दैलेख : लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको दैलेखको नौमूले गाउँपालिका–३ छिहिरामा खानेपानी आयोजनाको काम सुरु भएको छ । झण्डै ४७ लाख लागतमा झरना खानेपानी तथा सरसफाइ योजनाको काम सुरु भएको हो ।
नौमूले गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजीकरणमा खानेपानी आयोजना सुरु भएको हो ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको ग्रामीण बस्तीमा खानेपानी आयोजना सुरु भएसँगै हर्षित बनेका छन् । लामो समयसम्म खानेपानीको समस्या झेल्दै आएका बासिन्दाले घर आँगनमै खानेपानी आउने भएपछि बर्षौदेखिको सपना पूरा हुने झरना खानेपानी तथा सरसफाइ योजना उपभोक्ता समितिका सचिव दिपेन्द्र खत्रीले बताउनुभयो ।
४६ लाख ९९ हजार ३ सय ३३ रुपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न हुने कार्यक्रमका फिल्ड संयोजक हरिकृष्ण थापाले बताउनुभयो। संयोजक थापाका अनुसार समुदायको १४ लाख ६४ हजार ५ सय ५९ रुपैँया श्रमदान, नौमूले गाउँपालिकाको ९ लाख ३९ हजार ८ सय ६६ रुपैँया, नेपाल सरकारको ११ लाख २४ हजार ५ सय ४ रुपैँया र फिन्ल्याण्ड सरकारको ११ लाख ७० हजार ४ सय २ रुपैँया खानेपानी आयोजनामा लगानी छ ।
उहाँका अनुसार ४१ घरधुरीका लागि २८ वटा धारा निर्माण गरिनेछ । हाल पाइप लाइनको काम धमाधम भइरहेको छ । बस्तीमा परियोजनाबाट २८ धारा, ५ वटा इन्टेक र २ वटा ट्यांकी निर्माण गरिनेछ भने ८ हजार २८ मिटर मुख्य पाइप बिछ्याइनेछ । समुदायको जीविकोपार्जनमा सहजता ल्याउनका लागि परियोजनावाट कृषिसम्बन्धी क्षमता अभिवृद्धि तालिम लगायत बीऊ बिजन वितरण गरिएको छ ।
सरससफाइका क्षेत्रमा भाँडा राख्ने चाङ, भाँडा धुने, खेर गएको पानीको प्रयोग, फोहर फाल्ने साधन, घरायसी सरसफाइ लगायतका क्रियाकलाप सञ्चालन भएको सरसफाइ स्वास्थ्य प्रवद्र्धक देवी सापकोटाले बताउनुभयो ।
सम्झौता अनुसार ०७६ मंसिर सम्पन्न आयोजना सम्पन्न गर्नुपर्नेछ । तर कामको रफ्तार हेर्दा सम्झौता मिति अगावै अर्थात आगामी असार मसान्तसम्ममा काम सक्ने लक्ष्य रहेको फिल्ड संयोजक हरिकृष्ण थापाले बताउनुभयो ।


900 पटक हेरिएको 

