
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, जिपु गाउँका बासिन्दाले पहरो फोरेर गाउँसम्म खानेपानी पु्याएका छन् । २०४४ सालमै निर्माण भएको खानेपानी योजना जीर्ण बनेपछि बढेको जनसंख्यालाई खानेपानी आपूर्ति गर्न नयाँ खानेपानी आयोजना सुरुवात गरिएको हो ।
थगारेखोली–जिपु खानेपानी निर्माण उपभोक्ता समितिले ६० लाख ४ हजार रुपैयाँको लागतमा गाउँमा खानेपानी पु्याइएको हो । ती मध्ये बाँफिकोट गाउँपालिकाको २१ लाख, वडा २ को १८ लाख, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको १५ लाख रुपैयाँ लगानी भएको छ । योजनामा ५४ लाख १५ हजार रुपैयाँ अनुदान र ५ लाख ८९ हजार रुपैयाँ रकम गाउँलले श्रमदान गरेका छन् ।
गाउँबाट झन्डै ४ किलोमिटर टाढाबाट गाउँमा खानेपानी र्पुयाउने काम अन्तिम चरणमा पुगेको छ । ४ किलोमिटर मध्ये झन्डै १ किलोमिटर दूरीमा पहरो फोरेर पाइप बिछ्याइएको थियो । गाउँ नजिक मुहान नभएपछि टाढाको मुहानबाट भीर पहरा छिचोलेर पानी ल्याइएको हो ।
जलवायुमैत्री खानेपानी आयोजना
थगारेखोली–जिपु खानेपानी आयोजना जलवायु परिवर्तनको कारणले हुने स–साना भू–क्षय र पहिरोले असर नगर्ने गरी निर्माण गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका संयोजक भक्त भण्डारीले बताउनुभयो । उहाँका अनुसार यो आयोजना जलवायुमैत्री आयोजना हो ।
गाउँनजिक मुहान नहुँदा डोरीमा झुन्डिएर भए पनि खानेपानी निर्माणको काम गरिएको निर्मााण उपभोक्ता समिति अध्यक्ष मैसर बुढा क्षत्रीले बताउनुभयो । उहाँका अनुसार योजनाको ९० प्रतिशत बढी काम सम्पन्न भएको छ ।
टोलटोलमा पानी र्पुयाउन अहिले स्थानीयले श्रमदान गरिरहेका छन् । गाउँमाथिको ७० हजार लिटर क्षमताको टंयाकी निर्माणको काम अन्तिम चरणमा पुगेको र ट्यांकीको काम सम्पन्न हुने बित्तिकै सबै टोलमा पानी पुग्ने समितिले जनाएको छ ।
एक घर, एक धारा अन्तर्गत योजना सुरु गरिए पनि यो वर्ष टोलटोलमा पानी र्पुयाइने वडाध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । बजेट अभावमा यो वर्ष टोलटोलमा मात्रै खानेपानी पुग्ने र स्रोत व्यवस्थापन गरेर अर्को वर्ष ‘एक घर, एक धारा’ नारा कार्यान्वयन गरिने वडाध्यक्ष खत्रीले बताउनुभयो ।


1499 पटक हेरिएको 

