काठमाडौ १ असार । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइरालालाई मनोनित गरिएको छ । पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सदभावना दूतमा मनोनित गरेको हो ।
महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालालाई सदभावना दूतमा मनोनयन गरेको र पर्सि असार ३ गते हुने २१४ औं हप्ताको सफाइ कार्यक्रममा सहभागी हुने वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।
१६ अगस्ट १९७० मा काठमाडौमा जन्मिनुभएकी नायिका कोइरालाले धेरै हिन्दी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँ विश्वेश्वर प्रसाद कोइरालाको नातिनी हुनुहुन्छ । मनिषा कोईरालाले हिन्दी चलचित्रका अलावा तमिलको कयौं चलचित्रहरूमा पनि अभिनय गर्नुभएको छ ।
उहाँले पछिल्लो समय डियर मायामा अभिनय गर्नुभएको छ । डियर माया’ मनीषाकै जीवनसँग मिल्दोजुल्दो कथामा बनेको फिल्म हो, जसमा उहाँले क्यान्सरसँगै झेलेका, भोगेका र अनुभूत गरेका कुराहरू मूल रूपमा दर्शाउने प्रयत्न गरिएको छ । क्यान्सरको सफल उपचारपछि तन्दुरुस्त हुनुभएकी नायिका मनिषा कोइराला विभिन्न सामाजिक काममा व्यस्त हुनुहुन्छ ।