दिक्पाल गिरी, काठमाडौ ३१ वैशाख । आज भइरहेको स्थानीय तहको चुनावका कारण मेलम्ची खानेपानी आयोजनाको काम भोलिसम्मका लागि स्थगित गरिएको छ । मेलम्चीको सुरुङ खन्ने काम हिजो शनिबार देखि नै बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका उप कार्यकारी निर्देशक ज्योति कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘हाम्रा कामदारहरु पनि भोट हाल्न गएका छन् त्यसैले भोलि सोमबारसम्मका लागि सुरुङ निर्माणको काम स्थगित गरिएको छ’ श्रेष्ठले भन्नुभयो ।
यस्तै आयोजना कार्यान्वयन निर्देशनालय मेलम्ची उप –अयोजना २ अन्तर्गत भइरहेका कामहरु समेत भोलि बेलुका सम्मका लागि स्थगित गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला प्रसाद ढकालले जानकारी दिनुभयो । आयोजना कार्यान्वयन निर्देशनालय, मेलम्ची उप–आयोजना २ अन्तर्गत थोक वितरण प्रणाली, वितरण सञ्जाल र पानी पोखरी निर्माण भइरहेका छन् ।
चुनावमा भोट हाल्न गएका कर्मचारी तथा कामदार फर्किएपछि पर्सिदेखि काम सुचारु हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।