म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकामा सुरु भएको बृहत चिमखोला –भगवती–पिप्ले खानेपानी आयोजनाको काम सुस्ताएको छ । संघीय संरचनामा कुन सरकार मातहत सञ्चालन गर्ने भन्ने कुरामा अलमल हुँदा गौरवको आयोजनाको पूर्वाधार निर्माणमा ढिलाइ भएको हो ।
संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराबाट जम्मा २५ लाख २२ हजार बजेट विनियोजन भएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ ।
रघुगंगा गाउँपालिका – २ राखु भगवती र राखु पिप्लेका १० हजारभन्दा बढी जनताका लागि ‘एक घर एक धारा’ अवधारणा अनुसार सो आयोजना सुरु गरिएको हो । खानेपानी आयोजना निर्माणमा बजेट अभावको कारण अन्यौल देखिएको हो । तत्कालीन खानेपानी तथा सरसरफाइ सब–डिभिजन कार्यालय म्याग्दीले गौरवको आयोजनाको रूपमा सो योजनाको आर्थिक वर्ष ०७३/७४ सालमा विस्तृत सर्भे र नापजाँच गरेको थियो ।

सर्भे भएको दुई वर्ष बितिसक्दा समेत आयोजनाको प्रगति न्यून छ । सो आयोजनामा गत वर्षदेखि पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय म्याग्दीबाट १७ लाख बजेट विनियोजन भई मुहान ट्यांकी र केही मिटर पाइप गाडिएको थियो ।
यो वर्षका लागि संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराबाट जम्मा २५ लाख २२ हजार बजेट विनियोजन भएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराका इन्जिनियर इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो ।
रघुगंगाको वडा नं. २ र ३ को प्रत्येक घरमा खानेपानी पु-याउने योजना भएको सो आयोजना सम्पन्न गर्न ३५ करोड लागत अनुमान गरिएको छ । करोडौंको बजेट आवश्यक पर्ने भए पनि संघीय सरकारबाट थोरै बजेट विनियोजन भएकोले सम्बन्धित कार्यालयमा पर्याप्त बजेट बिनियोजनका लागि पहल भइरहेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।


1108 पटक हेरिएको 

