
काठमाडौ : काठमाडौ महानगरपालिका वडा नं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा आकाशेपानी संकलन गर्ने प्रविधि जडान गरिएको छ । विद्यालय भवनको छतको पानी संकलन गरी सरसफाइमा प्रयोग गर्न आकाशेपानी संकलन प्रविधि जडान गरिएको हो ।
यसरी जम्मा हुन्छ पानी
संकलित प्रविधिबाट विद्यालय भवनको छतको पानी पाइपको माध्यमबाट -यापिड स्यान फिल्टर हुँदै जमिन मुनि बनाएको ट्याङ्कीमा जम्मा हुन्छ । -यापिड स्यान फिल्टरमा भवनको छतबाट बगेर आउने पातपतिङ्गर, धुलो तथा पंक्षीको विष्टाहरु छानिन्छन् । त्यसपछि जमिनमुनि बनाएको २५ हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा हुन्छ ।
विद्यालय भवनको २ हजार वर्गफिट क्षेत्रफलमा पर्ने आकाशे पानी ट्याङ्कीमा जम्मा हुन्छ । संकलित पानीलाई पानी तान्ने मोटरको सहायताले फेरि ओभरहेड ट्याङ्कीमा चढाइन्छ ।

ओभरहेड ट्याङ्कीमा जम्मा भएको पानीलाई पाइपको माध्यमबाट हरेक शौचालयमा आपूर्ति हुन्छ । ट्याङ्कीमा संकलित केही अंश पानी खानेपानीका लागि समेत प्रयोग गर्न मिल्ने संयन्त्र जडान गरिएको सहयोगी संस्था गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
इन्टरनेशनल रेन वाटर हार्भेस्टिङ एलायन्स (IRHA) को आर्थिक तथा गुथी संस्थाको प्राविधिक सहयोगमा आकाशेपानी संकलन प्रविधि जडान गरिएको हो । यो प्रविधि जडान गर्न करिब १२ लाख रुपैयाँ खर्च भएको गुथीका प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिनुभयो ।
आकाशेपानी संकलन गर्ने प्रविधि जडान भएपछि खानेपानीमा हुने खर्च जोगिने जनप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक सतेन्द्रलाल कर्णले बताउनुभयो । विद्यालयमा करिब ५०० छात्रछात्रा अध्ययनरत छन् ।
विद्यालयमा जडान गरिएको आकाशेपानी संकलन प्रविधिको हालै काठमाडौ क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठले उदघाटन गर्नुभयो ।



1407 पटक हेरिएको 

