यसकारण सूर्योदय अघि नै फोहोर उठाउने भनेछन् विद्यासुन्दरले

काठमाडौ २१ जेठ । काठमाडौ महानगरपालिकाको मेयरमा निर्वाचित भए लगत्तै बसेको पहिलो बैठकबाटै सूर्योदय अघि नै काठमाडौको फोहोर उठाइसक्ने वाचा गर्नुभएका काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू यो कार्यमा सदा प्रयत्नशील रहेको बताउनुभएको छ ।

काठमाडौका बासिन्दालाई मर्निङ वाक्मा निस्केका बेला सडक सफा गर्ने, फोहर संकलन गर्ने लगायतको कामले मानवीय स्वास्थ्यमा असर पर्ने भएकाले काठमाडौको फोहोर सूर्योदय अघि नै संकलन गरिसक्ने व्यवस्था मिलाउन थालेको उहाँले बताउनुभयो ।

विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, वातावरण संरक्षण गैरसरकारी संस्था महासंघ र फोहरमैला व्यवस्थापन संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा महानगरका मेयर शाक्यले हिजो पार्टी प्रतिनिधिको रुपमा काम गरेको र अब जनप्रतिनिधिको रुपमा महानगरको विकासमा काम गर्ने बताउनुभयो ।

त्यस्तै फोहरमैला प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले आफूले उत्पादन गरेको फोहर स्रोतमै बर्गीकरण गर्ने वा आफैले व्यवस्थापन गर्ने हो भने फोहरमैला व्यवस्थापनका लागि समस्या नहुने बताउनुभयो । उहाँले वातावरण प्रदुषणमा फोहरमैलाको हिस्सा अन्यको तुलनामा केही कम रहेको र काठमाडौ उपत्यकामा धुलो धुँवाले वातावरणलाई बढी प्रदुषित बनाएको बताउनुभयो ।

हेर्नहोस् यो भिडियो :

काठमाडौको राष्ट्रिय सभा गृहमा भएको फोहरमैला व्यवस्थापन तथा वातावरण सम्बन्धी चेतनामूलक कार्यक्रम अघि वातावरणको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले प्रभातफेरी आयोजना गरेको थियो । वातावरण संरक्षण सम्बन्धी प्ले कार्ड बोकेका वातावरणकर्मीले राष्ट्रिय सभा गृह हल खचाखच भरिएको थियो ।

कार्यक्रममा पूर्व वातावरण मन्त्री गणेश शाह, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर  शाक्य, वातावरण संरक्षण गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष टीकाराम दाहाल र फोहरमैला व्यवस्थापन संघका कार्यवाहक अध्यक्ष धनप्रसाद आचार्यले आ— आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार