धी अनुसन्धान पत्रलाई उल्लेख गर्दै उहाँले यस्ता अध्ययन तथा अनुसन्धानले सफल अभ्यास पहिचान गर्न, त्यसबाट सिक्न र अन्य सहरमा विस्तार गर्न सहयोग पुर्याउने बताउनुभयो।
विश्वविद्यालयका विद्यार्थीलाई नगरपालिकाको सरसफाइमा जोड्नुपर्ने
डा. श्रेष्ठले नगरपालिकामा दक्ष प्राविधिक जनशक्ति र विज्ञको अभाव रहेको अवस्थामा विश्वविद्यालयका विद्यार्थी तथा इन्टर्नको ज्ञान र सीप उपयोग गर्न सकिने नयाँ उपाय पनि प्रस्तुत गर्नुभयो।
उहाँका अनुसार नेपालमा व्यवस्थापन, इन्जिनियरिङलगायत विभिन्न विषयमा उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई नगरपालिकाको सरसफाइ योजना, डिजाइन तथा कार्यान्वयन प्रक्रियामा जोड्न सकिन्छ।
‘नगरपालिकासँग पर्याप्त स्रोतसाधन नहुन सक्छ। उनीहरूले आवश्यक विज्ञ नियुक्त गर्न नसक्ने अवस्था पनि हुन सक्छ। यस्तो अवस्थामा विश्वविद्यालयका विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गरेर उनीहरूको ज्ञान र सीप उपयोग गर्न सकिन्छ,’ उहाँले भन्नुभयो।

विशेष गरी AIT मा सञ्चालन भइरहेको ग्लोबल सेनिटेसन ग्राजुएट स्कुलमा अध्ययनरत विद्यार्थीको ज्ञान र सीपलाई नेपालको सरसफाइ क्षेत्रसँग जोड्न सकिने उहाँको भनाइ थियो।
त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले आफ्नो देशका लागि केही योगदान गर्न चाहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई तीन देखि छ महिनासम्म नगरपालिकामा इन्टर्नका रूपमा काम गर्ने अवसर दिन सकिने बताउनुभयो।
यसबाट एकातिर नगरपालिकाले आवश्यक प्राविधिक सहयोग प्राप्त गर्ने र अर्कोतिर विद्यार्थीले व्यवहारिक अनुभव हासिल गर्ने उहाँको धारणा थियो। यस्तो अभ्यास एआईटीमा मात्र सीमित नराखी नेपालका अन्य विश्वविद्यालयसँग पनि सहकार्य गरेर अघि बढाउन सकिने उहाँले बताउनुभयो।
उहाँले नगरपालिकालाई आवश्यक पर्ने प्राविधिक सहयोगका लागि युवा जनशक्तिको ज्ञान र सीप परिचालन गर्न सके सीमित स्रोत साधनमै पनि सरसफाइका योजना तथा कार्यक्रम अघि बढाउन सहयोग पुग्ने बताउनुभयो।
सिकाइलाई शैक्षिक तथा व्यावसायिक प्रणालीमा संस्थागत गर्नुपर्ने
डा. श्रेष्ठले सरसफाइ क्षेत्रमा धेरै सिकाइका मञ्च र सञ्जाल निर्माण भए पनि ती मञ्चलाई निरन्तर सञ्चालन गर्न र त्यहाँबाट प्राप्त ज्ञानलाई संस्थागत गर्न नसकिए अपेक्षित उपलब्धि हासिल नहुने बताउनुभयो।
उहाँले ग्लोबल सेनिटेसन ग्राजुएट स्कुलको उदाहरण दिँदै सरसफाइ सम्बन्धी सफल अभ्यास र ज्ञानलाई विश्वविद्यालयको शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा राख्नुभयो।
‘हामीसँग पटक पटक एउटै काम गर्न पर्याप्त बजेट हुँदैन। त्यसैले अहिले भएका सफल अभ्यासलाई शैक्षिक र व्यावसायिक कार्यक्रममा संस्थागत गर्नुपर्छ, ताकि ती अभ्यास हामीले निरन्तर लगानी नगरे पनि अघि बढिरहून्,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार सरसफाइ सम्बन्धी ज्ञान र अनुभवलाई विश्वविद्यालय, व्यावसायिक तालिम तथा अन्य शैक्षिक प्रणालीमा समावेश गर्न सके नयाँ पुस्ताले पनि त्यसलाई निरन्तरता दिन सक्छ। यसले सीमित स्रोत साधनका बीच पनि सफल अभ्यासलाई अन्य सहर तथा समुदायसम्म पुर्याउन सहयोग गर्नेछ।
उहाँले सरसफाइ क्षेत्रमा काम गर्ने दक्ष श्रमिक, सूक्ष्म उद्यमी, महिला तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई समेत आफ्ना अनुभव र सफलताबारे बोल्ने अवसर दिनुपर्ने बताउनुभयो। उनीहरूको सीप, ज्ञान र अनुभवलाई अन्य सहरले सिक्ने तथा अपनाउने वातावरण बनाउन सके सरसफाइ सेवाको दायरा विस्तार गर्न ठूलो लगानी नै आवश्यक नपर्न सक्ने उहाँको भनाइ थियो।
डा. श्रेष्ठले नेपालका सात सहरमा भइरहेको CWIS सम्बन्धी सिकाइलाई अन्य सहरसम्म विस्तार गर्न पनि यस्तै उपाय अपनाउन सकिने बताउनुभयो। त्यसका लागि स्थानीय सरकार, विश्वविद्यालय, सरसफाइ क्षेत्रका व्यावसायिक जनशक्ति र उद्यमीबीच सहकार्य तथा ज्ञान आदानप्रदानको संयन्त्र विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


104 पटक हेरिएको 

