नीति तथा कार्यक्रम :चार बर्षभित्र आधारभूत स्तरको खानेपानी सेवा

काठमाडौ : सरकारले आधारभूत स्तरको खानेपानी सुविधा आगामी चार बर्षभित्र सबै नेपालीको पहुँचमा पु-याउने घोषणा गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७६/०७७ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा आधारभूत स्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शतप्रतिशत जनसङ्ख्याको पहुँचमा पु-याइने उल्लेख छ ।

यस्तै निर्माणाधीन खानेपानी आयोजनाहरू सम्पन्न गरी तराईका जिल्लामा आर्सेनिमुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने, पिउने पानी निर्यात गर्ने व्यवसायलाई प्रवर्द्धन गरिने, जलाधार क्षेत्र संरक्षण र अनियन्त्रित भूमिगत पानीको दोहनलाई नियन्त्रण गर्ने उल्लेख छ । नीति तथा कार्यक्रममा खानेपानी वितरण प्रणाली तथा ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन नियामक तथा सेवा प्रदायक निकायहरूको संस्थागत पुनर्संरचना गरिने उल्लेख छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हालसम्म करिब ८३ प्रतिशत नागरिकले आधारभूत स्तरको खानेपानी उपभोग गर्न पाएका छन् ।

तर सरसफाइ गुरुयोजनाले भने सन् २०१७ भित्रै हरेक नेपालीलाई आधारभूत स्तरको खानेपानी र सरसफाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार