तेह्रथुम : घर तलतिर तमोर एकनासले बगिरहन्छ । त्यही तमोर तीरमै रहेको बस्ती ओख्रेमा खानेपानीको हाहाकार छ । तेह्रथुमको छथर गाउँपालिका ५ ओख्रे लामकटेरीकी रामकुमारी रोक्कालाई कहिलेकाही त तमोरको पानी उकालो बगेपनि हुने नि झैं लाग्छ । तर रोक्कालाई लागेजस्तो तमोर किन उकालो बगोस् र ?

हो तमोर उकालो बग्दैन । सरकारी निकाय र विभिन्न संघसंस्थाले तमोरलाई उकालो बगाउने प्रयत्न पनि गरेका छैनन् । अरु बस्तीमा बस्ती तलतिरको पानी तानेर खानेपानी उपलब्ध गराएको भन्ने सुनेका यहाँका बासिन्दालाई तमोरको पानी पिउन पाउने कुरा धेरै परको कथा जस्तै बनेको छ ।
त्यसैले छथर–५ ओख्रे लामकटेरीको दलित बस्तीमा छथर–६ सुदापमा रहेको गोर्खेधाराबाट एक बिहानमा एक ग्रागी पानी बोकेर खानुपर्ने बाध्यता छ । पानीको मुहान सुकेपछि यहाँका दलितको समस्या झनै जटिल बन्दै आएको ५८ वर्षीया रामकुमारी रोक्काले बताउनुभयो ।
खानेपानीको समस्याले बर्षेनी बसाइँ सर्ने क्रम बढ्दो छ । गाउँपालिकाको फाक्चामारा, ओख्रे, पञ्चकन्याका नागरिक खानेपानीको समस्याले बर्षेनी पिरोलिँदै आएका छन् । गाउँपालिकाले स्थानीयको समस्या समाधानका लागि डिपबोरिङ प्रविधिबाट लाखौं रुपैयाँ खर्चेर पानी निकाले पनि समस्याको समाधान भएको छैन ।
गाउँपालिकाले २ लाख १६ हजार बराबरको ट्यांकी निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । उहाँका अनुसार साथै सबै वडामा मिटर जडान गरी ट्यांकीबाट पानी वितरणको तयारी भइरहेको छ ।
जलवायु परिर्वतनका कारण पानीको मुहान सुक्न थालेसँगै नागरिकलाई खानेपानी तथा सिँचाइ गर्न समेत सकस भएको छ । बोटबिरुवा सुकेर उराठ लाग्दो देखिन थालेको छ । खानेपानी समस्या समाधानका लागि स्थानीय सरकारले दीर्घकालीन योजना निर्माण गरी खानेपानी ब्यवस्थापन गर्नुपर्ने छथर–५ का टेकराज तिगेलाले बताउनुभयो ।


850 पटक हेरिएको 

