मान्छे बोक्ने घोडालाई पानीको भारी

बैतडी २ असार । रहर त उनलाई पनि नभएको होइन, बैतडीको उकाली ओराली घोडामै चढेर आवातजावत गरौं, तर आफू घोडामा चढे विहान बेलृुकी चाहिने पानी चाहिं कसले बोक्ने ?

बैतडीको मेलौली नगरपालिका १ का विजय नायकको पीडा हो यो । विजयले मेलौली बजारमै होटल सञ्चालन गर्नुभएको छ । नीजि घरका लागि भन्दा होटललाई अलि बढी नै पानी आवश्यक पर्छ ।

बैतडीको उकाली ओराली पार गर्नका लागि सजिलो होला भन्ठानेर किनेको घोडा अहिले उहाँका लागि पानी बोक्ने भरपर्दो साधन बनेको छ । विजय भन्नुहुन्छ ‘घोडामा चढेर हिडुँ यो रित्तै हिड्न पनि गाह्रो हुने उकालोमा कस्ले पानी बोकिदेला ? बरु घोडालाई बोकाइदै आएको छ, घोडा भएर मलाई चाहिं अलि सजिलो भएको छ ।’

घोडालाई पानी बोकाएर मेलौली बजारतर्फ लैजादै । फोटो बच्चु विक, वैतडी

त्यसो त मेलौली बजारका हरेक सँग घोडा भने छैन । घोडा नहुनेहरु विहान गएर मध्य दिन हुँदा आउँछन् भने विजय नायकको घोडा भएकाले आउन जान अलि चाँडो हुन्छ । मेलौली नगरपालिकाको वडा नं. १, ६ र ७ बजार क्षेत्रमा पर्दछ ।

बजारका झण्डै पाँच हजार जनसंखया र सरकारी तथा गैरसरकारी कार्यालय, क्याम्पस र स्कुलका कर्मचारी तथा विद्यार्थी पनि पानीको अभाव झेल्न बाध्य छन् । मेलौलीको सबैभन्दा प्रमुख समस्या पानीकै रहेको बजारबासी बताउँछन् ।

मेलौलीबाट मटेना खोला पुग्न पौने १ घण्टा लाग्छ । पालो पर्खने र पानी भरेर उकालो आउँदा कहिले त विहान निस्केको मान्छे पानी लिएर फर्किदा साँझ पर्ने गरेको भुक्तभोगीहरु सुनाउँछन् ।
मेलौलीमा खानेपानी सँगै विजुलीको पानी अभाव छ । बिजुली भएमा लिफ्टिङ प्रविधिबाट मटेना खोलाको पानी तानेर पिउला भन्ने छ, तर मेलौलीबासीको यो सपना कति टाढा छ ? थाहा छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार