काठमाडौ २३ जेठ । सरकारले विश्व वातावरण दिवस र सरसफाइ सप्ताह मनाइरहेका बेला वातावरणलाइ असर पार्ने प्लाष्टिक झोला निर्वाध तरिकाले प्रयोग गरिरहेको पाइयो । ४० माइक्रोन भन्दा कम प्लाष्टिक झोलाको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएपनि यसको खुलेआम प्रयोग भइरहेको हो ।
हेर्नुहोस् यो भिडियो :
सरकारले २०७२ बैशाख १ गते देखि काठमाडौ उपत्यकामा ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिक झोला प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउदै प्लाष्टिक झोलामुक्त घोषणा गरेको थियो ।
प्लाष्टिकका झोलाको प्रयोगले वातावरण प्रदुषित र दुर्गन्धित बनाएको भन्दै तत्कालीन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको नेतृत्वमा काठमाडौ, ललितपुर र भक्तपुरमा प्लाष्टिक झोलाको आयात, विक्री वितरण, भण्डार तथा प्रयोग गर्न प्रतिवन्ध लगाएको थियो ।
तर प्लाष्टिक झोला उत्पादक कम्पनीहरुले भने प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउँदा लगानी डुब्ने भन्दै यसको विरोध जनाएका थिए ।
प्लाष्टिक झोला उत्पादक तथा वितरकलाई ५० हजार रुपैयाँ सम्म जरीवाना हुने
प्लाष्टिक झोलामुक्त सहर घोषणा गरेर पनि यसको उत्पादन, विक्री वितरण र प्रयोग गर्नेलाई कसुरको मात्रा हेरी ५० हजार रुपैयाँसम्म जरीवाना गर्न सकिने व्यवस्था छ । प्लाष्टिक झोला नियमन तथा प्रतिवन्ध निर्देशिका २०७१ अनुसार २० इन्च चौडाई, ३५ इन्च लम्बाई र ४० माइक्रोन भन्दा कम तौल भएका प्लाष्टिक झोला उत्पादन गर्न पाइँदैन ।

कुनै पनि व्यक्ति वा संस्थाले उत्पादन गरेर विक्री वितरण गरे कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ सम्म जरीवाना गर्न सक्ने निर्देशिकामा उल्लेख छ । वातावरण संरक्षण ऐन अनुसार कसुर हेरेर ५० हजार रुपैयाँसम्म जरिवाना र प्रतिबन्धित सामान ओसारपसारको मुद्दा चलाउन सकिने व्यवस्था छ ।
सरकारले उपत्यकामा प्लाष्टिक प्रयोग भए वा नभएको विषयमा वातावरण, स्थानीय विकास, सहरी विकास मन्त्रालय लगायत मातहतका निकाय र नेपाल प्रहरीले संयुक्त रूपमा अनुगमन गर्ने जनाएपनि यसको प्रभावकारी अनुगमन नहुँदा प्लाष्टिक झोलाको प्रयोग बढ्दो छ ।


1178 पटक हेरिएको 

