रामेछाप : धरौटी रकमको अभाव हुँदा रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालन हुन लागेको कात्तिके लिफ्ट खानेपानी आयोजनाको काम सुरु हुन सकेको छैन । आयोजनाबाट लाभान्वित हुने दुई वडाका उपभोक्ताबाट कूल लागतको एक प्रतिशत अर्थात् २० लाख धरौटी जम्मा गर्न नसक्दा काम अगाडि बढाउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष गौतम कुमार श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले भने आयोजनाको धरौटी रकम उपभोक्ता समितिबाटै जम्मा गर्नुपर्ने भएकाले विकास बजेटबाट दिन नीतिगत समस्या आउने जनाएको छ ।
सरकारको सुख्खा क्षेत्र कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा करिब २० करोड रुपैयाँको लागतमा लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्ने प्रदेश नं ३ सरकारको योजना छ । आयोजनाबाट लाभान्वित हुने करीब ८०० घर परिवारबाट एक हजार ५ सय रुपैयाँका दरले संकलन गर्दा पनि धरौटीका लागि पर्याप्त नभएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उपभोक्ताबाट सङ्कलित १२ लाख रुपैयाँमा थप हुने गरी केही सहयोग गरिदिन नगरपालिकालाई आग्रह गरे पनि नगरपालिकाले बेवास्ता गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नगर कार्यपालिकाको बैठकमै आयोजनाको काम अघि बढाउन पाँच लाख सहयोगको प्रस्ताव लगे पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
उहाँले स्थानीय तह लगायत अन्य दातृ निकाय र समाजसेवीलाई समेत सहयोगको अपिल गरेको बताउनुभयो । नगरपालिकाले भने आयोजनाको धरौटी रकम उपभोक्ता समितिबाटै जम्मा गर्नुपर्ने भएकाले विकास बजेटबाट दिन नीतिगत समस्या आउने जनाएको छ ।
नगर प्रमुख नरबहादुर थापा मगरले नीतिगत समस्याका कारण उक्त प्रस्तावलाई कार्यपालिका बैठकमा तीन/चार पटक लगिए पनि अनुमोदन गर्न नसकिएको बताउनुभयो ।
आयोजनाको कूल लागत मध्ये पहिलो किस्ता स्वरुप पाँच करोड रुपैयाँ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको खातामा निकासा भए पनि धरौटी रकमले नै काम अल्झिएको छ । आयोजना अन्तर्गत सुनकोशीको हर्देनीबाट लिफ्ट प्रविधि मार्फत पानी तानेर दुवै वडामा खानेपानी वितरण गर्ने योजना छ ।
वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका नागरिकलाई राहत दिने हेतुले सञ्चालन गर्न लागिएको योजना साढे दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


1077 पटक हेरिएको 

