खोटाङ ३० जेठ । खोटाङको सदरमुकाम दिक्तेलमा लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन हुन थालिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको देउले सामुदायिक वनले जग्गा उपलब्ध गराए पछि सदरमुकाम दिक्तेलमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालिएको हो ।
फोहर व्यवस्थापन केन्द्रका लागि सामुदायिक वनले जग्गा उपलब्ध गराएपछि नगरपालिका र जिल्ला समन्वय समितिको पहलमा सडक निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।
हालै सञ्चालनमा ल्याएको फोहर व्यवस्थापन केन्द्र सदरमुकाम दिक्तेलबाट करिब १२ किलोमिटरको दुरीमा रहेको छ । लफ्याङमा सञ्चालित फोहर व्यवस्थापन केन्द्र वातावरणीय हिसाबले पनि उपयुक्त ठाउँमा रहेको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
सामुदायिक वनको जग्गामा सञ्चालन गरिएको फोहर व्यवस्थापन केन्द्र गाउँबाट करिब पाँच किलोमिटर टाढा पर्छ । अध्यक्ष राईले भन्नुभयो ‘झण्डै २ सय वर्षसम्मका लागि फोहर व्यवस्थापन गर्न सकिने हामीले अनुमान गरेका छौं’
फोहर व्यवस्थापन केन्द्र स्थापनाका लागि सरकार सचिवस्तरको बैठकले गत २०७३ साल चैत १० गते स्वीकृति दिएको थियो । सरकारको निर्णय लगत्तै वातावरण व्यवस्थापन विभागबाट पत्र आएपछि सामुदायिक वनको बीच भागमा रहेको करिब ४० रोपनी खाली जग्गामा फोहर व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।
फोहर व्यवस्थापन केन्द्रमा नगरपालिकाका तर्फबाट हरेक हप्ताको दुई पटक फोहर फाल्ने व्यवस्था मिलाइएको नगरपालिकाका कार्यकारी अधिकृत खिलाराज राईले बताउनुभयो ।
नगरपालिकाले फोहर व्यवस्थापनका लागि कालिका फोहर व्यवस्थापन कम्पनीसँग सम्झौता गरेको छ । कामको जिम्मेवारी पाएको कम्पनीले जनप्रतिनिधि चुनिएपछि काम थाल्ने जनाएको छ ।