काठमाडौ : कुनै बस्ती, वडा, गाउँपालिका तथा नगरपालिका र जिल्ला नै खुला दिसामुक्त घोषणा भएपछि सम्बन्धित वार्ड वाससीसी, भीवाससीसी, एमवाससीसी तथा डिवाससीसीको सरसफाइ प्रतिको जिम्मेवारी नै सकियो त ? होइन, अझ जिम्मेवारी थपिन्छ ।
सम्बन्धित समुदाय, वडा, गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने काम सरसफाइको पहिलो चरणको काम हो । दोस्रो चरणमा पूर्ण सरसफाइ अभियान सुरु हुन्छ । हरेक घरमा पाँच प्लस १ सूचक पूरा भएपछि मात्र पूर्ण सरसफाइउन्मुख वडा, गाउँपालिका वा नगरपालिका घोषणा गर्न सकिन्छ ।
खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) ले भने पूर्ण सरसफाइ कार्यक्रमका लागि ‘स्वस्थ घर सर्वेक्षण निर्देशका’ नै निर्माण गरी काम गर्दै आएको छ । निर्देशिकामा स्वस्थ घर सर्वेक्षणद्वारा घरहरुको स्तर निर्धारण गरी सम्बन्धित वडा, गाउँपालिका तथा नगरपालिकालाई पूर्ण सरसफाइ घोषणा गर्दै लैजानुपर्ने प्रावधान राखिएको छ ।
यसरी गरिन्छ स्वस्थ घर सर्वेक्षण
– समुदायका घरहरुलाई सरसफाइको दृष्टिले ‘क’ ‘ख’ र ‘ग’ गरी तीन बर्गमा छुटाई सरसफाइको स्तर पहिचान गरिन्छ ।
घरको बर्ग छुट्याउँदा निर्देशिकामा दिएको स्वस्थ घर सर्वेक्षण फारामका सूचकांकलाई आधार मानी सोही अनुसार प्राप्त गरेको अंक भार बमोजिम ७० वा सो भन्दा माथि अंक प्राप्त गर्ने घरलाई ‘क’ बर्गको घर अर्थात स्वस्थ घरको दर्जामा समावेश गरिन्छ । ‘क’ बर्गको घरलाई हरियो स्टिकरले संकेत गरिन्छ ।
– त्यसैगरी ४० देखि ६९ अंक प्राप्त गर्ने घर ‘ख’ बर्गको घर अर्थात सरसफाइ सुधारोन्मुख घरको दर्जामा समावेश हुनेछ । यस्तो घरलाई पहेंलो स्टिकरले संकेत गरिन्छ । सोही प्रकारले शून्य देखि ३९ अंक प्राप्त गर्ने घर ‘ग’ बर्गको घर अर्थात सरसफाइमा कमी भएको घरको सूचीमा समावेश हुनेछ । यस्तो घरलाई रातो स्टिकरले संकेत गरिन्छ ।

– स्वस्थ घर सर्वेक्षण प्रत्येक चार महिनामा एक पटक गर्नुपर्दछ ।
– सुरुमा गरिने सर्वेक्षणलाई आधारभूत सर्वेक्षण र त्यसपछि गरिने सर्वेक्षणलाई मूल्यांकन सर्वेक्षणको रुपमा लिइनेछ ।
सर्वेक्षण गर्दा यस निर्देशिकामा दिइएको स्वस्थ घर सर्वेक्षण फाराममा उल्लेख सूचकांक बमोजिम गर्नुपर्नेछ ।


– वास मोटिभेटर वा वास ट्रिगररले स्वस्थ घर सर्वेक्षण गरिसकेपछि स्वास्थ्य तथा सरसफाइ सर्वेक्षण मूल्याङ्कन समितिलाई उक्त फाराम प्रतिवेदन उपलब्ध गराउनुपर्नेछ र एक प्रति गाउँपालिका, नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा पेश गर्नुपर्नेछ ।
– स्वस्थ घर सर्वेक्षण मूल्यांकन समितिले स्वस्थ घर सूचकका आधारमा मूल्याङकन गरी कुन घरका लागि कुन स्टिकर टाँस्ने भन्ने तय हुनेछ ।
– उक्त स्टिकर टाँस गर्ने जिम्मेवारी सम्बन्धित डब्लुवाससीसीसँगको समन्वय र सम्भव भएसम्म उक्त समितिको प्रतिनिधित्व हुने गरी स्वस्थ घर सर्वेक्षण मूल्याङ्कन समितिको हुनेछ
– स्वस्थ घर सर्वेक्षण गर्ने यो कार्यविधिले समुदायका प्रत्येक घरको सरसफाइमा सुधार ल्याउँदै ग बर्गको (सरसफाइमा कमी भएको घर) तथा ख बर्गको (सरसफाइ सुधारोन्मुख घर) लाई क बर्गको (स्वस्थ घर) मा स्तरोन्नति गर्दै पूरै गाउँपालिका/नगरपालिका, वडालाई नै पूर्ण सरसफाइयुक्त बनाउन सकिनेछ र स्वस्थ घर सर्वेक्षणको अन्तिम लक्ष्य पूरा भएको मानिनेछ ।
स्वस्थ घर सर्वेक्षणबाट गरिएको अपेक्षा
स्वस्थ घर सर्वेक्षणको यस विधिले समुदायमा ‘ग’ बर्गको घरबाट ‘ख’ बर्गमा स्तरोन्नति तथा ‘ख’ बर्गको घरबाट ‘क’ बर्गमा स्तरनोन्नति हुने पद्धतिले समुदायका मानिसहरुमा सरसफाइ प्रबर्धनका लागि दिगो रुपले लाग्न उत्प्रेरणा जगाउनुको साथै स्वस्थ तथा सरसफाइ प्रति सचेत बन्नका लागि स्वस्थ प्रतिस्पर्धाको विकास हुनेछ ।
स्वस्थ घर सर्वेक्षणको यो कार्यले सम्बन्धित समुदायमा काम गर्ने वा मोटिभेटर वास प्राविधिक र वास ट्रिगररलाई स्वास्थ्य तथा सरसफाइमा सुधार ल्याउन कुन घरमा बढी समय दिनुपर्ने हो वा कहाँ बढी सहयोग वा जोड दिनुपर्ने हो सो को एकीन गरी कार्य गर्न मद्दत पुग्नेछ ।
त्यसैगरी यस कार्यले स्वास्थ्य घर सर्वेक्षण मुल्यांकन समिति, भीवाससीसी तथा एमवाससीसी र गाउँपालिका तथा नगरपालिकाका वडालाई पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम, नीति तथा रणनीति तय गर्न समेत सघाउ पुग्नेछ ।
यस्तो कार्यको सकारात्मक प्रभाव छिमेकी, गाउँपालिका तथा नगरपालिकाहरुमा समेत पर्न गई ती निकायहरुले समेत यस्तो विधि स्वस्फूर्त रुपमा अनुसरण गर्दै जानेछन् र यसले क्रमशः समग्र जिल्लालाई नै सरसफाइयुक्त जिल्ला घोषणा गर्न मद्दत पुराउनेछ ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले तयार पारेको स्वस्थ घर सर्वेक्षण निर्देशिकाबाट ।
स्वस्थ घर सर्वेक्षण मूल्याङ्कन समिति गठन प्रक्रिया, समितिको कार्यविवरण, कार्यान्वयन प्रक्रिया तथा स्वस्थ घर सर्वेक्षण फारम भर्दा ध्यान दिनुपर्ने कुराहरु लगायत सामग्री श्रृंखलाबद्ध रुपमा प्रकाशन गर्दै लानेछौं । वास खबर लगइन गरिरहनुहोला ।


3001 पटक हेरिएको 

